संसदीय छानबिन समितिमा कुमार रम्तेल- मेरो घर लिलाम भयो, श्रीमतीको अवस्था अज्ञात छ – Nepal Press

संसदीय छानबिन समितिमा कुमार रम्तेल- मेरो घर लिलाम भयो, श्रीमतीको अवस्था अज्ञात छ

सहकारी ठगीमा को-कोलाई गरे आरोपित ?

काठमाडौं । सहकारी ठगीमा आरोपित भएर कारागारमा रहेका व्यवसायी कुमार रम्तेलले आफूलाई जीवी राईले धोका दिएको गुनासो गरेका छन् । अहिले पनि बचतकर्ताको रकम फिर्ता गर्न आफू प्रयासरत रहेको उनको दाबी छ ।

सहकारी ठगीको विषयमा छानबिन गर्न गठित संसदीय समितिले कास्की कारागारबाट झिकाएर रम्तेलसँग बयान लिएको थियो । उनीसँग ३८ वटा प्रश्नोत्तर गरिएका थिए । उनले आफू निर्दोष रहेको जिकिर गरेका छन् ।

ललितपुरको गोदावरी निवासी ४४ वर्षीय रम्तेल सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष, समानता बचत तथा ऋण सहकारी संस्थाका सचिव र स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष थिए । समितिसँगको बयानमा उनले आफू सूर्यदर्शनको कोषाध्यक्ष पदमा रहेको भए पनि कुनै कारोबार गर्न नपाएको जिकिर गरेका छन् । आफूलाई थाहै नदिईकन जीवी राईले कोषाध्यक्ष बनाइदिएको उनको भनाइ छ ।

जीवी राईसँगको सहकार्यबारे उनले भनेका छन्, ‘नेचर नेष्ट प्रालिमा २०७४ सालदेखि बजार व्यवस्थापकको रूपमा नियुक्ति भएको थिएँ । यसै सिलसिलामा नेचर नेष्ट प्रालीका कार्यकारी अध्यक्ष गितेन्द्रबहादुर राईले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिमा कोषाध्यक्ष पदमा राखिदिएका रहेछन्, जुन कुरा मलाई थाहा जानकारी थिएन र कोषाध्यक्षको हैसियतले उक्त संस्थाले गर्ने कुनै पनि निर्णय, कागजातमा हस्ताक्षर गरेको छैन ।’

‘२०७४ साल भाद्र महिनातिर गितेन्द्र बाबु राईले सूर्यदर्शनको सञ्चालक समितिमा मलाई कोषाध्यक्ष पदमा राखिदिने कुरा बताएका थिए । मैले सहकारी संस्थाको सञ्चालन कसरी हुन्छ, काम कर्तव्य अधिकार के कसरी हुन्छन् कुनै पनि विषय आफूलाई थाहा नभएकोले समितिमा नबस्ने जवाफ दिएपछि कोरम पुर्‍याउनका लागि मात्र राख लागेको, संस्थाको सम्पूर्ण कार्यसम्पादन अध्यक्ष एवं व्यवस्थापक र कर्मचारीहरूले गर्नुहुन्छ भनी मिति २०७४ असोज ३ गते संस्थाले वार्षिक साधारणसभा आयोजना गरी मलाई सञ्चालक समितिको कोषाध्यक्ष पदमा मनोनीत गरेको थियो । उक्त सहकारीको कोषाध्यक्ष बन्नु मेरो व्यक्तिगत आकांक्षा नभई मनोवैज्ञानिक दबाबमा पारी मलाई उक्त पदमा मनोनीत गरिएको हो । उक्त साधारणसभामा म उपस्थित नभएको र माईन्युटमा मेरो हस्ताक्षर समेत छैन ।’

सुप्रिम बचत तथा ऋण सहकारी संस्था पनि आफूलाई जानकारी नगराई सचिव बनाइएको उनको दाबी छ । यस्तै, सानो पाइला बचत तथा ऋण सहकारी संस्था लि. वीरगञ्ज, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. र सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा समेत थाहै नदिईकन कोषाध्यक्ष बनाइको बयान दिएका छन् ।

‘स्वर्णलक्ष्मीमा कोषाध्यक्ष रहने भएपछि अन्यमा राजीनामा दिएको थिएँ, तर सूर्यदर्शनमा राजीनामा स्वीकृत भएको छैन,’ रम्तेलले बयानमा भनेका छन् ।

आफूलाई विभिन्न पदमा राखिएको भए पनि कामको विषयमा थाहा नहुने र सबै कुरा जीवी राईको निर्देशनमा व्यवस्थापनले गर्ने उनको टिप्पणी छ ।

जीवी राईसँग चिनजान र सम्बन्धबारे रम्तेल भन्छन्: ‘गोर्खा आयुर्वेद कम्पनी प्रालिको मार्केटिङ अफिसर हुँदाको सिलसिलामा गितेन्द्रबाबु राईले नेचर नेस्ट प्रालि सञ्चालन गरेका रहेछन् । गोर्खा आयुर्वेद कम्पनीको उत्पादनको सोल डिष्ट्रिब्युटरको अनुमति लिने क्रममा चिनजान भएको हो । त्यसपछि मलाई नेचर नेष्ट प्रा.लिमा जागिरको लागि अफर गर्नु भयो । सोही अनुसार म नेचर नेष्टको कर्मचारीमा नियुक्त भएँ ।’

समितिले उनलाई सोधेको थियो, ‘सहकारी संस्थाले निजी कम्पनीलाई ऋण दिन मिल्छ ? गोरखा मिडिया नेटवर्क प्रा.लिलाई रु. ५ करोड ५८ लाख, नेचर नेस्टलाई रु. १ करोड ७८ लाख ५४ हजार र नेचर हर्ब्सलाई रु. २ करोड ५३ लाख १३ हजार बराबर ऋण के कुन आधारमा उपलब्ध गराएको हो ?’

जवाफमा रम्तेलले भनेका छन्, ‘सहकारी संस्थाले निजी कम्पनीलाई ऋण दिन मिल्छ मिल्दैन त्यो मलाई थाहा भएन । नेचर हर्ब्सको हकमा सुरुदेखि आबद्ध भएको हुँदा त्यसको अडिट रिपोर्ट अनुसार जति पनि रकम बैंक खातामा दाखिला भएको छ, त्यो रकम डाइरेक्टर लोन भनेर गितेन्द्र बाबु राईको नाममा देखिएको छ । जुन रकम नगद र सवारी साधन बिक्री गरेर फिर्ता गरिसकिएको छ । अन्यको हकमा कारोबार हुँदाको बखत मेरो उपस्थिति नभएकोले थाहा जानकारी भएन ।’

सहकारी ठगीमा रम्तेलले गितेन्द्रबाबु राईसहित ज्ञानबहादुर बम्जन, देवेन्द्र राई, भुपेन्द्र राई, दिनेश रोक्का, सागर केसी, थानबहादुर बुढामगर, असरफ अली र तस्वीरन खातुनलाई आरोपित गरेका छन् । विगतमा आफूले जीवी राईलाई धेरै सहयोग गर्दा पनि आफूलाई धोका दिई भागेको उनी बताउँछन् । आफूलाई विगत एक वर्षदेखि कारागारमा कोही पनि भेट्न नआएको, घर लिलाम भएर परिवार डेरामा बस्नु परेको तथा श्रीमतीको स्थिति अज्ञात रहेको रम्तेलको दाबी छ ।

उनले भनेका छन्, ‘म बसिरहेको घर लिलाम भई म कारागारमा परेपछि मेरो परिवार हाल डेरामा बस्नु पर्ने अवस्थामा पुगे । मेरो छोरा बहिनीसँग बसिरहेको छ । श्रीमतीको स्थिति अज्ञात छ । तर कोही कसैले मलाई सहयोग गर्नु भएन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर