ड्याम भरिएसँगै ३१ वर्षपछि खोलियो कुलेखानीको ढोका – Nepal Press

ड्याम भरिएसँगै ३१ वर्षपछि खोलियो कुलेखानीको ढोका

हेटौंडा । निरन्तरको वर्षाको कारण ड्याममा पानी भरिएपछि मकवानपुरको इन्द्रसरोबरमा गाउँपालिकामा रहेको कुलेखानी ड्यामको ढोका खोलिएको छ । इन्द्रसरोबर जलाशय भरिएपछी ३१ वर्षपछि ड्यामको ढोका खोलिएको हो । जलाशय भरिएपछी पछिल्लो पटक गत २०५० साल मा ढोका खोलिएको थियो ।

१ हजार पाँच सय ३० मिटर पानी भण्डारणको क्षमता रहेको नेपाल विधुत प्राधिकरणको उक्त जलाशयमा क्षमता भन्दा ३० सेन्टीमिटर पानी बढी भएपछि ढोका खोलिएको कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले बताए ।

कुलेखानीको जलाधार क्षेत्रमा लगातार वर्षा भैरहेको कारण अहिलेलाई ड्यामको ढोका खोलेर सतह मिलाउने काम गरिरहेको उनको भनाई छ । पछिल्लो दुईदिनबाट जारी वर्षाको कारण कुलेखानी ड्याममा ५ मिटर पानीको सतह बढेपछि ड्यामको ढोका खोल्नुपरेको प्रमुख भट्टको भनाई छ ।

अहिले ड्यामब प्रतिसेकेन्ड ३ सय क्युसेक पानी फालिएको छ । कुलेखानी जलविद्युत आयोजनाले शुक्रबारनै सूचना जारी गरेर कुलेखानीको ड्याम खुल्न सक्ने भन्दै बागमती नदि किनारका वासिन्दालाई उच्च सतर्कता अपनाउन भनेको थियो ।

कुलेखानी ड्याममा भएको पानीबाट १०६ मेघावाटको विधुत उत्पादन हुने गरेको छ । नेपालको सबैभन्दा ठूलो मानव निर्मित तालको रुपमा समेत रहेको यो जलाशय करिव ७ किलोमिटर लम्बाई रहेको छ ।

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाका दामन,पालुङ, वज्रवराही, चित्लाङ तथा इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयको जलाधार क्षेत्र हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर