पासकोडबिनै भारतीय फिल्म चलाउन जबरजस्ति, कानून केलाउँदै विकास बोर्ड – Nepal Press

पासकोडबिनै भारतीय फिल्म चलाउन जबरजस्ति, कानून केलाउँदै विकास बोर्ड

काठमाडौं । चलचित्र विकास बोर्डको स्थापित नियम उल्लंघन गर्दै एउटा विदेशी चलचित्र नेपालमा लगाउन वितरकले जबरजस्ति गरेका छन् । बोर्डले लिनुपर्ने पासकोर्डबिना नै भारतीय फिल्म `देभरा´ भोलि नेपालमा रिलिज गर्न लागिएको हो ।

कुनै पनि विदेशी चलचित्र रिलिजपूर्व सेन्सर पासका लागि विकास बोर्डमा निवेदन दिनुपर्ने व्यवस्था छ । विकास बोर्डले सेन्सरका लागि अनुमति दिएपश्चात सेन्सर बोर्डले हेरेर सर्टिफिकेट दिन्छ । साथै बोर्डले बक्स अफिसको पासकोड प्रदान गर्छ ।

अहिले कार्यान्वयनमा रहेको नियमअनुसार बोर्डमा निवेदन आएको कम्तिमा चार दिनपछि मात्रै विदशी चलचित्रले पासकोड प्राप्त गर्छन् । विगतमा भारतीय फिल्म नेपालमा ल्याएलगत्तै प्रक्रिया नपुर्याइ प्रदर्शन गरिहाल्ने परिपाटी बढेपछि यो नियम बनाएर लागू गरिएको हो ।

भुवन केसी नतृत्वको बोर्डले निर्णय गरेर विदेशी चलचित्रलाई कस्न खोजेको थियो । यद्यपि वितरकहरूले `कुरा मिलाएर´ यो प्रावधानको उल्लंघन गर्दै आएका थिए । हालका बोर्ड अध्यक्ष दिनेश डीसी भने विदेशी चलचित्रप्रति अनावश्यक सदासयता देखाउने पक्षमा छैनन् ।

`देभरा´ को सेन्सर अनुमतिका लागि हिजो बेलुकी ५ बजे मात्रै निवेदन आइपुगेको थियो । आज बोर्डले कानूनी अध्ययनपश्चात ४ दिनपछि प्रदर्शन गर्ने शर्तमा सेन्सर अनुमति दियो । सेन्सर बोर्डले आजै चलचित्रलाई एडल्ट सर्टिफिकेट दिएको छ ।

विकास बोर्डले आइतबार मात्र पासकोर्ड दिने तयारी गरेको छ । तर वितरक र प्रदर्शकले पासकोडबिनै चलचित्रलाई शो टाइममा हुलेका छन् ।

४ दिने मापदण्ड उलङ्घन गरेकोमा हुनसक्ने कारवाहीबारे बोर्डले कानूनी अध्ययन गरिरहेको स्रोतले बतायो । स्रोतका अनुसार यो मापदण्ड ऐनमा उल्लेख नभएको हुँदा कारवाही गर्न असुविधा हुने देखिएको छ ।

‘विगतमा बोर्डले नै निर्णय गरेर कार्यान्वयनमा ल्याएको भए पनि ऐनमा समेटिएको छैन । त्यसैले भोलि नै चलचित्र रिलिज गरिएमा के कस्तो कारवाही हुनसक्छ भनेर अध्ययन भइरहेको छ । अध्यक्षले नै यसमा गम्भीर चासो लिनुभएको छ’, स्रोतले भन्यो ।

यो चलचित्र वितरक निरक पौडेलले नेपालमा भित्र्याएका हुन् । सकेसम्म आजै रिलिज गर्ने उनको प्रयास थियो । त्यसमा भने उनी सफल भएनन् । आज दुई नेपाली चलचित्र आँखा´ र सानो संसार´ रिलिज भएका छन् । कम बजेटका यी दुवै चलचित्रका लागि भाेलि शनिबारकाे व्यापार महत्त्वपूर्ण छ । महंगाे बजेटकाे भारतीय चलचित्र रिलिज हुँदा यी दुवै फिल्मलाई असर गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *