कोशीमा २६ वटा पुलमा क्षति, ७० ठाउँमा सडक बगायो – Nepal Press

कोशीमा २६ वटा पुलमा क्षति, ७० ठाउँमा सडक बगायो

विराटनगर । निरन्तर झरीपछिको बाढी पहिरोले कोशी प्रदेशका ७० ठाउँमा सडक अवरुद्ध भएको छ । त्यसमध्ये २४ स्थानको सडक भने सञ्चालनमा आइसकेको छ ।

प्रदेशमा २६ पक्की र झोलुङ्गे पुलमा क्षति पुगेको छ । क्षतिको विवरण संकलन भइरहेकाले पूरा विवरण आइनसकेको प्रदेश सरकारले जनाएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री तथा सरकारका प्रवक्ता लीलावल्लब अधिकारीले कोशी प्रदेशका ७० वटा सडक अवरुद्ध भएको बताए । अवरुद्ध सडक खुलाउने काम भइरहेको र एक दुई दिन भित्रमा सबै सडक सुचारु हुने अधिकारीले बताए । ७० मध्ये अहिले सम्म २४ वटा सडकको अवरोध खुलिसकेको छ ।

बाढीका कारण उदयपुरको रौता र खोटाङको खोटेहाङ जोड्ने सुनकोशी नदीमा रहेको फोक्सिङटार पक्की पुल बगाएको छ । सो पुलमा पूर्णरूपमा क्षति भएकाले सञ्चालनमा समय लाग्ने अधिकारीले बताए ।

यसैगरी पाँचथरको फिदिममा रहेको हेवा खोलाको बेलिब्रिज पनि बाढीले बगाएको छ । त्यहाँ अर्को बेलीब्रिज हाल्ने तयारी भइरहेको छ । केही दिनमै सो ठाउँमा अर्को बेलिब्रीज हाल्ने उनले बताए । यसै गरी इलाम माइखोलाको पक्की पुल बाढीले बगाएको छ । यसै गरी भोजपुर उदयपुर जोड्ने चुहार पक्की पुलमा पनि बाढीले क्षति पुर्‍याएको छ ।

आन्तरिक मामिला मन्त्रालयका अनुसार इलामका विभिन्न स्थानमा रहेका ३ वटा पक्की पुलमा पूर्ण रूपमा क्षति पुगेको छ ।

त्यसै गरी खोटाङ उदयपुर जोड्ने धाप्लाङ्घाटको झोलुङ्गे पुल बाढीले बगाएको छ । यस्तै भोजपुर चुहारको झोलुङ्गे पुल, आम्चोक ९ जोगेपाथरको झोलुङ्गे पुल खोटाङका विभिन्न स्थानमा रहेका ४ वटा झोलुङ्गे पुल पनि बाढीले बगाएको छ । बाढीले ओखलढुङ्गामा २ वटा झोलुङ्गे पुलमा क्षति प्रदेश सरकारले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार कोशी प्रदेशमा १४ झोलुङ्गे पुल ३ वटा काठे पुल र ९ वटा पक्की पुलमा क्षति पुगेको छ ।

७० स्थानमा सडक अवरुद्ध

अविरल वर्षा पछि आएको बाढी पहिरोका कारण प्रदेशका विभिन्न ७० स्थानमा सडक अवरुद्ध भएका छन् । ती सडकको मर्मतको काम सुरु भइसकेको छ । २४ स्थानको सडकको अवरोध खुलिसकेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीम दाहालले बताए । उनले अझै ४६ स्थानका सडकको अवरोध खुल्न बाँकी रहेको बताए ।

कोशी प्रदेशमा १० वटा प्रहरी चौकीमा बाढी पहिरोले क्षति पुर्‍याएको छ । भौतिक पूर्वाधार मन्त्रालय कोशीका सचिव अशोक कुमार साहाले अवरुद्ध सडक सञ्चालनका लागि काम सुरु भइसकेको बताए । उनले सडक मर्मतका लागि आवश्यक जनशक्ति र पूर्वाधारको व्यवस्था प्रदेश सरकारले गर्ने बताए । बाढी र पहिरोका कारण कोशी प्रदेशमा ७२ वटा घर प्रभावित भएका छन् ।

ती घरमा बस्ने २७५ जना पूर्णरूपमा प्रभावित भएका छन् । प्रदेशमा बाढी र पहिरोका कारण १६ वटा घरमा पूर्ण रूपमा क्षति पुगेको छ । बाढी र पहिरोका कारण कोशी प्रदेशमा अहिले सम्म १६ जनाको ज्यान गएको छ । पछिल्लो विवरण अनुसार कोशी प्रदेशमा १० जना घाइते भएका छन् । ७ जना अझै बेपत्ता छन् । उनीहरूको खोजी र उद्धारका लागि सुरक्षाकर्मी र स्वमसेवी परिचालन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर