रोशी क्षेत्रमा २ हजार भन्दा बढी यात्रु अलपत्र, महिला र बालबालिका बिरामी पर्न थाले (भिडिओ) – Nepal Press

रोशी क्षेत्रमा २ हजार भन्दा बढी यात्रु अलपत्र, महिला र बालबालिका बिरामी पर्न थाले (भिडिओ)

काठमाडौं । हिजोको रोशी खेलाको बाढीले सडक र पुलहरू भत्काएपछि बिपी राजमार्गमा हजारौँ यात्रु अलपत्र परेका छन् ।

दशैंको बेला काठमाडौंबाट गाउँतर्फ गएका र गाउँबाट काठमाडौं आएका दुवै थरी यात्रु रोशीको वडा नम्बर ६ डम्फुपार्क क्षेत्रमा अलपत्र परेको रामेछापको लिखुतामाकोशी गाउँपालिका १ का वडाध्यक्ष प्रदीप तामाङले नेपाल प्रेसलाई जानकारी दिए ।

उनले आफू पनि डम्फुपार्क क्षेत्रमै २ दिनदेखि अलपत्र रहेको बताए ।

उनका अनुसार मूलकोट, नेपालथोक, मंगलटार लगायत रोशी क्षेत्रमा २ हजारभन्दा धेरै यात्रुहरू उद्धारको पर्खाइमा छन् ।

विभिन्न बाटोबाट पैदल हिँड्न खोज्दा पहिरो र ढुंगा लागेर केही घाइते भएका छन् ।

डम्फुपार्क क्षेत्रमा २ दिनदेखि सुरक्षाकर्मी पुग्न सकेका छैनन् ।

अत्यावश्यक खानेकुरा पिउने पानीको अभावमा बालबालिका र महिलाहरू बिरामी परेका छन् । र केहीको अवस्था गम्भीर भइसकेको तर उपचार गराउन लैजान ठाउँ नभएका वडाध्यक्ष तामाङले बताए ।

उनले हेलिकप्टर तथा अत्यावश्यक उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् ।

भकुण्डेबेसी भन्दा उता सबै सडक सञ्चालनमा छैनन् । आपत्कालीन उद्धारको आवश्यकता रहेको स्थानीयले बताएका छन् ।

विभिन्न ठाउँमा अलपत्र रहेका यात्रुको उद्धारका लागि शनिवारबाट नै हेलिकप्टर लैजाने तयारी अवस्थामा रहे पनि मौसमले साथ नदिएकाले सम्भव हुन सकेन ।

आज पनि औषधि र अन्य अत्यावश्यक सामग्रीसहित हेलिकप्टर तयारी अवस्थामा रहेको प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार किरण पौडेलले बताएका छन् । उनले मौसमका कारण रोकिएका हेलिकप्टर तत्काल पठाउने तयारी भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर