काठमाडौं बाहिर बर्दघाटमा बन्दै ट्रमा सेन्टर, स्वास्थ्यमन्त्री र सांसद विनोद चौधरीले गरे शिलान्यास – Nepal Press

काठमाडौं बाहिर बर्दघाटमा बन्दै ट्रमा सेन्टर, स्वास्थ्यमन्त्री र सांसद विनोद चौधरीले गरे शिलान्यास

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानीमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र सांसद विनोद चौधरीले संयुक्त रुपमा ट्रमा सेन्टरको सिलान्यास गरेका हुन् ।

१२ करोड ३४ लाख रुपैयाँ लागतमा संघ सरकारबाट निर्माण शुरु भएको सेन्टर डेढ बिघा बढी क्षेत्रफलमा बन्नेछ । १५ बेड क्षमताको भवन शिलान्यास गर्दै मन्त्री पौडेलले विशिष्टिकृत सेवाहरु विस्तार गर्ने सोच आफूहरुको रहेको भन्दै प्रदेशस्तरमा रहेका प्रादेशिक अस्पतालहरुबाट संघीय राजधानीमा उपलब्ध सेवाहरु विस्तार गर्ने प्रयास थालिएको बताए ।

क्यान्सर उपचार सेवा सातै प्रदेशमा भएको उल्लेख गर्दै मन्त्री पौडेलले क्रमैसँग मुटु, मृगौलालगायतका उपचारहरुसमेत विस्तार गर्ने लक्ष्य रहेको बताए ।

स्वास्थ्य बीमामा सुधार आफूहरुको प्राथमिकतामा रहेको भन्दै मन्त्री पौडेलले छरिएर हुने स्वास्थ्य क्षेत्रको खर्च एकीकृत गरेर स्रोतसमेत थप्ने अवस्थामा हरेक नागरिकलाई ५ लाख बराबरको स्वास्थ्य बीमा सुविधा दिन सकिने बताए ।

आम नागरिकलाई सहज होस् भन्नका लागि बीमा सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौं, मन्त्री पौडेलले भने, यसलाई सुधार्न सकियो भने सबै नागरिकलाई बीमामा आकर्षित गर्न सकिन्छ भन्ने विश्वास छ ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचित भएसँगै सेन्टर खोल्ने चाहना राखेकामा अघि बढ्न सफल भएको भन्दै सघाउने संघीय सरकारलगायत सबैप्रति आभार प्रकट गरे ।

शहरी विकास मन्त्रालय अन्तर्गतको सघन सहरी तथा भवन निर्माण योजना, चितवनले ठेक्का आह्वान गरेको थियो । १५ करोड बजेट लागतको बहुवर्षीयय ठेक्का अन्तर्गत एक्सिस एसियन कम्पनी, जनकपुरले निर्माणको ठेक्का पाएको हो ।

नवलपरासी–१ बाट निर्वाचत प्रतिनिधिसभा सदस्य एवं कांग्रेसका नेता विनोद चौधरीले ट्रमा सेन्टर निर्माणलाई प्राथमिकतामा राख्दै आएका थिए । चिसापानी अस्पतालमा ट्रमासहितको सुविधा सम्पन्न एकीकृत अस्पताल सञ्चालन गर्ने सांसद चौधरीको प्रतिवद्धता अनुसार अहिले ट्रमा सेन्टरले पनि मूर्त रुप लिन लागेको हो ।

अर्थ मन्त्रालयबाट माघ १७ गते १५ करोड रुपैयाँको बहुवर्षीय ठेक्का तथा श्रोत सुनिश्चितताको स्वीकृति प्राप्त भएको हो । निर्वाचनका बेला सांसद चौधरीले चिसापानी अस्पतालको सेवा विस्तारसँगै विशिष्टिकृत सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने प्रतिवद्धता गरेका थिए ।

आव २०८२/८३ सम्ममा निर्माण कार्य सम्पन्न हुने सो अस्पताल सघन सहरी तथा भवन निर्माण आयोजना, चितवनले निर्माण कार्य अगाडि बढाउने सरकारले जनाएको छ ।

‘चिसापानी अस्पतालमा ट्रमा अस्पतालको निर्माण कुनै पनि हालतमा हुन नदिन विभिन्न पक्षहरुबाट थुप्रै अवरोधहरु भए पनि माननीय विनोद चौधरी र बर्दघाटका मेयर शम्भुलाल श्रेष्ठ, वडा अध्यक्ष गणेश क्षेत्री तथा समाजसेवी याम बहादुर थापाजस्ता व्यक्तित्वहरूले काँधमा काँध मिलाएर निरन्तर रूपमा लाग्नुभयो’, स्थानीयले भने ।

अस्पताल निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापनका लागि पनि थुप्रै अवरोध भएको थियो । लामो मेहिनेतपछि राष्ट्रिय आवास कम्पनीका नामको जग्गा दीर्घकालीन भाडामा लिने सहमति हुँदा पनि अवरोध गर्न खोजिएको तर सबैको पहलमा जगा प्राप्तिको काम सम्पन्न भएको बर्दघाट नगरपालिकाकै अधिकारीहरु बताउँछन् । उनका अनुसार श्रोत सहमतीदेखि डिजायन, इस्टिमेटको स्वीकृतिको प्रकृयामा पनि अवरोध गर्न खोजिएको थियो ।

ट्रमा अस्पताल सञ्चालनपश्चात् पूर्वपश्चिम राजमार्गमा हुने सवारी दुर्घटना तथा स्थानीय तहमा हुने दुर्घटना लगायत सबै प्रकारका विरामीहरुले सहज उपचार पाउने छन् । सांसद चौधरीले चिसापानी अस्पताललाई यो क्षेत्रकै उत्कृष्ट सेवा प्रदान गर्ने अस्पतालका रुपमा अगाडि बढाउने योजना बनाए ।

चौधरी फाउण्डेसनको सहयोगमा अस्पताललाई विशिष्टिकृत सेवा दिने अस्पतालका रुपमा विकास भइरहेको छ । फाउण्डेसनकै सहयोगमा अस्पतालमा सीजी सबल केन्द्र (कृत्रिम हातखुट्टा सेवा परियोजना) सञ्चालनमा छ । यो सेवा नागरिकले निःशुल्क प्राप्त गर्नेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर