सुनकोशी गाउँपालिकाले सुरु गर्‍यो १० शय्याको आधारभूत अस्पताल – Nepal Press

सुनकोशी गाउँपालिकाले सुरु गर्‍यो १० शय्याको आधारभूत अस्पताल

सिन्धुपाल्चोक । संघीय सरकारले एक स्थानीय तह एक आधारभूत अस्पताल स्थापना गर्ने नीति अनुसार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले सबै सुविधा सहितको १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ ।

संघीय सरकारले आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा भूगोल र जनसंख्याका आधारमा हरेक स्थानीय तहमा ५ देखि १५ शय्यासम्मको अस्पताल सञ्चालन गरिने महत्वकांक्षी योजना अघि सारेको थियो ।

सरकारको सोही योजना अनुसार सुनकोशी गाउँपालिकाले सबै प्रक्रिया पुरा गरेर वडा नम्बर १ को ठोकर्पामा सुनकोशी आधारभूतअस्पताल सञ्चालनमा ल्याएको हो ।

स्वास्थ्य मन्त्रालयले सुनकोशी आधारभूत अस्पताललाई १० शय्याको मात्रै अनुमति प्रदान गरे पनि अस्पतालमा १५ शय्या भन्दा बढीको क्षमता रहेको छ । सरकारले आधारभूत अस्पताल सञ्चालनको अनुमति दिए पनि अस्पतालको लागि पूर्वाधार,जनशक्ति र उपकरण भने केही पनि दिएको छैन ।

सुनकोशी गाउँपालिका,विभिन्न सहयोगी संस्थाहरु र एक–एक पाइला फाउण्डेशनको सहयोगमा निर्माण सम्पन्न गरिएको भवनमा नै अहिले आधारभूतअस्पताल सञ्चालनमा ल्याइएको हो । उक्त भवन सुनकोशी अस्पताललाई नै हस्तान्तरण भएपछि त्यही नै आधारभूतअस्पताल सञ्चालन गरिएको सुनकोशी गाउँपालिकाका अध्यक्ष एवं अस्पताल सञ्चालक समितिका संयोजक टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

२०७२को भूकम्पपछि ठोकर्पा क्षेत्रमा एउटा पोलिक्लिनिकको सञ्चालन गर्ने गरी भवन निर्माण गरिएको थियो । भवन निर्माण भएपछि २०७९ वैशाखबाट एक एक पाइदा ठोकर्पा आधारभूतअस्पतालको रूपमा हालसम्म सञ्चालनमा आएको एक–एक पाइला ठोकर्पा आधारभूतअस्पतालका अध्यक्ष नेत्रबहादुर कार्कीले जानकारी दिए ।

२०७९ वैशाखबाट आधारभूत अस्पतालको रूपमा सञ्चालन गर्न सुनकोशी गाउँपालिकाको आधारभूतअस्पताल सञ्चालन सम्बन्धी कार्यविधि २०७८ बमोजिम गैर नाफामूलक स्वयंसेवी संस्था एक एक पाइला फाण्डेशनसँग सहकार्य गरी एक एक पाइला ठोकर्पा आधारभूतअस्पतालको रूपमा हालसम्म सञ्चालनमा आएको अध्यक्ष कार्कीले जानकारी दिए ।

अस्पतालको आम्दानी बाट मात्रै अस्पताल सञ्चालन हुन नसक्ने र सरकारले पनि एक पालिका एक आधारभूतअस्पतालको नीति ल्याएपछि संरचना,जनशक्ति समेत सबै भएकाले पालिकाका सँगको सहमतिमा यही अस्पताललाई नै सुनकोशी आधारभूतअस्पतालको रूपमा सञ्चालन गरिएको अध्यक्ष कार्कीले जानकारी दिए ।

चार वर्षसम्म हामीले एक एक पाइला ठोकर्पा अस्पतालको रूपमा सेवा सञ्चालन गरेका थियौ आजबाट यो सबै स्वामित्व सुनकोशी गाउँपालिकालाई हस्तान्तरण भएको छ,अस्पताल हस्तान्तरण कार्यक्रममा अध्यक्ष कार्कीले भने– अब तिनै तहका सरकारले यसलाई अझै व्यवस्थित रूपमा सञ्चालनको जिम्मेवारी लिनुपर्छ ।’ एक एक पाइलाको नामबाट अस्पताल सञ्चालन भए पनि उक्त अस्पताललाई सुनकोशी गाउँपालिकाले वार्षिक रूपमा ५० लाख बढी बजेट उपलब्ध गराउँदै आएको थियो । त्यस्तै प्रदेश र संघीय सरकारले समेत थोरै भए पनि बजेट उपलब्ध गराउँदै आएको कार्कीले बताए ।

आधारभूत अस्पतालमा हुनुपर्ने दक्ष जनशक्ति,उपकरण लगायत भवनहरू समेत अस्पतालमा उपलब्ध रहेको छ । एक्स–रे भिडियो एक्स–रे, ल्याब,इमरजेन्सी सेवा,ओपीडी सेवा डेन्टल,प्रसूति,आँखा उपचार,चस्मा पसल,फार्मेसी सहित दुई जना मेडिकल अफिसर समेत अस्पतालमा हाल कार्यरत रहेका छन् । त्यस्तै अस्पतालको आफ्नै अक्सिजन प्लान्ट समेत रहेको छ । अस्पतालमा लिफ्ट सहित तिन वडा भवनहरू रहेका छन् ।

गाउँपालिकाले सुनकोशी अस्पताल सञ्चालन गर्ने भएपछि अब जनशक्ति लगायत सम्पूर्ण खर्च गाउँपालिकाले नै गर्ने गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए । तत्कालको लागि गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष अस्पताल रहेको वडाका वडा अध्यक्ष लगायत को टिम अस्पताल सञ्चालन समिति गठन गरिए पनि केही समय भित्रै ऐन बनाएर अस्पताल सञ्चालनको लागि नयाँ टिम गठन गर्ने अध्यक्ष तिमिल्सिनाले बताए ।

हामीले अस्पताल सञ्चालन नगरे पनि हरेक वर्ष ५० देखि ७५ लाख रुपियाँ अस्पताल सञ्चालनको लागि उपलब्ध गराउँदै आएका थियौ,अब गाउँपालिकाले नै अस्पताल सञ्चालन गर्नै भएपछि सबै दायित्व गाउँपालिका कै हुने छ अध्यक्ष तिमिल्सिनाले भने । उक्त अस्पतालबाट सुनकोशी गाउँपालिका,लिसंखु पाखर गाउँपालिका र काभ्रेको भुम्लु गाउँपालिकाका स्थानीयले समेत सेवा लिन सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *