कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई सतर्क रहन आग्रह – Nepal Press

कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई सतर्क रहन आग्रह

काठमाडौं । गए रातिदेखि निरन्तर भारी वर्षाका कारण मकवानपुरको कुलेखानी जलविद्युत आयोजनाको ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा परेको छ । यस्तै वर्षा थप ५ देखि ७ घण्टा रहिरहे ड्यामको ढोका खोल्नुपर्ने अवस्था आउने नेपाल विद्युत प्राधिरकण कुलेखानी प्रथम जलविद्युत केन्द्रले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पत्राचार गरेको छ ।

नेपाल विद्युत प्राधिरकण कुलेखानी प्रथम जलविद्युत केन्द्रले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पत्राचार गर्दै यस्तो जानकारी गराएको हो ।

केन्द्रका प्रमुख तारादत्त भट्टले प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै यदि ड्यामको ढोका खोलेको अवस्थामा तटीय क्षेत्र कुनै पनि समयमा डुवानमा पर्ने भन्दै स्थानीयलाई सतर्कता अपनाउनका लागि आग्रह गरेको हो ।

केन्द्रले पत्राचार गर्दै भनेको छ, ‘अहिले भइरहेको अविरल वर्षाको कारण यस कुलेखानी जलविद्युत केन्द्रको ड्याममा पानीको सहत बढी हुन सक्नुका साथै चखेल, सिम, मुख्य ड्यामको ढोका खोल्न पर्न सक्ने हुनाले बागमती खोलाको बहान बढन् गई तटीय क्षेत्रमा कुनै पनि समयमा डुवानमा पर्ने सम्भावना रहेको व्यहोरा जानकारी गराउँदै त्यस क्षेत्रका स्थानीयलाई समयमै सुरक्षित रहन तथा उच्च सतर्कता अपनानउ आवश्यक जानकारी गराइदिन अनुरोध छ ।’

केन्द्रले पत्राचार गरेसँगै जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सचेत रहन र सुरक्षित स्थानमा बस्नका लागि आग्रह गरिसकिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलवालले नेपाल प्रेसलाई जानकारी दिए ।

उनले भने, ‘कुलेखानी ड्याम केही घन्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएको छ । तसर्थ कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाले उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मी एवं स्वयंसेवक समेत हाइ एलर्टमा बस्नुहुन अनुरोध गरिसकेका छौ । मकवानपुर जिल्ला विपद व्यवस्थापन समिति र सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिले समेत तदनरुप सुरक्षित स्थानको पूर्वतयारी गर्नुहुन समेत अनुरोध गरिएको छ । सञ्चारमाध्यमले पनि यो पूर्वसूचना प्राथमिकताका साथ सम्प्रेषण गरिदिनु हुन समेत अनुरोध गरिएको छ ।’

राष्ट्रिय विपद् जोखि न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि भर्खरै एक विज्ञप्ती जारी गर्दै कुलेखानीदेखि तलका तल्लो तटी क्षेत्रमा बसोबास गर्ने बासिन्ताले उच्च सतर्कता अपनाउन र प्रतिकार्यमाा खटिने सुरक्षाकर्मी तथा स्वयमसेवकलाई तयारी अवस्थामा बस्न अनुरोध गरेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर