नेपालको पहिचान भनेकै सांस्कृतिक सम्पदा हो, अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नुपर्छ : मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको पहिचान भनेकै सांस्कृतिक सम्पदा, जातीय समुदाय तथा संस्कृतिको विविधता रहेको बताएका छन् ।
नेपाली संस्कृति संरक्षण तथा प्रवर्द्धन हेतु ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनामा विश्व पर्यटन दिवसको अवसर पारेर आयोजित तीन दिने कार्यक्रम ‘पाटन हेरीटेज जेम एण्ड ज्युलरी एक्सपो’ को उद्घाटन कार्यक्रममा उनले सास्कृतिक विविधता झल्काउने नेपालको परम्परागत भेषभुषा तथा पहिरनको आफ्नो छुट्टै ऐतिहासिक महत्व रहिआएको बताए ।
‘समृद्धिका लागि सम्पदा संरक्षण’ भन्ने मूल नाराका साथ हुन गइरहेको यो कार्यक्रम ऐतिहासिक सम्पदा पाटन दरबार क्षेत्रभित्र आयोजना हुनु आफैंमा गर्वको विषय भएको भन्त्री भण्डारीको भनाइ थियो ।
‘ढाका टोपीदेखि गुन्युचोलो, हाकुपटासीदेखि बख्खु जस्ता अन्य पहिरन र तिनलाई मिल्ने गरगहनाको विषेश महत्व पनि उत्तिकै छ, एकातर्फ आजको विश्वव्यापिकरणका कारण पुरै विश्व एउटै छाना मुनि अवस्थित छ, अर्को तर्फ नेपालको सन्दर्भमा हाम्रा सांस्कृतिक पहिरनका पहिचान धमिलिदै गएको पनि भान भइरहेको छ’, उनले भने ।
यिनको महत्व आजका पिँढीमाझ अन्तर्राष्ट्रिय स्तरमै प्रवर्द्धन गर्नु अत्यावश्यक रहेको उनको भनाइ छ ।
मन्त्री भण्डारीले भने, ‘हाम्रा सांस्कृतिक पहिरन एवं गरगहना मात्र सुन्दर सामान नभएर एक समृद्ध सांस्कृतिक सम्पदाका जिवित अवतारका रुपमा रहेका छन्, यिनको संरक्षण र प्रवर्द्धन गर्नु हाम्रो कर्तव्य हो, यस प्रकारको कार्यक्रमबाट पुर्खाहरुको विरासतलाई सम्मान पुग्नुका साथै आगामी पुस्ताका लागिसमेत जिवन्त सांस्कृतिक विरासत सुनिश्चित गर्न सकिन्छ ।’
यस कार्यक्रमले परम्परागत कालीगढ तथा पहिरन बनाउने सिपको प्रवर्द्धन, युवा पुस्तामा सांस्कृतिक पहिचान र समृद्धबारे अवगत तथा महत्वबोध, परम्परागत पेशालाई व्यवसायीकरण गर्न प्रेरणाका साथै स्थानीय व्यापारको प्रवर्वन, नेपालको मौलिकतालाई विदेशी नागरिक माझ पहिचान गराउँदै विश्व सामु नेपालको विविधता पहिचानमा थप टेवा पुग्ने मन्त्री भण्डारीले बताए ।
नेपालको पहिचान भनेकै सांस्कृतिक सम्पदा, जातीय समुदाय तथा संस्कृतिको विविधता रहेको बताइन्छ । तर नेपालको इतिहासमा यस्ता विषयको उल्लेखसम्म हुदैन । मन्त्रीहरूले भाषण गर्दा यस्ता विषय प्रशस्त सुनिन्छन् । तर जुन देशमा धर्म निरपेक्षता भनेर लादिन्छ र विध्यालय तथा विश्वविध्यालयहरूमा राजनीति, संस्कृति तथा संस्कारको विषय पाठ्यक्रममा नै हुदैन त्यहाँ राजनीति र संस्कृतिलाइ मिसाएर नबोली अरू के गर्न सकिन्छ ?