काठमाडौं क्षेत्रमा उत्पादित ११ ब्रान्डका पानीमा कोलिफर्म भेटियो, बिक्रीमा लगाइयो प्रतिवन्ध – Nepal Press

काठमाडौं क्षेत्रमा उत्पादित ११ ब्रान्डका पानीमा कोलिफर्म भेटियो, बिक्रीमा लगाइयो प्रतिवन्ध

काठमाडौं। काठमाडौं महानगरपालिकाले विभिन्न ११ वटा ब्रान्डका पानी विक्री वितरणमा रोक लगाएको छ ।

परीक्षणपछि पिउन अयोग्य रहेको पुष्टि भएको भन्दै बिक्रीमा रोक लगाइएको महानगरपालिकाले जनाएको छ । भदौ १२-२८ गतेबीच विभिन्न स्थानबाट २१ वटा पानीको नमूना लिइएको थियो । यसबाहेक उपभोक्ताले गुनासो गरेपछि एउटाको नमूना संकलन गरेर काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो ।

यसरी पठाइएका २१ वटा नमूनामध्ये ११ वटामा फिकल कोलिफर्म देखिएको हो । प्रति १ सय मिलिलिटर नमूना परीक्षणमा कोलोनी फर्मिङ् युनिट (सीएफयू) मापदण्ड विपरीत देखिएको छ । कोलोनी फर्मिङ् युनिट (सिएफयु) सुक्ष्मजीवको अवस्था हेर्न प्रयोग गरिने युनिट हो ।

खाद्य पदार्थको अनिवार्य गुणस्तर मापदण्डअनुसार प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ । फिकल कोलिफर्म दिशामा पाइन्छ । दिशामा पाइने सुक्ष्मजीव पानीमा भेटिनुलाई पिउन अयोग्य मानिन्छ ।

जरिवाना र विक्री वितरणमा रोक लगाइएका पानीका ब्राण्डमा व्याच नं. १३ को फ्रेस ड्रप पानीमा फिकल कोलिफर्मको मान २३ कोलोनी फर्मिङ् युनिट (सीएफयू) देखियो । पञ्चरत्न ग्रुपले टोखा नगरपालिका-८ बाट यो पानी उत्पादन गरिरहेको छ ।

व्याच नं. १२ को अक्वा पिसमा ८० र अक्वा टोखाको पानीमा फिकल कोलिफर्मको मान ३० कोलोनी फर्मिङ् युनिट (सीएफयू) देखियो । अक्वा पिस टोखा ८ मा रहेको पिस स्प्रिङ् वाटरले उत्पादन गरेको पानी हो भने अक्वा टोखा, टोखाकै अक्वा एस. एन. एस. वेभरेजले उत्पादन गरिरहेको छ ।

कागेश्वरी मनोहरामा सञ्चालित उत्तरवाहिनी फुड एण्ड वेभरेजद्वारा सञ्चालित व्याच नं. ६ को कोलभोतेश्वर व्राण्डको पानीमा कोलिफर्मको मान ११६ कोलोनी फर्मिङ् युनिट (सीएफयू) छ । यो पानी उत्पादन गरेको हो ।

गोकर्णेश्वरमा सञ्चालित अक्वा सुन्दरी उद्योगले उत्पादन गर्ने अक्वा डिवी, कागेश्वरी मनोहरा- ६ मा रहेको स्नो क्युव ड्रिङ्किङ् वाटरले उत्पादन गर्ने अकुवा, गोकर्णेश्वरमा रहेको स्तुपा इष्डष्ट्रीले उत्पादन गरेको क्युब प्रोसेस ड्रिङिकङ् वाटर र गोकर्णेश्वरमा सञ्चालित मुन लाइट स्प्रिङ् मिनरल वाटरले उत्पादन गरेको अक्वा माइल्ड नामको पिउने पानीमा फिकल कोलिफर्म भेटिएको छ ।

अक्वा कपन र अक्वा गौरशंकरमा पनि कोलिफर्म भेटियो । अक्वा कपन एम. के. मिनरल वाटर उद्योगले बूढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रबाट उत्पादन गर्छ । अक्वा गौरी शंकर, गोकर्णेश्वरमा रहेको कोशी मिनरल उद्योगले उत्पादन गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर