पहिरोले सिद्धार्थ राजमार्ग शनिबारसम्म नखुल्ने, लुम्बिनीका विभिन्न जिल्लामा दजनौं बाटा अवरुद्ध – Nepal Press

पहिरोले सिद्धार्थ राजमार्ग शनिबारसम्म नखुल्ने, लुम्बिनीका विभिन्न जिल्लामा दजनौं बाटा अवरुद्ध

रुपन्देही । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक शुक्रबार साँझदेखि पहिरोले अवरुद्ध भएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिका ३ केराबारी भन्ने स्थानमा पहिरोले सडक पुरिएपछि पूर्ण रुपमा अवरुद्ध बनेको छ ।

सडक अवरुद्ध हुँदा बुटवलदेखि पाल्पा, पोखरा, स्याङ्जा, गुल्मी लगायतका ठाउँका लागि हिडेका तथा त्यहाँबाट बुटवलतर्फ आउँदै गरेका सवारीहरु बीच बाटोमै अलपत्र परेका छन् ।

शुक्रबार साझदेखि अवरुद्ध बनेको उक्त सडक शनिबार विहान पहिरो सफा गरेपछि मात्रै खुला हुने बताइएको छ । निरन्तरको वर्षा र रातको समय भएका कारण पहिरो खुलाउन शनिबारसम्म कुर्नुपर्ने अवस्था आएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी पाल्पाको बर्तुङ पोखरा सडक पनि पहिरोले अवरुद्ध भएको छ । बगनासकाली–१ मा पहिरोले बाटो अवरुद्ध भएको हो । उता रोल्पा त्रिबेणी गाउँपालिकास्थित सहिद मार्ग पनि पहिरोले पूर्णरुपमा अवरुद्ध भएको छ । त्यस्तै गुल्मीको छत्रकोट गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो जाँदा रिडी तम्घास सडक खण्ड पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरोका कारण लुम्बिनी प्रदेशका पहाडी जिल्ला रोल्पा, रुकुमपूर्य, प्यूठान, अर्घाखाँची, गुल्मी, पाल्पाका विभिन्न मुख्य तथा सहायक सडकहरु अवरुद्ध भएका छन् । निरन्तर वर्षा भइरहेकाले यहाँका बाटो खुलाउन समय लाग्ने त्यहाँस्थित प्रहरी कार्यालयहरुले जनाएका छन् ।

त्यसैगरी तराई क्षेत्रमा बाढीको खतरा बढ्दै गएको छ । नवलपरासीमा गण्डक, रुपन्देहीमा तिनाउ, दावन र रोहिणी, कपिलवस्तुमा वाणगंगा, दाङमा राप्ती नदीमा बढेको बाढीबाट सर्तकर्ता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *