छविले रवि मुछे भन्दै मिडियावाजी : प्रहरी भन्छ- बयान सकिएको छैन, बाहिर आएजस्तो होइन – Nepal Press

छविले रवि मुछे भन्दै मिडियावाजी : प्रहरी भन्छ- बयान सकिएको छैन, बाहिर आएजस्तो होइन

काठमाडौं । सहकारी ठगी आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशीको बयान भनेर मिडियामा आएका कुरा हल्लामात्र भएको प्रहरीले बताएको छ ।

कास्की प्रहरीका एक अधिकारीले बयान प्रारम्भिक चरणमै रहेको बताए । तर, रविकै योजनामा सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा ल्याइएको भनेर बुधबार केही मिडियामा समाचार आएका छन् । मंगलबार साँझ रविले फेसबुक लाइभमा छविलाई समातेर सरकारले आफूविरुद्ध बयान गर्न लगाएर पक्राउ गर्न सक्ने आशंका गरेका थिए ।

‘बयान लिने काम प्रारम्भिक चरणमै छ तर प्रमाणित बयान जसरी मिडियामा आयो । हामी पनि छक्क पर्‍यौं’, कास्की प्रहरी स्रोतले भन्यो ।

ती अधिकारीले प्रारम्भिक रूपमा छविले रविविरुद्ध कुनै आरोप-प्रत्यारोप नगरेको बताए ।

‘उहाँले संसदीय समितिमा जे बोल्नु भएको थियो लगभग त्यस्तै कुराहरू आइरहेका छन्’, ती अधिकारीले भने ।

संसदीय विशेष छानबिन समितिको सिफारिसपछि सहकारीको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरीले तीन दिनअघि गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समिति सदस्य छविलाल जोशीलाई पक्राउ गरेको थियो ।

कास्की प्रहरी प्रमुख मोहन थापाले पनि बयान सुरूमात्र भएको बताए । ‘बाहिर आएजस्तो बयान सकिएको होइन’, उनले भने ।

यसैबीच जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेले पूर्व डिआइजी जोशीको बयान जारी रहेको र के वयान दिए भन्ने विषय सार्वजनिक गर्न नमिल्ने बताइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर