रोशीको विनाशमा को जिम्मेवार ? गोकुल भन्छन्- पानी र खानी सँगै हुन्न भनेर संसदमै विरोध गरेको हुँ – Nepal Press

रोशीको विनाशमा को जिम्मेवार ? गोकुल भन्छन्- पानी र खानी सँगै हुन्न भनेर संसदमै विरोध गरेको हुँ

रोशीको शिर फूलचोकीदेखि पुच्छर तालढुंगासम्म मापदण्डबिनाका २ सय भन्दा बढी क्रसर उद्योग, गेग्रानले नदी सतह माथि आउँदा बाढीले राजमार्ग र बस्ती नै बगायो

काठमाडौं । यसपटकको प्राकृतिक विपत्तिले सबैभन्दा बढी मानवीय र दीर्घकालीन भौतिक पूर्वाधारको क्षति काभ्रेपलाञ्चोकमा भएको छ । बाढी पहिरोको इपिसेन्टर बनेको काभ्रेमा हालसम्म ५५ जनाको मानवीय क्षति भएको छ ।

विशेषगरी रोशीको शिरदेखि पुच्छरसम्म ठूलो क्षति भएको छ । बनेपा, धुलिखेल र पनौतीजस्ता सुगम शहरमा समेत जनधनको क्षति भएको काभ्रेपलाञ्चोक २ का प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्वमन्त्री गोकुल बास्कोटाले बताए ।

बास्कोटाले तत्कालको प्राथमिकता रोशीले राजमार्ग बगाएपछि अलपत्र परेका सर्वसाधारणको उद्धार तथा राहतका लागि हेलिकप्टरको परिचालन नै रहेको बताए । उनले तत्कालै सम्भव हुने पूर्वाधारको मर्मत तथा पुननिर्माण हुनुपर्ने र नसक्ने हो भने सरकारले जनतालाई प्रष्ट पार्न सक्नुपर्ने बताए ।

काभ्रेमा विशेषगरी रोशीको क्षति प्राकृतिकमात्र नभएर मानव सिर्जित भएको बास्कोटाको भनाइ छ । महाभारत क्षेत्रको कमजोर भूभाग र पानीको स्रोत रहेको रोशीको शीरदेखि पुछरसम्म क्रसरका नाममा दोहन गरिएको परिणाम यसपटकको विनाशलीला भएको उनले बताए ।

रोशीको दोहन गर्नेमा शक्तिसाली व्यक्तिहरू नै रहेको र उनीहरूका अगाडि प्रशासनसमेत निरीह बन्दा यो अवस्था आउन सक्ने चेतावनी आफूले पहिले नै पटकपटक प्रशासनका बैठकदेखि स्थानीय तहका कार्यक्रममा समेत दिने गरेको बास्कोटाले बताए ।

सांसद बास्कोटाको भनाइ जस्ताको तस्तै

काभ्रेपलाञ्चोकले यसपटक ठूलो विपत्तिको सामना गर्नुपरेको छ । मानवीय र भौतिक क्षतिको यकिन विवरण अझै पनि संकलन भइरहेको छ । पूर्वाधारमा झनै ठूलो विनाश भयो, यो तत्कालै कति बन्न सम्भव छ ? सरकारले प्रष्ट पार्नुपर्छ । बागमती, मधेश र कोशी प्रदेशको लाइफलाइनसँग जोडिएको विषय भएकाले सरकार गम्भीर बनोस् ।

रोशीले सबैभन्दा ठूलो विनाश गरेको छ । यसमा चाहिँ प्रकृतिलाई मात्र दोष दिने पक्षमा म छैन । मानवीय अत्याचार र अतिक्रमणको परिणाम हो रोशीको विनाशलीला । अनियन्त्रित क्रसर उद्योग समस्याको कारक हुन् । गेग्रिन थुप्रिएर ढलानजस्तो भएपछि नदीको सतह माथि आउने रहेछ । त्यही नदी सतहमाथि आएपछि बाढीले त्यसको दायाँ बायाँ दुवैतिर हान्यो । पक्की घरहरु ढले, सडक बगायो ।

मैले संसदमै पनि एकपटक भनेको थिएँ- पानी र खानी सँगै हुँदैन भनेर । प्रतिनिधि सभाको रेकर्डमा होला, सहरी विकास मन्त्रालय अन्तर्गतको छलफलका क्रममा भनेको हो मैले । रोशीको महाभारत रेन्जलाई संरक्षित क्षेत्र बनाउनुपर्छ, यो भनेको बनेपा,पनौति,धुलिखेल र पाँचखालको समेत एउटा भागको पानीको स्रोत हो ।

रोशीको शीर फुलचोकदेखि पुछरसम्मै २/३ सयवटा क्रसर उद्योग चलाइएका छन् । कुनै मापदण्डविना मनपरी गरिएको छ । एउटा सांसदले आवाज उठाउने हो, त्यहाँ गएर हस्तक्षेप गर्न मिल्दैन । मैले सुने बुझेअनुसार रोशीमा २०२८ सालपछिको सबैभन्दा ठूलो विनाशलीला मच्चिएको छ । हुन त २०३९ मा पनि रोशीमा विनाश भएको थियो तर यो तहको होइन ।

महाभारत रेन्ज उसै पनि कमजोर छ त्यसमाथि क्रसरहरूको मनपरी छ । अनि अर्को कुरा चाहिँ यति धेरै टोले विकासका नाममा बाटो खनिएका छन्, त्यो अर्को कारक बन्यो । तलबाट पनि थर्कियो, माथिबाट थर्कियो । रोशीको शीरदेखि तीरसम्म भनौं न, तालढुंगादेखि फुलचोकीसम्म २,३ सय क्रसर छन् । स्थानीय पालिकाले पनि नियन्त्रण गरेनन् ।

त्यसैले रोशीको बिनाशलाई मैले मुख्यतः चारवटा कारण मानेको छु । पहिलो भनेको मनपरी क्रसर, दोस्रो बढी पानी पर्ने क्षेत्र पनि हो,तेस्रो विकासका नाममा मनपरी डोजर र चौथो चाहिँ माथिल्लो तटीय क्षेत्र पनौतीमा अव्यवस्थित बसोबास ।

अब पूर्वाधारको हिसाबले हामी धेरै पछि पर्ने भयौं । बीपी राजमार्ग तत्काल बन्ला जस्तो लाग्दैन । भकुण्डेबेसीबाट करीव ५ किलोमिटर तल चौकीडाँडादेखि नै राजमार्ग बगाएको छ । सरकारले तत्काल गर्नुपर्ने र योजना बनाएर गर्ने कामको बारेमा ध्यान दिनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *