मन्थलीमा अलपत्र पर्यटक र यात्रीको उद्धारका लागि तारा एयरले चार्टर्ड उडान गर्दै – Nepal Press

मन्थलीमा अलपत्र पर्यटक र यात्रीको उद्धारका लागि तारा एयरले चार्टर्ड उडान गर्दै

काठमाडौं । बाढी पहिरोले रामेछापलाई सडक सम्पर्कबाट विच्छेद गरेपछि मन्थलीलगायत ठाउँमा अलपत्र परेका यात्रीको उद्धारका लागि तारा एयरलाइन्सले आजै उद्धार उडान गर्ने भएको छ ।

तारा एयरलाइन्सका ४ वटा जहाज उद्धार उडानका लागि चार्टर्ड गरिएको हो । लुक्लाबाट मन्थलीमा ल्याएर छाडिएका पर्यटक तथा अन्य सर्वसाधारणको उद्धार गरिनेछ ।

बीपी राजमार्गलाई रोशीले बगाएसँगै रामेछाप सडक सम्पर्कबाट विच्छेदको अवस्थामा छ । खुर्कोटको पुलसमेत बगाएका कारण रामेछाप लामै समय सडक सम्पर्क विच्छेदको अवस्थामा रहन सक्ने देखिएको छ ।

वैकिल्पक मार्ग मानिने चरिकोटबाट नयाँपुल हुँदै खिम्तीबाट मन्थली जोड्ने सडक पनि खिम्ती जलविद्युत आयोजनाको किर्नेटारमा तामाकोशीले बगाएपछि उक्त विकल्प पनि सकिएको छ ।
रामेछापको उत्तरी क्षेत्रमा जोड्ने जिरीको मार्गमात्र अब बाँकी रहेको छ ।

रामेछाप जोड्ने मुख्य दुईवटा पक्की पुल सुनकोसी नदीले बगाएको, एउटा पुलमा क्षति पुगेको तथा राजमार्ग पहिरोले बगाएका कारण रामेछापको यातायात सम्पर्क पूर्णरूपमा टुटेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए ।

शनिबार मन्थली विमानस्थलको धावनमार्गमा तामाकोशीको बाढी पसे पनि अहिले विमानस्थलमा कुनै समस्या नरहेको पौडेलले जानकारी दिए । मन्थली विमानस्थलबाट लुक्ला उडान हुने गरे पनि काठमाडौंबाट मन्थली भने यात्रु ओसार्ने गरिएको छैन । आज भने ४ वटा चार्डर उडान गर्न लागिएको तारा एयरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर