नागढुंगा-नाैबिसे खण्डमा पहिराेमा च्यापिएर मृत्यु हुने १४ जना अधिकांश बुटवलका – Nepal Press

नागढुंगा-नाैबिसे खण्डमा पहिराेमा च्यापिएर मृत्यु हुने १४ जना अधिकांश बुटवलका

रूपन्देही । नागढुंगा-नौबिसे सडक खण्डमा आएको पहिरोमा ज्यान गुमाएका १४ जनामध्ये बुटवलबाट चढेका १३ जना परेका छन् । उनीहरू गएकाे लु १ ज ४५७८ नम्बरको गाडी पहिराले च्यापिँदा उक्ता गाडीमा रहेका १४ जनाकाे मृत्यु भएको हाे ।

ज्यान जानेमा जिप चालक बुटवलका रमेश लुईटेल रहेकाे पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले जानकारी दिए । इलाका प्रहरी कार्यालय धादिङ र नागढुंगा प्रहरी प्रभागका अनुसार बुटवलबाट काठमाडौं जाँदै गरेको माइक्रो गाडीबाट ती शव निकालिएको हो ।

१३ जनाले बुटवलबाट टिकट लिएको र १ जना नारायणगढबाट चढेका यात्रु हुन सक्ने खरेलले बताएका छन् । लु १ ज ४५७८ नम्बरको उक्त गाडी शुक्रबार बिहान बुटवलबाट छुटेको थियो । गाडी शुक्रबारै राती पहिरोमा पुरिएको र समयमा उद्दार नभएकोले सबैकाे ज्यान गएकाे खरेलले बताएका छन् ।

बुटवलबाट १३ यात्रु लिएर हिँडेको उक्त गाडीका यात्रु र चालक गरी १४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । पश्चिम नेपाल बस व्यवसायी प्राली बुटवलका टिकट शाखाका कर्मचारी लक्ष्मण कार्कीका अनुसार उक्त गाडी रमेश लुइँटेलले चलाएर लगेका थिए । पश्चिम नेपाल बस  व्यवसायी प्रालीका अनुसार शुक्रबार बिहान काठमाडौं जानका लागि बुटवलको ट्राफिक चोकमा रहेको काउण्टरबाट १० जना र राजमार्ग चौराहबाट टिकट लिएर ३ जना चढेका थिए ।

यात्रुले नाम नलेखाई समूहमा चढेका कारण टिकट काउन्टरबाट चलानी सिटमा ४ जनाको मात्रै नाम उल्लेख गरिएको छ । ती मध्ये बोम कार्की र प्रकाश कुंवर मात्रै उल्लेख गरिएको छ भने एक जनाको मोबाइल नम्वर मात्रै उल्लेख छ । पश्चिम नेपाल बस व्यवसायी प्रालीका टिकट शाखाका कर्मचारी लक्ष्मण पोखरेलका अनुसार कालिकानगरका ३ जना, देवीनगरका ३ जना र सुख्खा नगरका ३ जना यात्रु रहेका थिए । उनीहरुको अझै सनाखत हुन सकेको छैन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *