इन्जिनियरिङ अध्ययन संस्थानको डीनका लागि सर्टलिष्टमा ५ जना
काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानको डीनका लागि ५ जनाको नाम सर्टलिष्टमा परेको छ । सर्टलिष्टमा परेका ५ जनाको प्रस्तुति र अन्तर्वार्ता असोज ११ मा बिहान ८ बजेदेखि त्रिवि उपकुलपतिको कार्यालयमा हुने जनाइएको छ ।
प्रस्तुति र अन्तर्वार्ताका लागि छनौटमा पर्नेमा प्रा.डा.भोलानाथ शर्मा, प्रा.डा.लक्ष्मण पौडेल, प्रा.डा.संगीता सिंह, प्रा.डा.सुवर्ण शाक्य र प्रा.डा.सुशीलबहादुर बज्राचार्य रहेका छन् ।
संस्थानको डीनका लागि ११ जनाले आवेदन दिएकोमा छनौटमा परेमा ५ जना बाहेक प्रा.डा महेशचन्द्र लुईंटेल, प्रा.डा.सुदन झा, डा.नन्दविक्रम अधिकारी, डा.राजन सुवाल, डा.हरिराम पराजुली र डा.जगतकुमार श्रेष्ठले आवेदन दिएका थिए ।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानको ‘नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१’ बमोजिम संस्थानको डीन पदका लागि आवेदन दिन अव्हान गरिएको थियो ।
विनियमको परिच्छेद २ मा डीन पदमा नियुक्तिका लागि सिफारिससम्बन्धी व्यवस्था रहेको छ । जसमा त्रिवि कार्यकारी परिषद् गठन गरिने संयोजक र अन्य २ जना प्राध्यापक वा सहप्राध्यापक सदस्य रहेको समितिले डीनका लागि सिफारिस गर्ने व्यवस्था छ । उक्त समितिले ३ जनाको नाम कार्यकारी परिषद्मा पेस गर्ने व्यवस्था छ ।