लेखराज भट्टलाई प्रश्न : ‘माओवादी हिंसा’ भन्नु ठिक कि बेठिक ? (भिडिओ) – Nepal Press

लेखराज भट्टलाई प्रश्न : ‘माओवादी हिंसा’ भन्नु ठिक कि बेठिक ? (भिडिओ)

‘भीम रावलले अध्यक्षसँग गएर मलाई जिम्मेवारी दिनुपर्यो भन्नु पर्छ’

एमाले सचिव योगेश भट्टराईले १२ भदौमा संसद बैठकमा बोलेको एउटा शब्दलाई लिएर माओवादीले कडा आपत्ति जनायो । उक्त शब्द रेकर्डबाट हटाइनुपर्ने भन्दै संसद अवरोध समेत गरियो ।

भट्टराईले बोलेको त्यो शब्द थियो, ‘माओवादी हिंसा’ । ‘जनयुद्ध’ लाई ‘हिंसा’ भनेर अपमानित गरिएको भन्दै माओवादी सांसदहरु आक्रोशित बनेका थिए । यद्यपि, सभामुख देवराज घिमिरेले ‘हिंसा’ शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउनु नपर्ने निर्णय सुनाए ।

संसदमा यसरी हंगामा भइरहँदा माओवादी जनयुद्धकै पृष्ठभूमिबाट एमालेमा आएका नेताहरु भने मौन बसिरहेका थिए । अहिलेसम्म पनि उनीहरुले यो विषयमा कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।

हामीले एमाले केन्द्रीय सचिवसमेत रहेका सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्टलाई यसै सन्दर्भमा कुराकानी गरेका छौं । माओवादी युद्ध, त्यसले पारेको प्रभाव र मुलुकमा आएको परिवर्तनबारे भट्टसँग गरिएको कुराकानीको संक्षिप्त अंश नेपाल टकमाः

अहिले माओवादी जनयुद्ध कि माओवादी हिंसा भन्नेमा निकै विवाद भइरहेको छ, यसमा तपाईंको दृष्टिकोण के हो ?

यो बारेमा आ–आफ्ना बुझाइ छन् । आ–आफ्ना दृष्टिकोण छन् । म आफैं त्यसमा संलग्न भएको र मैले त्यसको नेतृत्वसमेत गरेको हुँदा कुनै पनि परिवर्तन हिंसाबिना भएकै छैन । हिंसाको परिभाषा के हो ? त्यसमा जानुपर्ने हुन्छ । राजनीतिक उद्देश्य प्राप्तिको लागि र परिवर्तनको लागि द्वन्द्व अथवा युद्धहरू इतिहासमा धेरै भएका छन् । त्यसलाई तपाईंले विशुद्ध हिंसाको रुपमा परिभाषित गर्नु भयो भने त्यसको समग्र वस्तुहरूलाई बुझ्न सक्नु हुँदैन ।

जनयुद्धको लक्ष्य, उद्देश्य परिवर्तन थियो । परिवर्तनको लागि भएको थियो । त्यसमा जनताको सहभागिता थियो । शान्ति प्रक्रियामा आउने कुरामा एमालेको अहिलेको नेतृत्वको महत्वपूर्ण भूमिका रहेको थियो ।

शेरबहादुर देउवाको नेतृत्वकै सरकारले तपाईंहरूको टाउको मूल्य तोकेको हो । हिजो आफ्नै टाउको मूल्य तोकेकाहरूसँग टाउको जोडेर हिँड्दा कस्तो महसुस हुने रहेछ ?

यो त राजनीति हो । राजनीति आज एउटा हुन्छ भोलि आवश्यकतामा अर्काे हुन्छ । तपाईंले मूल लक्ष्य र रणनीति छोड्नु भयो भने गलत हुन्छ । तर, त्यो रणनीति प्राप्तिको लागि कार्यनीति त छिनछिनमा बदलिन्छ । त्यो बदल्ने कुरामा कहिले दायाँ हुन्छ कहिले बायाँ हुन्छ ।

जनयुद्धकालमा कैलालीको पहलमानपुर नजिक तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा चढेको गाडीमा गोली प्रहार भएको थियो । त्यो सांघातिक आक्रमण हो कि तर्साउने प्रयास मात्र ?

त्यो बेला हामीसँग सूचना सञ्चारको कमी हुन्थ्यो । हाम्रो लक्ष्य फोर्सको गाडी नै हुन्थ्यो । अक्कल झुक्कल दुर्घटना पनि भएका थिए । जस्तो बाँदरमुढेमा भएको घटना । त्यो बसमा सेना पनि चढेका थिए । तर, आक्रमणमा नेतृत्व गर्नेले सही पहिचान गर्न सकेन न्। त्यो कारणले बाँदरमुढे घटना भएको थियो । त्यसमा आत्मालोचना पनि गरिएको थियो ।

त्यस्तै आमखैयामा सेनाको गाडी आएको भन्ने थियो, देउवा आएको भन्ने थिएन । सेनाको गाडी भनेर आक्रमण भएको हो ।

टीआरसीबाट त्यो बेलाका सशस्त्र युद्धका पीडितहरूले न्याय पाउँछन् त ?

नेपालका शान्ति प्रक्रिया नेपालीहरू जुनसुकै आन्तरिक समस्यालाई आफैं समाधान गर्न सक्छन् भन्ने विश्वलाई उदाहरण पनि हो । यसले सशस्त्र द्वन्द्वको बेला दुबै तर्फबाट जे भए त्यो बेलामा कमजोरीहरू कसरी समाधान गर्ने भन्ने कानूनले ल्याएको छ ।

टीआरसीकै कारण पनि गठबन्धन फेरिएको भन्छन् नि ? तपाईंहरू टिआरसीको छलफल गर्ने भन्दै बैठक बस्नुहुने रहेछ, भित्र गठबन्धन फेर्ने कुरा गर्नुहुने रहेछ है ?

मलाई त्यस्तो लाग्दैन । माओवादी नभइ टीआरसी हुँदैन थियो । तर, पछिल्लो चरणमा माओवादी अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा हुँदै एमालेलाई एक्लाउने रणनीति लिनुभयो । जसरी उहाँले छलफल सुरु गर्नुभयो, त्यसलाई हाम्रो नेतृत्वले राम्रैसँग बुझेको थियो । सबै कुरा बुझेपछि त्यो कुरालाई उल्टाइदिनुभएको हो । उनले एक्लाएर एमालेलाई पर राख्न खोजेका थिए । तर, हाम्रो नेतृत्व विशेषगरि हाम्रो अध्यक्ष सम्माननीय प्रधानमन्त्रीज्यूले त्यसलाई उल्टाएर माओवादीलाई नै पर पुराइदिनु भयो ।

पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई अल्पमतमा पार्ने, राष्ट्रपतिलाई महाअभियोग लगाउने सूचनापछि संसद् विघटन गरिएको भन्ने पनि सत्य हो ?

पार्टी भित्रको अन्तर संघर्ष वैचारिक हुनुपर्छ । तर, त्यो बेला एक अर्काको काँधमा बन्दुक राखेर मूल नेतृत्वलाई सक्ने काम भएको थियो । त्यो बेला प्रचण्ड, माधव नेपाल, झलनाथ लगायत उहाँहरूको वरिपरिको ग्रीपले अन्तरसंघर्षका शत्रुतापूर्ण क्रियाकलाप गरे ।

एकताको महाधिवेशन गरेर बहुमत अल्पमत गर्नुपर्नेमा सचिवालयमै बहुमत र अल्पमतको कुरा हुन थाल्यो । स्थायी समितिमै बहुमत र अल्पमतको कुरा हुन थालेको थियो । हाम्रो अध्यक्षलाई सिध्याउने गरि १९ बुँदे आएको थियो । त्यसपछि संसद् विघटनका कुनै विकल्प नै थिएन ।

संसद विघटन २०५१ सालमा पनि भएको थियो । विश्वका विभिन्न मुलुकका प्रधानमन्त्रीले संसद् विघटन गरेर निर्वाचनमा पनि त गएका थिए । तर, यहाँ धेरै गिजोलियो ।

प्रधानमन्त्री भएका बेला प्रचण्ड तपाईंको निवासमा आउनुभएको थियो । त्यो बेला तपाईं माओवादीमा फर्किने हल्ला पनि चल्यो । पुरानै घर फर्किनेबारे केही छलफल भएको थियो र ?

माओवादीभित्र पनि प्रचण्ड पार्टीले नै भनेर आएका हुन् भन्ने हल्ला रहेछ । सुपका माओवादी नेताहरूले उहाँ फर्किनुहुन्छ भनेर भनेको प्रचण्ड गएको, तर के मिलेन भन्ने गरेका छन् । तर, त्यस्तो कुरा होइन । मकहाँ आउने भनेपछि म विधि पद्धतिमा जाने हो । मैले हाम्रो अध्यक्ष र महासचिवलाई पनि जानकारी दिएको थिए । उहाँ आउनु भयो । हाम्रो धेरै विषयमा छलफल भएको थियो ।

त्यो बेलामा मूल टिआसीको विषयमा छलफल भएको थियो । उहाँले तपाईं त्यहाँ हुनुहुन्छ, केपी जीसँग छलफल गर्नुहोला भन्नुभएको थियो ।

सुदूरपश्चिमका नेता भीम रावललाई जिम्मेवारी दिन एमाले किन गम्भीर देखिएको छैन ? उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वको समितिमा तपाईं र कर्ण थापा पनि हुनुहुन्थ्यो । त्यो कार्यदलले पनि केही गर्न नसकेको हो ?

उहाँले तपाइहरूसँग मेरो केही छैन, अध्यक्षसँग हो मेरो भन्नु भयो । त्यसपछि के भन्ने ? पार्टीले जिम्मा दिएको थियो । यस्तो छ मेरो कुरा भनेपछि हामी अध्यक्षसँग लैजाने थियौँ । अध्यक्षले मलाई बोलाउनुभएन भन्नुहुन्छ । उहाँ आफै जानुपर्छ नि । मलाई जिम्मेवारी दिनुप¥यो, यो ठाउँमा काम गर्छु भन्नुप¥यो नि । त्यो त उहाँले भनिरहनु भएको छैन । बाहिर कहाँ के के बोलिरहनुभएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *