लुम्बिनी प्रदेशः बाढीपहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुनर्स्थापनाको कार्य जारी – Nepal Press

लुम्बिनी प्रदेशः बाढीपहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुनर्स्थापनाको कार्य जारी

रुपन्देही । लुम्बिनी प्रदेशमा बाढी र पहिरो प्रभावित एक सय ९ जनालाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पा जिल्लाका बाढी तथा पहिरो प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको हो ।

मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् प्रतिकार्य योजनालाई प्रभावकारी कार्यान्वयन गर्न तीन वटै सुरक्षा निकाय, रेडक्रस, स्वंयमसेवक तथा आम सर्वसाधारण नागरिकहरुमा अपील गरेसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत समुदायका नागरिक बीचको सहकार्यले विपद् प्रतिकार्य योजना कार्यान्वयनमा सहजता आएको हो ।

प्रदेश सरकारको सहजीकरणमा सुरक्षा निकाय र स्थानीय सरकारले विपद्मा परेकाहरुलाई राहत, पुर्नस्थापनाको काम पनि अघि बढाएका छन् ।

बाढी, पहिरोबाट प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको र पुर्नस्थापनाको काम अघि बढेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए। उनका अनुसार बाढी र पहिरोको उच्च जोखिममा रहेका स्थानीयहरुलाई सार्वजनिक भवन, छिमेकी तथा आफन्तको घरमा बसेका छन् ।

नवलपरासी वर्दघाट–२ बासखोलामा ९ जनाको घर बाढीका कारण डुबानमा परेर क्षती भएको छ । स्थानीय कोशबहादुर आले, हरीबहादुर राई, कादर दर्लामी, तोमन सिंह दर्लामी, तिलकुमारी बाह्रघरे, बमबहादुर बाह्रघरे, तिलकबहादुर रुचालको घर तथा गोठमा क्षती पुगेको छ । सुस्ता गाउँपालिका–५ बड्काटोलमा बाढी पसेको छ ।

नारायणी नदीको पानीको वहाव बढ्दा बाँध समेत फुटेर पानी बस्तीमा छिरेको थियो । स्थानीय प्रहरी र समुदायका नागरिकहरुलाई सार्वजनिक भवनमा सारिएको छ । पाल्पा रैनादेवी छहरा–१ का ज्ञानबहादुर कुमालका १२ जनाको परिवारलाई छिमेकीको घरमा सारिएको छ ।

बगनासकाली–६ निवासी देवनारायण बस्यालको घर पूर्णरुपमा बस्न नमिल्ने भएपछी दुई जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ । तानसेन–५ कैलाशनगर सुकुम्वासी टोलमा पहिरो झर्दा ९ वटा घर जोखिममा परेपछी सुरक्षित स्थानमा सारिएको छ ।

रम्भा–३ ज्ञानिसरा चिर्तौरको घर जोखिममा परेपछी ७ जना परिवारका सदस्यलाई छिमेकीको घरमा सारिएको, निस्दि–५ निवासी नरबहादुर खरुको घर जोखिममा परेपछी तीन जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको, रैनादेवि छहरा–१ मनिकला कुमाल, ओमप्रकाश कुमाल, रीता कुमाल, सिमा कुमाल, मालती नेपालीको घर जोखिममा परेपछि ११ जना सदस्यहरुलाई आफन्तको घरमा सारिएको छ ।

माथागढी–७ निवासी लोकमायाँ चुहानको घर जमिन भासिदा जोखिममा परेपछी ७ जना सदस्य पुरानो घरमा बसेको, सोही ठाउँ निवासी हिराबहादुर ढेंगाको घर पनि बस्न नमिल्ने भएपछी ४ जना सदस्य पुरानो गोठमा बसेको जनाइएको छ । रैनादेवी छहरा–१ निवासी कमला गरम्जाको घर पहिरोले पुरिएपछी तीन जना सदस्यलाई आफन्तको घरमा सारिएको छ ।

रीब्दीकोट–४ निवासी मिनप्रसादको घर अगाडि पहिरो खस्दा जोखिम बढेपछि चार जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको हो । पाल्पा तिनाउ–१ निवासी निरज सास्कोटीको घर पहिरोले पुरिएपछि चार जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

गुल्मी छत्रकोट–५ निवासी कृष्ण विकको घरमा क्षति पुगेपछि तीन जनालाई सुरक्षित स्थानमा सारिएको छ । रोल्पा त्रिवेणी–६ धरमखोला निवासी केशरबहादुर वलीको बाख्रा गोठ भत्किएको छ । यस्तै माडी गाउँपालिका–४ बुढागाउँ निवासी गनबहादुर घर्तीको कुखुरा फारममा क्षति पुगेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर