एक वाक्यकाे सूचना: दशैंको छेकोमा भुटान जाँदै पूर्वराजा – Nepal Press

एक वाक्यकाे सूचना: दशैंको छेकोमा भुटान जाँदै पूर्वराजा

नेपालमा जन्मेका भुटानी राजासँग भेटवार्ता हुनसक्ने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जान लागेको भन्दै उनका संवाद सचिव डा. फणिराज पाठकले एक सूचना जारी गरेका छन् । सूचनामा भ्रमणको तिथि, कार्यक्रम र प्रयोजन उल्लेख छैन ।

एक वाक्यको सूचनामा लेखिएको छ, ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव भुटानको निजी भ्रमणको सिलसिलामा आगामी हप्ता सवारी होइवक्सने छ ।’

देशमा गणतन्त्र आएपश्चात आम नागरिकको हैसियतमा ओर्लिए तापनि पूर्वराजा ज्ञानेन्द्रका हरेक क्रियाकलापहरुप्रति जनचासो रहन्छ । तर, पूर्वराजासँग सम्बन्धित सूचनाहरु पारदर्शीरुपमा सम्प्रेषण गर्नमा भने अत्यन्तै कन्जुस्याईं गर्ने गरिएको छ ।

पूर्वराजाका स्वदेश वा विदेशमा हुने कुनै पनि भ्रमणसम्बन्धी विज्ञप्तिहरु प्राय यस्तै संक्षिप्त र अधुरा हुने गर्छन् । अरु त अरु, भ्रमणको तिथिमिति समेत खुलेको हुँदैन । अत्यन्तै सामान्य सूचनाका लागि पनि ठूलै अनुसन्धान गर्नुपर्छ ।

पूर्वराजाका विज्ञप्ति र सूचनाहरु संवाद सचिव डा. पाठकमार्फत जारी हुन्छन् । तर, पूर्वराजाले पाठकलाई नै न्यून सूचना दिने गरेको बुझिन्छ । विस्तारित सूचनाका लागि मिडियासँग उपलब्ध अर्को कुनै स्रोत छैन । पूर्वराजा कुनै आधिकारिक सामाजिक सञ्जाल खाता पनि चलाउँदैनन् ।

भुटान भ्रमणको सूचना सम्प्रेषणमा पनि कञ्जुस्याईं भएको छ । पूर्वराजा भुटान प्रस्थान गर्ने र फर्किने तिथि जस्तो अत्यन्त आधारभूत विषय पनि खुलाइएको छैन । यस विषयमा डा. पाठकसँग जिज्ञासा राख्दा उनले विस्तृत जानकारी आफूसँग नरहेको बताए । पाठकका अनुसार पूर्वराजा शाह नौरथा लागेपछि भुटान जानेछन् भने दशैंअघि फर्किनेछन् ।

‘महाराजधिराजबाट हुकुम भएको यति मात्रै हो’, पाठकले नेपाल प्रेससँग भने ।

पूर्वराजाको यो भ्रमण दुर्लभ र महत्वपूर्ण अवश्य हो । उनले राजा हुँदाखेरि पनि कहिल्यै भुटान भ्रमण गरेका थिएनन् । पछिल्लो समय नेपाल र भुटानबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान शून्यप्राय छ । भुटानी शरणार्थीको विषयलाई लिएर चिसिएको दुई देशबीचको सम्बन्धमा त्यसपछि कहिल्यै बहार आएन । सम्बन्ध सुधार्ने कुनै प्रयास पनि भएको छैन ।

पूर्वराजाले सम्भवतः भुटानका राजा जिग्मे खेसर नाम्गेलसहित उच्चस्तरीय भेटवार्ताहरु गर्नेछन् । राजा जिग्मको नेपालसँग भावनात्मक सम्बन्ध पनि छ । उनको जन्म नेपालमै भएको थियो । जिग्मेकी आमा तत्कालीन रानी छिरङ योङ दोन प्रसुतीकै लागि नेपालमा आएकी थिइन् । काठमाडौंको प्रसुती गृहमा उनले नाम्गेललाई जन्म दिएकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर