बंगलादेश-भारत तनाव संयुक्त राष्ट्रसंघको साइडलाइनमा : मोदीको बहिष्कार, बाइडेनको धाप – Nepal Press

बंगलादेश-भारत तनाव संयुक्त राष्ट्रसंघको साइडलाइनमा : मोदीको बहिष्कार, बाइडेनको धाप

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्यालेस्टाइनका राष्ट्रपति महोमद अब्बासलाई भेटे । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटे ।

भियतनामका राष्ट्रपति तो लामलाई र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटे । तर, उनले चार हजार किलोमिटर सीमा जोडिएको निकट छिमेकी बंगलादेशका अन्तरिम सरकारका प्रधानमन्त्री तथा नोबेल पुरस्कार विजेता महोमद युनुसलाई भेटेनन् । तर, युनुसलाई चिनियाँ विदेशमन्त्री वाङ यिले भेटे ।

वाङ यिसँगको भेटबारेमा युनुसको सामाजिक सञ्जालमा भनिएको छ, ‘चिनियाँ विदेशमन्त्री वाङ यिले बंगलादेशका अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्राध्यापक महोमद युनुससँग संयुक्त राष्ट्रसंघको मुख्यालयमा बुधवार भेटमा दुई पक्षीय कुरा गर्नु भएको छ । भेटमा सम्बन्धलाई बलियो बनाउने, सोलार प्यानलमा लगानी बढाउने र व्यापारिक साझेदारी बढाउनेमा छलफल भयो ।’

चिनियाँ विदेशमन्त्रीसँग मात्रै होइन युनुसले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि भेट गरेका छन् ।

भेटको तस्बिर सार्वजनिक गरेर युनुसको आधिकारिक सामाजिक सञ्जालमा भनिएको छ, ‘संयुक्त राष्ट्रसंघको साइडलाइनमा भएको भेटमा अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रमुख सल्लाहकार युनुस र उहाँको सरकारलाई पूर्ण सहयोग गर्ने बताउनु भएको छ ।’

भेटको तस्बिरमा बाइडेनले मुस्कुराएर युनुसलाई धाम मारेको देखिइएको छ । बंगदेशकी निर्वासित पूर्वाप्रधानमन्त्री शेख हसिनालाई ढालेर बनेको नयाँ सत्तासँग भारतको राम्रो सम्बन्ध छैन ।

नयाँ सरकारले भारतको आलोचना गरेको, हिन्दू अल्पसंख्यकलाई हिंसा गरेको तथा भारतकी प्रिय प्रधानमन्त्री शेख हसिनालाई निर्वासित हुन बाध्य बनाइएको घटनामा भारतको असन्तुष्टि देखिएको भारतीय मिडियाहरूबाट देखिन्छ । त्यसको झल्को न्यू योर्कमा पनि देखियो ।

मोदीले युनुसलाई भेट नगरे पनि भारतीय विदेशमन्त्री एस. जयशंकरले आफ्ना बंगलादेशी समकक्षी मोहोमद ताउहिद हुसेनसँग भेट गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । तर, भेटको तस्बिर जयशंकरले सार्वजनिक गरेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर