बाढी पहिरोपछिको सिन्धुपाल्चोक : ११ जनाको मृत्यु, दुई पुल बगायो – Nepal Press

बाढी पहिरोपछिको सिन्धुपाल्चोक : ११ जनाको मृत्यु, दुई पुल बगायो

सिन्धुपाल्चोक । अविरल वर्षा पछि आएको पहिरोमा परी हालसम्म सिन्धुपाल्चोकमा ११ जनाको निधन भएको छ ।

सुनकोशी गाउँपालिका मा दुई,लिसंखु पाखर मा पाँच र जुगल गाउँपालिकामा चार जनाको निधन भएको हो ।

सुनकोशी गाउँपालिका–४ चिहानेमा रहेको सिन्धु बिच रिसोर्टमा माथिबाट आएको पहिरोले रिसोर्टको भवन पुर्दा दुई जनाको मृत्यु भएको छ ।

रिसोर्टमा रहेका अन्य १५ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै लिसंखु पाखर गाउँपालिका–३ मा छुट्टा छुट्टै घटनामा परी पाँच जनाको ज्यान गएको छ । लिसंखु पाखर–३ का वडा अध्यक्ष काजीबाहादुर लामा र उनको श्रीमती सुन्तली तामाङको पहिरोले पुरिएर निधन भएको छ ।

सोही वडाको आलोङ गुङम्राङमा पहिरोले घर बगाउँदा स्थानीय विद्यालयको शिक्षिका तिर्सना मोक्तान र उनको छोराछोरीको मृत्यु भएको लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले जानकारी दिए ।

जुगल गाउँपालिका–१ कुनीगाउँमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा घर भित्र रहेका चित्र मिजार, कान्छी मिजार, अविनाश नेपाली र अभिनाशको छोरा नाम नखुलेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पहिरोले मात्रै होइन सुनकोशी र अन्य सहायक नदीहरूले सिन्धुपाल्चोकमा व्यापक क्षति गरेको छ । नेपाल चीन सीमा जोड्ने लार्चामा रहेको बेलिब्रिज बगाएको छ ।

त्यस्तै लिपीङ खोलामा रहेको पुलमा समेत ठुलो क्षति बनाएको छ । मुख्य राजमार्ग र सहायक मार्गहरु पूर्णरुपमा बन्द भएका छन्। प्रत्येक गाउँमा पहिरोले क्षति बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *