पाँच मिटर घट्यो कुलेखानीको जलाशय, अझै दुईवटा ढोका खुल्ला – Nepal Press

पाँच मिटर घट्यो कुलेखानीको जलाशय, अझै दुईवटा ढोका खुल्ला

हेटौँडा । अविरल वर्षासँगै मकवानपुरको कुलेखानी जलाशयमा पानी भरिएपछि शनिवार बिहानबाट पूर्ण रूपमा ‘ड्याम डोर’ खोलेको कम्तीमा ११ घण्टापछि जलाशयमा पाँच मिटर पानी घटेको छ ।

जलाशयमा पानीको सतह १ हजार ५३१ मिटर पुगेपछि कुलेखानी प्रथम जलविद्युत आयोजनाले बिहानबाट दुई वटा ढोका पूर्ण रूपमा खोलेको थियो ।

तर करिब ११ घण्टापछि जलस्तर ५ मिटर कम भएपछि हाल दुई मिटर मात्र ढोका खुल्ला राखिएको कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

आयोजनाको अनुसार हाल कुलेखानीमा पानीको सतह हाल कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५२७ मिटर रहेको छ ।

कुलेखानीको जलाधार क्षेत्रमा अझै पनि पानी पर्ने क्रम नरोकिएको कारण दुवै ढोकालाई कम्तीमा २-२ मिटर खुल्ला गरेर ड्यामलाई सन्तुलन राखिएको भट्टले बताए । १५ सय ३० मिटर क्षमताको ड्याममा निरन्तरको वर्षाले ओभरफ्लो भएपछि शनिवार बिहान दुई वटा ढोका खुल्ला गरिएको थियो ।

पानीको व्यवस्थापन गर्न सहायक ड्याम नरहेको कारण अझैसम्म दुई मिटर ढोका खुल्ला गर्नुपरेको आयोजनाले जनाएको छ ।

पानीको व्यवस्थापनको लागि कुलेखानी आयोजनाले उसको तीनवटै आयोजनालाई पूर्णरुपमा सञ्चालनमा ल्याएको थियो । तर जलाधार क्षेत्रमा वर्षा नरोकिएपछि आयोजनाले ३१ वर्षपछि शनिवार बिहान दुवै ढोका खुल्ला गरेको थियो ।

आयोजनाले ढोका खोल्दा इन्द्रसरोबर गाउँपालिकाको सिस्नेरी बजारका कम्तीमा ३० घर बगाएको थियो भने खानि खोलाका दर्जनौँ घर डुबानमा परेको थियो ।

आयोजनाले ढोका खोल्दा उक्त पानी सिस्नेरी खोला हुँदै बागमती नदीमा मिसिदा मकवानपुर–ललितपुर जोडिने बगुवा पुलमा क्षति पुग्नुको साथै मान्डु हाइड्रोपावरमा समेत क्षति पुगेको छ भने बागमतीको तटीय क्षेत्रमा पर्ने बकैया १२ सहित बागमती गाउँपालिकाको दर्जनौँ घर डुबानमा परेको छ । तटीय क्षेत्रका सयौँ विगाहा जमिन कटान भएको छ ।

बागमतीको जलस्तर बढ्दा मदन भण्डारी राजमार्ग अन्तरगत मकवानपुर-सिन्धुली जोडने पुलमा समेत क्षती पुगेको छ ।

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाका दामन,पालुङ, वज्रवराही, चित्लाङ तथा इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयको जलाधार क्षेत्र हुन् ।

यी क्षेत्रमा अझै पानी परिरहेकोले जलाशयको ढोका कति समयसम्म खुल्ला राख्नुपर्ने हो अझै टुङ्गो भइनसकेको आयोजनाको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर