लुम्बिनीमा बाढीपहिरोको वितण्डा, रुपन्देहीमा २ वेपत्ता, २० परिवार विस्थापित – Nepal Press

लुम्बिनीमा बाढीपहिरोको वितण्डा, रुपन्देहीमा २ वेपत्ता, २० परिवार विस्थापित

रुपन्देही । लुम्बिनी प्रदेशका विभिन्न स्थानमा बाढी र पहिरोबाट २ जना वेपत्ता भएका छन् भने २० परिवार विस्थापित भएका छन् । रुपन्देहीमा एउटा बलेरो जिपसहित दुई जना वेपत्ता भएका भएका छन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाबाट दुध संकलन गरेर भैरहवा आउँदै गरेको भे १ च २६७६ नम्वरको बलेरो जिपसहित उक्त जिपका चालक र सहचालक बेपत्ता भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । पहाडी ६ जिल्लाका ५० भन्दा बढी सडकमा पहिरोले क्षति पुर्‍याएको छ ।

लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीका अनुसार गुल्मीका रिडी तम्घास सडक, रिडी रुद्रवेणी वामीटक्सार सडक, तम्घास छल्दी सिमलटारी सडक, अर्घाखाँचीको सन्धिखर्क गोरुसिंगे सडक, तम्घास सन्धिखर्क लगायतका सडकमा पनि दर्जनौं पहिरो गएका छन् । लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार पाल्पाको तानसेन नगरपालिका, रैनादेवी र बगनासकाली गाउँपालिकाका २० घरका ८० जना विस्थापित भएका छन् ।

पहिरोका कारण सबैभन्दा बढी पाल्पामा विस्थापित भएका छन् । लुम्बिनीका १२ जिल्लामध्ये पाल्पामा सबैभन्दा बढी वर्षा भएको छ । जल तथा मौसम विभागले पाल्पाका विभिन्न चार स्थानमा राखेको मापन केन्द्रको रेकर्ड अनुसार शुक्रबार र शनिबार गरेर पाल्पामा ३ सय ५० मिलिमिटर बढी वर्षा भएको देखाएको छ । लगातारको वर्षाले पाल्पाको तानेसने नगरपालिका–५ कैलाशनगरमा मात्र ९ घर परिवार विस्थापित भएका छन् ।

त्यस्तै गुल्मीको छत्रकोट गाउँपालिका–२ मा ३ घर र रोल्पाको त्रिवेणी गाउँपालिका–६ मा एक घर विस्थापित भएको पनि मन्त्रालयले जनाएको छ । अर्घाखाँची, प्यूठान र रुकुम पूर्वमा पनि पहिरोले क्षति पुर्‍याएको र विवरण संकलन गर्ने कार्य भइरहेको मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले बताए ।

त्यस्तै लगातारको झरीले लुम्बिनी प्रदेशका सबै पहाडी जिल्लाका अधिकांश सडक अबरुद्ध भएका छन् । सिद्धार्थ राजमार्ग, कालीगण्डकी करिडोर, मदन भण्डारी लोकमार्ग, रोल्पाको सहिद मार्ग लगायतका ठूला सडकमा यातायात अबरुद्ध भएको छ । पहिरोले सडक अबरुद्ध भएका छन् ।

लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पाको त्रिबेणी गाउँपालिकास्थित सहिद मार्ग पनि पहिरोले पूर्ण रुपमा अवरुद्ध भएको छ । त्यस्तै, गुल्मीको छत्रकोट गाउँपालिकाका विभिन्न ठाउँमा गएको पहिरोले रिडी तम्घास सडक खण्ड पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । धार्मिक क्षेत्र रिडी कालीगण्डकीमा पानीको बहाव बढेपछि जलमग्न भएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका९२ बासखोलामा ९ वटा घर भत्किएका छन् ।

अविरल वर्षाका कारण एउटै गाउँका घर भत्किएका हुन् । यसैगरी सुस्तामा नारायणी नदीको बाँध (तटबन्ध) भत्किएर बाढी पसेको छ ।
शनिबार अपरान्हबाट पानी केही कम भएको छ भने केही मुख्य सडकहरु एकतर्फी रुपमा खुलेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर