यतिसम्म क्रुर र पतित थिए नरेश भट्ट, ममता नजिकिन खोज्दा थुक्ने गरेको खुलासा – Nepal Press

यतिसम्म क्रुर र पतित थिए नरेश भट्ट, ममता नजिकिन खोज्दा थुक्ने गरेको खुलासा

धनाढ्य केटी खोजेर विवाह गर्ने प्रयासमा थिए, साथीभाइसँग मागेका थिए सहयोग

काठमाडौं । अमेरिकामा बेपत्ता भएकी नेपाली चेली ममता काफ्ले विगतदेखि नै श्रीमान नरेश भट्टबाट अवहेलना र तिरस्कार झेल्दै आएको खुलासा भएको छ । नरेश भट्टकै नजिकका साथीहरूले मिडियामा आएर उनका अनेक कर्तुतहरु उजागर गरेका छन् ।

नरेशका साथीहरूको सम्पूर्ण कुरा सुन्दा उनले श्रीमतीको हत्या पूर्णरूपमा सचेत मनस्थितिमा र लामो योजना बनाएर गरेको स्पष्ट हुन्छ । चरम पितृसत्तात्मक सोच भएका नरेशले पहिल्यैदेखि उनले ममतालाई दमन र दवदवामा राखेका थिए । ममताको सहनशीलता र धैर्यले मात्रै उनीहरूको सम्बन्ध अहिलेसम्म जोगिएको साथीहरूले बताएका छन् ।

नरेश र ममता दुवैकी मिल्ने साथी मन्दिराका अनुसार नरेशले ममतासँग सम्वन्धविच्छेद नगरिकनै अर्को विवाह गर्ने सोच बनाएका थिए ।

‘उहाँले मसित बारम्बार अर्को विवाह गर्ने भनेर केटी खोजिदिन भन्नुभएको थियो’ मन्दिराले अमेरिका निवासी सञ्चारकर्मी सच्ची मैनालीसित कुराकानीमा भनेकी छन् ।

नरेशले ममतालाई बारम्बार हात हाल्ने र कुट्ने समेत गरेका थिए । एकपटक श्रीमानको अत्याचार सहन नसकेर ममता बाहिर साथीसँग केही समय बसेकी थिइन् । पछि सासू-ससुरा समेत गएर उनलाई फकाएर घर फर्काएका थिए ।

नरेशका अर्का साथी मुकुन्दले नरेशको अर्को घिनलाग्दो हर्कत उजागर गरेका छन् । मुकुन्दका अनुसार श्रीमानबाट बारम्बार कुटाइ खानु परेपछि ममताले एकपटक प्रहरीसमेत गुहारेकी थिइन् । त्यसपश्चात भने नरेशले रणनीति परिवर्तन गरे । घरेलु हिंसामा हुने कारवाहीबाट बच्न उनले ममतालाई कुट्नुको साटो थुक्ने गरेका थिए ।

मुकुन्दले भनेका छन्, ‘हातपात गर्दा घरेलु हिंसाको कारवाहीमा पर्ने भएपछि आफूले थुक्न थालेको कुरा उनले मसितै बताएका हुन् । ममताले पनि हातपात भन्दा थुक सहन सजिलो भनेर यो शर्त स्वीकार गरेकी रहिछन् ।’

ममताले सम्बन्ध जोगाउनका लागि श्रीमानको यस्तो घिनलाग्दो हर्कत सहेर बसेको उनी बताउँछन् ।

‘उहाँले सम्बन्ध विच्छेद टार्नका लागि हरसम्भव कोसिस गर्नुभयो । श्रीमानले उनलाई निरन्तर मानसिक त्रासमा राखिरहे । ममताले सबै सहिरहिन् । ममताले श्रीमानको एकोहोरो आधिपत्य सहेर नबसेको भए पहिल्यै सम्बन्ध टुटिसक्ने थियो,’ मुकुन्दकी पत्नीले पनि भनेकी छन् ।

मुकुन्दका अनुसार पछिल्लो समय श्रीमतीसँग भौतिक सामिप्यता नै रुचाँउदैन थिए नरेश । कहिलेकाहीँ श्रीमानको माया खोजेर ममता नजिकिन चाहिन् भने पनि नरेशले थुक्ने गर्थे । एक वर्षअघि बच्चा जन्मेयता उनीहरुको बेड अलग अलग भएको थियो ।

नरेशको भनाइ उद्धृत गर्दै मुकुन्द भन्छन्, ‘मलाई त्यो केटी मनै पर्दैन । जसलाई म एकचोटि मन पराउँदिन उसलाई आजीवन घृणा गर्छु ।’

नरेशले मुकुन्दलाई पनि आफ्नो लागि अर्को केटी खोजीदिन भनेका थिए । तर, आफूले श्रीमतीसँग सम्वन्ध विच्छेद गरेर मात्रै अर्को विवाहबारे सोच्न सुझाव दिएक मुकुन्दले बताएका छन् ।

आखिर श्रीमान-श्रीमतीको सम्बन्ध बिग्रिएको थियो त ?

मुकुन्द र मन्दिरा दुवैका अनुसार समस्या ममतामा नभएर नरेशमै थियो । सानातिना र सहजै समाधान हुन सक्ने कुराहरुलाई उनी ठूलो इस्यूका रुपमा उछालिरहेका हुन्थे ।

मन्दिरा भन्छिन्, ‘उहाँको प्राय गुनासो चाहीँ आफूले महंगोमा किनेको घर सफा भएन, काम गरेर घर फर्किँदा राम्रो वातावरण भएन भन्ने थियो ।’

ममता पनि फुलटाइम काम गर्थिन् । घर आएर बच्चा हेर्नुपर्थ्यो । अमेरिकामा बस्ने नेपालीले घरेलु कामदार राख्न सक्ने क्षमता राख्दैनन् । त्यसैले दैनिक सरसफाइका लागि फुर्सद पनि नमिल्नु स्वाभाविक भएको मन्दिराको भनाइ छ । तर, नरेशले भने सफाइमा सघाउनुको साटो ममतालाई नै सबै दोष थोपर्थे ।

नरेशको असन्तुष्टिको मुख्य विषय चाहीँ ममतासित आफ्नो स्तर मिलेन भन्ने थियो । गरिब परिवारको केटी भनेर उनी ममतालाई अवहेलना गर्थे ।

‘मसित बिहे नभएको भए यसको अमेरिका आउने हैसियत नै थिएन भन्ने गर्थे,’ मुकुन्दले भनेका छन् ।

नरेशले अर्को बिहेका लागि आफूभन्दा धेरै कमाइ गर्ने केटी खोजिरहेका थिए । त्यस्तो केटी पाएमा आफू जागीरबाट रिटायर्ड लिएर घरमै बच्चा हेरेर बस्न तयार रहेको उनी बताउने गर्थे । एकपटक उनले आफ्नो फेसबुक प्रोफाइलमा वैवाहिक स्थिति ‘सिंगल’ बनाएका थिए ।

ममता मितव्ययी स्वभावकी थिइन् । महंगा बस्तुहरु खरिद गर्न हिच्किचाउँथिन् । ठूलो लोन लिएर घर किनेका थिए नरेशले । श्रीमानलाई आर्थिकरूपमा दबाब नपरोस् भनेर सकेसम्म पैसा जोगाउन खोज्थिन् ममतालाई । तर, नरेशले उल्टै यसलाई पनि नरेशले इस्यू बनाएका थिए ।

मुकुन्द भन्छन्, ‘ममताले सस्तो लुगा किन्ने गरेको, घरको लागि महंगा सामानहरू किन्न हिच्किचाउने गरेको विषयमा पनि उसको असन्तुष्टि थियो ।’

तर, यो सबै देखाउने बहानामात्रै भएको साथीभाइहरू बताउँछन् । उनको खास रणनीति चाहीँ जतिसक्दो चाँडो धनाढ्य केटीसँग विवाह गर्ने थियो ।

`कुकुरको मुत खानुभन्दा हात्तिको मुत खान्छु,´ नरेशले साथिभाइसँग भन्ने गर्थे ।

कतिपयले उनी बाहिर कसैसँग अफेयरमा रहेको अनुमान पनि गरेका छन् । यस्तै अनुमानितमध्ये दुई युवतीसँग प्रहरीले बयानसमेत लिइसकेको छ । तर, नरेशको कोसित अफेयर थियो भन्ने चाहीँ खुलिसकेको छैन ।

नरेशले श्रीमतीलाई पन्छाउने र अर्को विवाह गर्ने विषयमा योजनावद्ध तयारी गरेका थिए । उनले गुगलमा ‘श्रीमती मरेको कति समयमा अर्को विवाह गर्न सकिन्छ ?’ भनेर सर्च गरेको भेटिएको छ । साथै, ‘श्रीमती मरेपछि उनको नामको ऋण के हुन्छ ?’ भनेर पनि उनले गुगल सर्च गरेका थिए ।

नरेशलाई श्रीमती हत्याप्रति अहिले पनि कुनै ग्लानी नरहेको उनीसँग सम्पर्कमा रहेकाहरु बताउँछन् । नरेशले पक्राउ परेर जेल परिसकेपछि बारम्बार साथी मन्दिरालार्ई फोन गर्ने गरेका थिए । आफ्नो बच्चा मन्दिरालाई नै सदाका लागि कस्टडी दिन चाहन्थे उनी । तर, मन्दिराले स्वीकार गरिनन् ।

मन्दिराका अनुसार नरेशले आफू डिसेम्बरसम्ममा जसरी पनि छुट्ने दावी उनीसित गरेका थिए ।

‘मलाई अलिकति पैसा दिएर तिमी मेरो बच्चा राख । बच्चालाई म कुनै पनि हालतमा नेपाल पठाउँदिन । यहाँ अरुलाई दिँदा पछि मैले भेट्न नपाउन सक्छु । तिमीले राख्यौ भने म डिसेम्बरमा छुटेपछि भेट्न पाउँछु,’ नरेशको भनाइ उद्धृत गर्दै मन्दिराले भनेकी छन् ।

नरेशमाथि लाश बेपत्ता पारेको मुद्दा चलिरहेको छ । शव नभेटिएको भन्दै हत्याको मुद्दा दायर भइसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर