आन्तरिक उडान प्रभावित भई अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुको टिकट सार्न अतिरिक्त शुल्क नलाग्ने – Nepal Press

आन्तरिक उडान प्रभावित भई अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुको टिकट सार्न अतिरिक्त शुल्क नलाग्ने

काठमाडौं । अविरल वर्षाका कारण आन्तरिक उडान प्रभावित भई अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुको टिक सार्न अतिरिक्त शुल्क नलाग्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विगत दुई दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटक तथा यात्रुलाई उद्धार एवं सहयोग गर्न पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा मन्त्रालय सम्बद्ध निकाय एवं पर्यटन तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित व्यावसायिक संस्थाका प्रमुख तथा प्रतिनिधिसँग बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले आन्तरिक उडान अवरुद्ध भई अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रुको टिकट सार्न अतिरिक्त शुल्क नलाग्ने गरी व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित वायुसेवा कम्पनीले आवश्यक समन्वय गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव रामकृष्ण लामिछानेले जानकारी दिए । उनका अनुसार उक्त बैठकले गरेका निर्णय कार्यान्वयनको लागि सबैलाई आव्हान गर्ने पनि निर्णय भएको छ ।

बैठकले देशका विभिन्न स्थानमा अलपत्र पर्यटकलाई तत्काल उद्धार गर्न पर्यटन विभाग र नेपाल पर्यटन बोर्डबाट सम्पर्क समन्वय गर्ने, हेलिकप्टरबाट उद्धार उडान गर्दा नियमित एवं सहुलियत शुल्कमा नै गर्ने व्यवस्था मिलाउने, वायुसेवा कम्पनीका हेलिकोप्टर र र्याफ्टिङ एशोसिएसनका जनशक्ति तथा उपकरणलाई अधिकतम परिचालन गर्ने गरी तयारी अवस्थामा राखे र र्याफ्टिङ सम्बन्धी संस्थाले उद्धारमा गरेको प्रसंसनीय कार्यलाई निरन्तरता दिने निर्णय भएको छ ।

यस्तै नेपालका सबै विमानस्थल सञ्चालनयोग्य अवस्थामा नै रहेको हुँदा मौसमको अनुकूलता हुने बित्तिकै अन्तर्राष्ट्रिय र आन्तरिक उडानलाई अधिकतम क्षमतामा सुचारु गर्ने, मौसम तथा उडान सम्बन्धी पूर्व सूचनालाई सर्वसाधारणको जानकारीको लागि निरन्तर प्रवाह गरिराखे, होटल एसोसिएसन अफ नेपालले अतिरिक्त समय बस्नुपर्ने बाध्यताका पर्यटकलाई होटल एवं डाइनिङ सेवा सहुलियत एवं नियमित शुल्कमा नै सहज ढंगबाट प्रदान गर्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।

साथै सबै सरोकारवाला निकायलाई जोखिम व्यवस्थापनका लागि तयारी एवं सतर्क अवस्थामा रही मन्त्रालयसँगको निरन्तर सम्पर्क र समन्वयमा रहन अनुरोध गर्ने निर्णय पनि भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर