हेलिकप्टरबाट १६१ जनाको उद्धार, रोशी क्षेत्रबाट सबैभन्दा बढी (भिडिओ) – Nepal Press

हेलिकप्टरबाट १६१ जनाको उद्धार, रोशी क्षेत्रबाट सबैभन्दा बढी (भिडिओ)

काठमाडौं । आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेका १६१ जनाको सकुशल उद्धार गरेको जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले आज बिहानसम्म काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।

 

शनिबार नै त्यहाँ हेलिकप्टर पठाइए पनि उद्धार गर्न सकिएको थिएन । काभ्रेमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्धार जारी राखेको छ ।

रोशीको बाढीले बिपी राजमार्ग बगाएपछि यहाँ २ दिनदेखि करिब २ हजार अलपत्र थिए । सेनाको हेलिकप्टरले अत्यावश्यक तयारी खानेकुरा तथा पानी उपलब्ध गराएको छ ।

मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । प्रवक्ता तिवारीले बाढीपहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको बताए ।

मन्त्रालयका अनुसार बाढीपहिरो र डुबानबाट हालसम्म १०७ जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन् ।

गृहमन्त्री रमेश लेखकले सुरक्षा संयन्त्र र सरोकारवाला निकायलाई उद्धार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरुद्ध सडक यथाशीर्घ सञ्चालनमा ल्याउन तदारुकपताका साथ लाग्न निर्देशन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर