अखिल क्रान्तिकारीको नेतृत्वका लागि चुनाव निश्चित, अध्यक्ष बन्न १८ जना उम्मेदवार मैदानमा – Nepal Press

अखिल क्रान्तिकारीको नेतृत्वका लागि चुनाव निश्चित, अध्यक्ष बन्न १८ जना उम्मेदवार मैदानमा

पञ्चा सिंह भन्छिन्- टीके प्रणाली भत्काउँछौँ, सबै पदमा निर्वाचनबाट नेतृत्व चयन गराएर बिदा हुन्छु

काठमाडौं । असोज १० गतेदेखि शुरु हुने नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलनबाट संगठनको नेतृत्व लिन डेढ दर्जन विद्यार्थी नेता प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् ।

काठमाडौंमा हुन लागेको सम्मेलनबाट अध्यक्ष बन्नका लागि १७ जना उपाध्यक्ष र एक महासचिव सहित १८ जना प्रतिस्पर्धामा छन् । संगठनका उपाध्यक्ष राजकुमार लिम्बु पारिवारिक कामले मुलुक बाहिर रहेको र कल्पना मियाँ प्रतिनिधि सभाको सांसद भइसकेकाले दुई जना भने अध्यक्षको प्रतिस्पर्धामा छैनन् ।

संगठनका उपाध्यक्ष जिपी मैनाली, इन्द्र भुसाल, मिलन एमसी, तुकमान महरा, लक्ष्मी जोशी, प्रविणा अधिकारी, मदन भुल, पवन कार्की, नरेश रेग्मी, सूर्यनारायण साह, नारायण खनाल, गजेन्द्र देव, क्षितिज सापकोटा, मदन भट्टराई, अमरंजंश शाही, केशव रावल र महासचिव दीपेश पुन अध्यक्षका लागि प्रतिस्पर्धामा छन् ।

उपाध्यक्ष रहेका भुसाल र महासचिव पुन तत्कालीन अध्यक्ष रञ्जित तामाङ अध्यक्ष हुँदा उपाध्यक्षको जिम्मेवारीमा थिए भने उपाध्यक्ष मैनाली, एमसी, महरा र जोशी तामाङको कार्यकालमा उपमहासचिवको जिम्मेवारीमा थिए । यस्तै रावल तामाङको कार्यकालमा कोषाध्यक्षको जिम्मेवारीमा थिए भने बाँकी ११ जना तामाङको कार्यकालमा सचिवको जिम्मेवारीमा थिए ।

अध्यक्ष पञ्चा सिंहले विद्यार्थी संगठनमा लामो समयदेखि टिके प्रणाली कायम रहेकाले त्यसलाई आफूले भत्काउन खोजेको र निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन गर्ने पक्षमा आफू रहेको नेपाल प्रेससँग बताइन् ।

उनले भनिन्–संगठनको अध्यक्ष म मात्रै नभएर सिंगो संगठन नै अहिले निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन गर्नुपर्छ भन्ने पक्षमा रहेको छ । प्रदेश समितिको नेतृत्व पनि अधिकांश ठाउँमा निर्वाचन प्रक्रियाबाटै भएको छ । त्यसैले हामी यस पटक निर्वाचन प्रणालीबाट निर्वाचित गर्ने पक्षमा रहेका छौ ।

यी हुन् शीर्ष वरियताका उम्मेदवार

वरियताको हिसाबले हेर्दा संगठनका पूर्व अध्यक्ष रञ्जित तामाङ अध्यक्ष रहँदा संगठनका अध्यक्ष पञ्चा सिंहसँगै इन्द्र भुसाल उपाध्यक्ष थिए । उनले संगठनमा दुई कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । हिमाल शर्मा अध्यक्ष चयन भएको संगठनको १८ औँ सम्मेलनबाट आफू केन्द्रीय कमिटीमा आएकाले वरिष्ठतामा आफ्नो दाबी बलियो रहेको उनको भनाइ छ ।

अध्यक्षको उम्मेदवार बन्ने दाबी गरिरहेका भुसाल यस पटक निर्वाचन प्रक्रियामै जाने र सहमतिको सम्भावना नरहेको बताउँछन् ।

उनले भने, ‘सम्मेलनमा २ हजार ३२३ जना प्रतिनिधि सहभागि हुनुहुन्छ । मेरो अध्यक्षमा सशक्त दाबी छ । वरियताले पनि म अहिलेको अध्यक्ष पञ्चा सिंह भन्दा दोस्रो वरियतामा हो । वरियतामा मात्रै नभएर आन्दोलनलाई सही ढंगले अघि बढाउने आट र क्षमता पनि छ । मैले पाएको जिम्मेवारी अहिलेसम्म निर्विवाद रूपमा पुरा गरेको छु ।’

संगठनका उपाध्यक्ष जिपी मैनाली, मिलन एमसी, तुकमान महरा र लक्ष्मीप्रसाद जोशी संगठनको उपमहासचिवबाट उपाध्यक्षको जिम्मेवारी आएका हुन् । उनीहरू चारै जनाको अध्यक्षमा दाबी छ । इन्जिनियरिङ पृष्ठूसालसँगै हिमाल शर्मा नेतृत्वको १८ औँ सम्मेलनबाट केन्द्रीय सदस्य भएका थिए ।

इन्द्र भुसाल, जिपी मैनाली, तुकमान महरा, प्रविणा अधिकारी एकैपटक र एकै दिन १८ औँ सम्मेलनमा हिमाल शर्मा नेतृत्वको केन्द्रीय समितिमा केन्द्रीय समिति सदस्यबाट प्रवेश गरेका हुन् । केन्द्रीय समितिमा प्रवेश गर्दै गर्दा भुसाल पशुपति बहुमुखी क्याम्पसमा स्ववियु उपसभापति र मैनाली काठमाडौं इन्जिनियरिङ कलेजमा स्ववियु सभापति थिए । यस्तै उपाध्यक्ष तुकमान महरा जनयुद्धको लिगेसीबाट आएको कार्यकर्ता मध्येका एक योद्धा हुन् ।

अध्यक्षमा अर्को बलियो उम्मेदवारका रूपमा महासचिव दीपेश पुनलाई हेरिएको छ । रञ्जित तामाङ संगठनको अध्यक्ष हुँदा उनी पनि उपाध्यक्षको जिम्मेवारीमाा थिए । पञ्चा सिंह अध्यक्ष चयन हुँदा उनी उपाध्यक्षबाट कार्यकारी भूमिकाको महासचिवमा झरेका थिए । अहिले महासचिवबाट फेरि अध्यक्षको बलियो दाबेदारका रूपमा प्रस्तुत भइरहेका छन् ।

प्रविणा अधिकारी एक्लो महिला प्रतिस्पर्धी

अध्यक्षको उम्मेदवारमा महिलाबाट एकमात्र प्रतिस्पर्धी छिन् प्रविणा अधिकारी छन् । उनी पनि हिमाल शर्मा नेतृत्वको केन्द्रीय सदस्य हुन् । यद्यपि उनी सचिवबाट सिधै उपाध्यक्ष चयन भएकी हुन् । २१ औँ सम्मेलनमा रञ्जित तामाङ नेतृत्वको केन्द्रीय समितिको निर्वाचनमा उनी उपमहासचिवको लड्ने तयारी गरेकी थिइन् । तर तत्कालीन अवस्थामा आशा तमुलाई उपहासचिवमा सघाउनका लागि प्रविणाले उपमहासचिवमा उम्मेदवारी दिइनन् ।

उनले सचिव हुँदा अनुशासन आयोगको प्रमुख र उपाध्यक्ष भइसकेपछि छात्रा विभाग प्रमुख, गण्डकी प्रदेशको जिम्मेवारी र अहिले अधिवेशनको पूर्व सन्ध्यामा लुम्बिनी प्रदेशको जिम्मेवारी सम्हालिरहेकी छन् ।

उपाध्यक्ष अधिकारी आफू निरन्तर अखिल (क्रान्तिकारी)को आन्दोलनमा विचलित नभएर संगठनमा लागिरहेको, व्यक्तिगत जीवनलाई समेत छायामा राखेर व्यक्तिगत रूपमा राजनीतिक तथा सांगठनिक समेत कुनै लाभ नलिएको विद्यार्थी नेता भएकाले संगठनको नेतृत्व हाँक्न तयार रहेको बताउँछिन् ।

उनले भनिन्, ‘वरिष्ठताको आधारमा पनि म अध्यक्ष पञ्चा सिंहभन्दा पछि उपाध्यक्षमा वरिष्ठ हो । उमेरको हिसाबले पनि ३५ वर्ष मुनीको र निरन्तर अध्ययनरत विद्यार्थी दुई विषयमा स्नातकोत्तर पनि गरेको छु । त्यसैले म यो संगठन हाँक्न योग्य छु । परम्परा र कर्मकाण्डमा सिमित भएको विद्यार्थी आन्दोलनबाट माथी उठेर विद्यार्थी आन्दोलनको गौरवपुर्ण बिगतलार्इ सम्मान गर्दै विद्यार्थी आन्दोलन केवल आन्दोलनका लागि मात्रै नभएर विद्यार्थी र तिनका मुद्दा कै निम्ति हो भन्ने कुरा स्थापित गर्नका लागि अध्यक्षमा मेरो बलियो उम्मेदवारी छ ।’

अध्यक्षका अर्का दाबेदार मदन भुल अहिलेको पदाधिकारी उपाध्यक्ष मध्ये सबैभन्दा सक्रिय भएको दाबी छ । रञ्जित तामाङ नेतृत्वको केन्द्रीय समितिमा उनी सर्वाधिक मत ल्याएर सचिव पदमा निर्वाचित भएका थिए ।

अहिले अध्यक्ष दाबी गरिरहेका अधिकांश उपाध्यक्ष राजधानी काठमाडौं केन्द्रित विद्यार्थी राजनीति गरिरहेको भए पनि भुल भने जिल्ला स्तरबाटै विद्यार्थी राजधानी गरेर संगठनको सचिव भएपछि मात्रै संघीय राजधानी काठमाडौं छिरेका हुन् । उनले अखिल (क्रान्तिकारी) अछामको अध्यक्ष भएर पनि जिम्मेवारी सम्हालिसकेका छन् ।

पिछडिएको क्षेत्र र उत्पीडित दलित समुदायबाट उपाध्यक्षसम्म पुगेर अध्यक्षमा दाबी गर्ने भुल पहिलो व्यक्ति हुन् । उनकै नेतृत्वमा जाजरकोट र रुकुम पश्चिममा २ सय जना स्वयंसेवक परिचालन गरेर २ हजार अस्थायी टहरा निर्माण गरिएको थियो ।

उनले भने, ‘मैले अहिलेसम्म जिल्ला तहदेखि केन्द्रीय समितिको उपाध्यक्षसम्म आइपुग्दा सबै जिम्मेवारी सक्रिय रूपमा पुरा गरेको छु । संगठनले खटाएको हरेक अभियान तथा मोर्चामा नतिजामूलक काम गरेको छु । पिछडिएको क्षेत्र र पिछडिएको वर्ग तथा उत्पीडित समुदायको प्रतिनिधित्व पनि मैले गर्ने भएकाले मेरो अध्यक्षमा सशक्त दाबी रहन्छ ।’

पवन कार्की बलिया उम्मेदवार

अध्यक्षका अर्का उम्मेदवार उपाध्यक्ष पवन कार्की संगठनका अध्यक्ष पञ्चा सिंहको नेतृत्वलाई अस्विकार गरेर समानान्तर केन्द्रीय समिति चलाएर आएका नेता हुन् । बागमती प्रदेश, अझ उपत्यका र उपत्यका भित्रका क्याम्पसमा बलियो पकड भएका कार्की विद्रोही छवि बनाएका बलियो उम्मेदवार हुन् । कार्कीले सम्मेलनको उद्घाटन हुनु २ दिन अघि नै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

उनले उम्मेदवारी घोषणा गर्दै भनेका छन्, ‘मेरो उम्मेदवारी विद्यार्थी आन्दोलनलाई प्रश्नको हैन, उत्तरको आन्दोलन बनाउनका लागि हो । मेरो उम्मेदवारी क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई रहरलाग्दो, डरलाग्दो र भरलाग्दो बनाउनका लागि हो । मेरो उम्मेदवारी राजनीतिक एजेन्डामा रुमल्लिएको विद्यार्थी आन्दोलनलाई विद्यार्थीका मुद्दामा फर्काउन र विद्यार्थीको नेता विद्यार्थीलाई नै बनाउनका निम्ति हो । र मेरो उम्मेदवारी संगठनलाई विधि र विधानमा हिँडाउनका निम्ति हो ।’

अरू यस्ता छन् उम्मेदवार

उपाध्यक्ष नरेश रेग्मी र मिलन एमसी उपाध्यक्ष पम्फा भुसाल र देव गुरुङसँग एकता प्रक्रियाबाट आएका नेता हुन् । एमसी एकता प्रक्रियाबाट आउँदा संगठनको भागवण्डबाट उपाध्यक्षको जिम्मेवारीमा आए पनि पछि २१ औँ अधिवेशनमा रञ्जित तामाङ नेतृत्वको केन्द्रीय समितिमा भने उपमहासचिवमा चुनाव लडेर निर्वाचित भएका थिए ।

लक्ष्मीप्रसाद जोशी नयाँ शक्ति पार्टीबाट देवेन्द्र पौडेल नेतृत्वको टिम पार्टी एकतामा आउँदा त्यो टिमसँगै एकता प्रक्रियामा आएका नेता हुन् । जोशी २१ औँ सम्मेलनबाट रञ्जित तामाङ नेतृत्वको केन्द्रीय समितिमा उपमहासचिवमा समायोजन भएर आएका थिए ।

त्यसपछि उनी उपाध्यक्ष चयन भएका हुन् । यस्तै अमरजंग शाही, नारायण खनाल, क्षितिज सापकोटा, मदन भट्टराई, गजेन्द्र देव र सूर्यनारायण साह सचिवबाट सिधै उपाध्यक्ष भएका हुन् ।

उपाध्यक्ष केशव रावलले पनि अध्यक्षमा उम्मेदवारी दिने बताइसकेका छन् । पार्टीले उम्मेदवार नबनाउँदा २०७९ को प्रदेश सभा निर्वाचनमा रुकुम पूर्वमा पुगेर उनले बागी तथा स्वतन्त्र उम्मेदवार दिएर पनि पराजित भएका थिए ।

संगठनको महासचिवमा भने प्रदेशको इञ्चार्जको जिम्मेवारी पाएका सबै उपमहासचिवले दाबी गरिरहेका छन् । यति मात्रै नभएर अहिले प्रदेश अध्यक्षको जिम्मेवारी पुरा गरिसकेको सबै नेताले पनि महासचिवमा दाबी गरिरहेका छन् ।

अखिल (क्रान्तिकारी)का २३ औँ राष्ट्रिय सम्मेलनले ३३ पदाधिकारी सहित २४३ केन्द्रीय समिति र तीन आयोगका पदाधिकारी समेत निर्वाचित गर्नेछ । यस पटकको सम्मेलनले प्रत्यक्ष निर्वाचन प्रणालीबाट पदाधिकारी तथा सदस्य निर्वाचित गर्ने तयारी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर