पार्टीभित्र व्यक्तिवादी चरित्र हावी हुँदा अराजकता बढ्याे : प्रदीप ज्ञवाली
काठमाडौं । पुराना राजनीतिक दल अब काम लाग्दैनन् भन्ने भाष्य निर्माण गरेर जनतामा निराशा र अराजकता बढाइएको भन्दै एमालेले चिन्ता व्यक्त गरेको छ ।
अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकमा उपस्थित भएका एमाले उपमहासचिव तथा स्कूल विभाग प्रमुख प्रदीप ज्ञवालीले पार्टी भित्र व्यक्तिवादी चरित्र हावी हुँदा अराजकता बढेको बताएका छन् ।
उनले भने, ‘अहिलेको हाम्रो मुख्य समस्या भनेकै अराजकता हो । विधिमा नचले पार्टी बन्दैन नेताहरुमा सामूहिक हित भन्दा व्यक्तिवादी चरित्र हावी भएको छ । गएको निर्वाचनमा त्यसै प्रवृत्तिले सोचे जस्तो परिणाम आउन सकेन ।’
पार्टी भित्रका आन्तरिक कुरालाई संगठनमा छलफल गर्नुभन्दा सामाजिक सञ्जालमा पोख्ने प्रवृत्ति बढेको र पब्लिक फिगरले परामर्श बिना बोलिदिने गर्नाले पार्टी विरुद्ध गलत भाष्य निर्माण गर्न बाह्य तत्वलाई सहज भएको उनको भनाइ छ ।
नेता ज्ञवालीले एमालेको दशौं महाधिवेशनले पारित गर्ने कार्यदिशाका बारेमा चर्चा गर्दै अदेशको ग्रामिण अर्थतन्त्र महिलाको हातमा रहेकाले त्यसलाई ध्यानमा राखेर अनेमसंघले पनि आगामी कार्यदिशा बनाउनु पर्ने सुझाव दिएका छन् ।
दुई दिन सम्म चल्ने केन्द्रीय कमिटी बैठकको अध्यक्षता गर्दै अनेमसंघ अध्यक्ष टुकाभद्र हमालले अनेमसंघको अबको कार्यदिशा संगठन विस्तार रहेकाले वडा र टोल स्तर सम्म महिला सदस्य बढाउन बैठकमा सहभागी नेताहरुलाई निर्देशन दिइन् । उनले नेकपा एमालेको आगामी निर्वाचनको मिशन ८४ अभियानमा महिला उम्मेदवार ५० प्रतिशत पुर्याउन एमालेको कुल सदस्य संख्यामा आधा महिला महिला सदस्य पुर्याउनुपर्ने लक्ष्य लिएको बताइन् ।
अनेमसंघले आगामी निर्वाचनमा ५० प्रतिशत महिला उम्मेदवार बनाउने नीति सहित अभियान सुरु गरेको छ । उनले जिल्ला, पालिका र वडाहरुमा पार्टीका महिला सदस्यहरुको रेकर्ड राखेर केन्द्रमा पठाउन निर्देशन दिइन् । केही जिल्लाहरुवाट महिला सदस्य संख्याको डाटा केन्द्रमा आइसकेको जानकारी पनि गराइन् ।
बैठकमा अनेमसंघ इन्चार्ज सीता पौडेल, पदाधिकारीहरु सहित देशभरवाट केन्द्रीय सदस्यहरु सहभागी भएका छन् ।
बैठकमा आगामी कार्ययोजना निर्माण गरिने छ, सचिवालयले गरेका निर्णय पारित गर्दै पार्टी र जनसंगठन बीचको अन्तरसम्बन्धका विषयमा समेत चर्चा गरिने प्रचार तथा प्रकाशन विभाग उप प्रमुख श्रृजना आचार्यले जानकारी दिइन् ।
यो हुनुको पछाडि गुटबन्दी नजराना अनि विचारविहीन शक्ति उत्पादन भएकोले हो ब्यक्ति होइन पार्टी चाकडी होइन क्षमता भन्नुपर्ने मा चाकरी ले घर गरेको कारण आज यो अवस्था आएको हो पदमा पुग्नासाथ मपाइत्व नातागोता हेर्नाले हो पार्टीको मुल्यांकन पद्धति पनि फितलो हुनु आदि हो