श्रीलंकाको राजनीतिक वंशभन्दा बाहिरकी प्रथम महिला प्रधानमन्त्री डा. हरिनी को हुन् ? – Nepal Press

श्रीलंकाको राजनीतिक वंशभन्दा बाहिरकी प्रथम महिला प्रधानमन्त्री डा. हरिनी को हुन् ?

काठमाडौं । गत मंगलबार श्रीलंकाले नयाँ प्रधानमन्त्री पायो । साढे दुई दशकमा श्रीलंकाले पाएको प्रथम महिला प्रधानमन्त्री हुन डा. हरिनी अमरासुरिया । राष्ट्रपतिमा सोमबार शपथ लिएसँगै अनुरा कुमारा दिसानायकेले हरिनी अमरासुरियालाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ५४ वर्षकी हरिनीको बारेमा अहिले धेरैलाई चासो छ ।

अनुराको गठबन्धन राष्ट्रिय जनशक्ति (एनपीपी) गठबन्धनबाट प्रधानमन्त्री भएकी छन् हरिनी । एनपीपी श्रीलंकाका राजनीतिक तथा गैरराजनीतिक २१ संस्थाको गठजोडमा बनेको गठबन्धन हो । गठबन्धनको आधिकारिक वेबसाइटमा जनाइएअनुसार गठबन्धनमा अनुराको दल जेभीपी, नागरिक समाज, महिला समूह, चिकित्सक समूहलगायत छन् ।

यो सामग्रीमा मंगलबार प्रधानमन्त्री भएकी हरिनी अमरासुरियाको सामान्य चर्चा गरिएको छ ।

वंशज राजनीतिभन्दा बाहिरबाट आएकी प्रथम महिला प्रधानमन्त्री

Pics. srilankamirror.com

हरिनी श्रीलंकाकी तेस्रो महिला प्रधानमन्त्री हुन् । उनीभन्दा अगाडि विश्वकै प्रथम महिला प्रधानमन्त्री बनेकी थिइन् सिरिमाभो बन्दरानाइके । श्रीलंकाली संसदको तथ्यांकअनुसार उनी सन् १९६० जून २१ बाट सन् १९६५ मार्च २५ सम्म प्रधानमन्त्री भएकी थिइन् । उनका श्रीमान तथा तत्कालीन प्रधानमन्त्री एसडब्ल्यूआरडी बन्दरानाइकेलाई सन् १९५९ सेप्टेम्बरमा हत्या गरिएको थियो । त्यसपछि उनी प्रधानमन्त्री भएकी थिइन् ।

त्यसपछि उनी सन् १९७० बाट १९७७ सम्म फेरि प्रधानमन्त्री भइन् । यस्तै उनी १९९४ बाट सन् २००० सम्म फेरि प्रधानमन्त्री बनिन् । सन् १९९४ अगस्त १९ बाट नोभेम्बर १२ सम्म प्रधानमन्त्री थिइन् सिरिमाओ बन्दरानाइकेकी छोरी चन्द्रिका कुमारातुङ्गा ।

बन्दरानाइके वंशबाट दुई आमाछोरी प्रधानमन्त्री भएको रेकर्ड बनेको श्रीलंकामा अहिले पहिलो पटक राजनीतिक वंशभन्दा बाहिरबाट प्रधानमन्त्री बन्न पुगेकी छन् हरिनी । चार सदस्य क्याबिनेट बनाइएकाले उनको जिम्मेवारी धेरै मन्त्रालयहरुमा भएको विभिन्न मिडियाहरुले लेखेका छन् । उनले शिक्षा, न्याय, व्यापार, उद्योग, स्वास्थ्य आदि मन्त्रालयहरु पाएकी छन् ।

वंशज राजनीतिबाट आएकाहरु म्हिला प्रधानमन्त्री भएको इतिहासमा उनले भने आफैं परिवारको पहिलो राजनीतिक अनुहार भएको उदाहरण पेश गरेकी छन् । श्रीलंकाली समाचार पोर्टल आदादेरानाका अनुसार उनी चिया कृषक पिता तथा गृहिणी माताकी छोरी हुन् ।

श्रीलंकाली सदनका ११ महिलामा समानुपातिक सांसद हरिनी

उसो त अहिले श्रीलंकाली नवौं संसद विघटन भएर नयाँ चुनावको घोषण भइसकेको छ, तर त्यही पछिल्लो संसदका ११ महिला सांसदमध्ये एक थिइन् हरिनी । उनी समानुपातिक सांसद थिइन् । समानुपातिक सांसद भएर उनले श्रीलंकाली सदनका काममा २६९ दिन उपस्थित भइन् भने १२० दिन गयल भएको संसदीय रेकर्ड छ ।

उनी सांसदभन्दा भिन्न अभियानकर्मी पनि हुन् । श्रीलंकाको खुला विश्वविद्यालयको समाज अध्ययन विभागकी लेक्चरर पनि हुन्, तर उनले सन् २०२१ बाट पूर्णकालीन राजनीति सुरु गरेको विमिन फर पलिटिक्सलाई दिएको एक अन्तर्वार्तामा बताएकी छन् ।

भारत, अस्ट्रेलियादेखि बेलायतसम्म पुगेर उच्च शिक्षा लिएकी हरिनी

हरिनीले आफ्नो अध्ययनलाई श्रीलंका बाहिर भारत तथा बेलायतसम्म लगेकी छन् । भारतको दिल्ली विश्वविद्यालयबाट समाजशास्त्र अध्ययन गरेकी उनले स्नातकोत्तर कक्षा अस्ट्रेलियाको म्याक्वारी विश्वविद्यालयबाट मानवशास्त्रमा लिइन् । यस्तै विद्यावारिधि मानवशास्त्रमा बेलायतको एडिनबर्ग विश्वविद्यालयबाट गरेकी थिइन् । भारतीय मिडिया हिन्दूस्तान टाइम्सका अनुसार शैक्षिक क्षेत्रबाट प्रधानमन्त्री हुने हरिनी प्रथम श्रीलंकाली प्रधानमन्त्री भएकी छन् ।

उनलाई भारतको दिल्ली विश्वविद्यालयको हिन्दू कलेजकी प्राचार्यले बधाई दिएकी छन् । भारतीय अखबार इकोनोमिक टाइम्सका अनुसार सन् १९९१ बाट सन् १९९४ सम्म उनले उक्त कलेजमा पढेको भन्दै कलेजकी प्राचार्य अञ्जु श्रीवास्तवले भनेकी छन्, ‘यो हाम्रो सौभाग्य हो कि हिन्दू कलेजकी एक पूर्वविद्यार्थी श्रीलंकाको प्रधानमन्त्री हुनुभएको छ ।’

श्रीलंकामा के छ हरिनीबारेको बुझाइ ?

हरिनीलाई श्रीलंकामा सामाजिक न्यायको क्षेत्रमा काम गर्ने अनुहारको रुपमा चिनिन्छ । उनलाई शिक्षा क्षेत्रमा काम गर्ने अनुहारको रुपमा पनि हेरिन्छ । श्रीलंकाली मिडिया आउटलेट न्यूजवायरका अनुसार हरिनीलाई अधिकारकर्मी तथा लेक्चररको रुपमा धेरैले चिन्छन् ।

श्रीलंकाको १६औं प्रधानमन्त्री भएकी हरिनीबारेमा के छ बुझाइ भन्ने प्रश्नमा श्रीलंकाकी पत्रकार तथा हिरिनीलाई नजिकबाट नियालेकी नभोदया जयविक्रमाले श्रीलंकाको सदनमा पुग्ने महिलाहरुमा सबैजसोले श्रीमान, दाजुभाइ तथा बाबुको प्रभावले जाने गरेकोमा हरिनीले आफ्नै पौरखले पुगेको बताइन् । उनले हरिनी अनुराको दल जेभीपीको सदस्य नभए तापनि सन् २०१९ बाट बनेको एनपीपी गठबन्धनमा उनी सक्रिय भएको र शिक्षा नीति बनाउन सक्रिय भएको बताइन् ।

सन् २०२० को चुनावबाट ‘राष्ट्रिय सूची’बाट संसदमा पुगेकी हरिनीले महिला, बालबालिका र समाजका मुद्दाहरु उठाएको नभोदया बताउँछिन् । ५२ प्रतिशत महिलाको जनसंख्या भएको श्रीलंकामा बनेको एनपीपी गठबन्धनको कार्यक्रममा महिलाहरुलाई ल्याउन सफल उनै हरिनी भएको नभोदया बताउँछिन् ।

उनी भन्छिन्, ‘म उनलाई शिक्षा क्षेत्रका पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेर छिटो प्रगति गर्ने महिलाको रुपमा लिन्छु । विश्वविद्यालयको प्राध्यापकको रुपमा राजनीतिमा उनको प्रगति तारिफयोग्य छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर