कर्मचारी सरुवालगायत यस्ता छन् कोशी सरकारका निर्णयहरु – Nepal Press

कर्मचारी सरुवालगायत यस्ता छन् कोशी सरकारका निर्णयहरु

विराटनगर । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी प्रदेशले हरेक वर्ष सञ्चालन गर्दै आएको मुख्यमन्त्रीसँग जनता कार्यक्रम यसवर्षदेखि जनतासँग कोशी प्रदेश सरकार नाममा सञ्चालन गर्ने भएको छ ।

कोशी प्रदेशको मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि पास गरेर नयाँ ढंगले कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

२०७८ सालदेखि स्थानीय टेलिभिजन र एफएम रेडियोहरुबाट यो कार्यक्रम प्रशारण गर्न बन्द गरेर नेपाल टेलिभिजनमार्फत मात्रै प्रशारण गर्दै आएकोमा यस वर्षदेखि कोशी प्रदेशका रेडियो तथा टेलिभिजनबाट प्रशारण गर्ने गरी कार्यविधिमा व्यवस्था गरिएको छ ।

यसले कोशी प्रदेशमा रहेका स्थानीय सञ्चारमाध्यमलाई फाइदा पुग्ने छ । यस क्षेत्रका रेडियो तथा टेलिभिजन प्रशारण संस्थाहरुले यो कार्यक्रम आफ्नो सञ्चारमाध्यमबाट प्रशारण गर्न पाउनु पर्ने माग गर्दै आएका थिए ।

यस्तै मंगलबारको मन्त्रिपरिषदको बैठकले आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा प्रशासनीक समित, आन्तरिक मामिला तथा कानूनमन्त्री लीलावल्लभ अधिकारीको संयोजकत्वमा कानून न्याय तथा प्रदेश मामिला समिति र भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईको संयोजकत्वमा आर्थिक सामाजिक तथा पूर्वाधार समिति गठन गरेको छ ।

त्यस्तै खानेपानी सिचाइँ तथा उर्जा मन्त्रालय अन्र्तगत एसियाली विकास बैंकको ऋण सहयोगमा र साउदी फण्ड फर डेभलपमेन्टको सहलगानीबाट कोशी प्रदेशमा सिचाइँ आयोजना सञ्चालन गर्न वार्ता र सहमति गर्न स्विकृति प्रदान गर्ने निर्णय गरेको छ । यो परियोजना अन्र्तगत कोशी प्रदेशमा करिब २७ वटा सिचाइँ आयोजनाहरु सञ्चालन हुने छन् ।

त्यस्तै खानेपानी सिचाइँ तथा उर्जा मन्त्रालय अन्र्तगतकै जलवायू अनुकुलित वृहद खानेपानी आयोजनामा कार्यरत ३३ जना कर्मचारीको अस्थायी दरबन्दी स्विकृत गर्ने निर्णय भएको छ ।

कर्मचारीको सरुवा

कोशी प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य मन्त्रालयका १० औँ र ११ औँ तहका कर्मचारीको सरुवा गरेको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका ११ औँ तहका निर्देशक डा. वीरेन्द्रकुमार मण्डललाई जिल्ला अस्पताल उदयपुरमा कामकाज गर्ने गरी सरुवा गरिएको छ ।

त्यस्तै, १० औँ तहका वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर ज्ञानबहादुर बस्नेतलाई प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाबाट स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा सरुवा गरिएको छ । मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा। सुरेश मेहतालाई प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटामा सरुवा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *