छैटाैं नम्बरमा कुशल भुर्तेलको प्रयोग, आसिफको जोडी अनिल – Nepal Press

छैटाैं नम्बरमा कुशल भुर्तेलको प्रयोग, आसिफको जोडी अनिल

काठमाडौं । झन्डै साढे तीन वर्षयता नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ओपनिङ ब्याट्सम्यानका जोडी हुन् कुशल भुर्तेल र आसिफ शेख । यो जोडी नेपाली क्रिकेटमा निकै सफल रहँदै आएको थियो ।

तर नेपाली टोलीले अहिले क्यानडा भ्रमणका क्रममा नयाँ प्रयोग गरिरहेको छ । विश्वकप लिग–२ को शृंखलामा पहिलो खेलपछि कुशल प्लेइङ सेटमा परेनन् । उनको स्थानमा अर्जुन साउदलाई आसिफको जोडी बनाएर पठाइएको थियो ।

विगतमा माथिल्लो क्रममा ब्याटिङमा पठाइने गरिएका अनिल शाहलाई मध्यक्रममा झारिएको थियो । नेपालले यो शृंखलाका सुरुका तीनवटै खेलमा हार व्यहोर्यो भने चौथो खेल वर्षाका कारण रद्ध भयो । अवसर पाएका खेलमा अर्जुनले राम्रो प्रदर्शन गर्न सकेनन् । अर्का ओपनर आसिफ पनि लय बाहिर देखिए । मध्यक्रममा अवसर पाएका अनिलको प्रदर्शन पनि बिर्सनलायक रह्यो ।

विश्वकप लिग–२ को अमेरिका शृंखला खेल्न जानुअघि नेपालले अहिले क्यानडामा त्रिकोणात्मक टी–२० शृंखला खेल्दै छ। शनिबार भएको खेलमा नेपालले एक सय २४ रनको लक्ष्य पनि पुरा गर्न सकेन । विश्वकप लिग–२ को शृंखलामा पहिलो खेलपछि टोलीमा नपरेका कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल तीनै जना यो खेलमा अँटाएका थिए ।

प्रशिक्षक मन्टी देशाईले भुर्तेललाई ठाउँ त दिए तर ओपनरका रुपमा हैन । उनलाई छैटौँ नम्बरमा उतारियो। एकदिवशीय शृंखलामा छेटौँ/सातौँ नम्बरमा ब्याटिङ गर्न आएका अनिल शाहलाई टी–२० शृंखलामा आसिफको ओपनिङ जोडी बनाइयो । यो जोडीले पहिलो खेलमा निराशाजनक प्रदर्शन गर्यो । अनिल ९ र आसिफ ८ रन जोडेर आउट भएका थिए ।

कुशल भुर्तेलले पनि ७ रन बनाए । टिममा पुनरागमन गरेका कुशल मल्लले १२ र दीपेन्द्रसिंह ऐरीले ६ रन जोडेका थिए । ओमानविरुद्ध आइतबार भएको खेलमा टोलीमा एक खेलाडी परिवर्तन गरियो ।

सोमपाल कामीको स्थानमा गुल्सन झा ल्याइयो । गुल्सन लयमा रहेपनि उनलाई पहिलो खेलमा ठाउँ दिइएको थिएन । ओमानविरुद्ध नेपालले समग्रमा राम्रो प्रदर्शन गरे । आशा गरिएका ब्याट्सम्यान अधिकांशको प्रदर्शन उल्लेख्य रह्यो ।

२७/२७ रन जोडेका अनिल र आसिफले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए। कुशल मल्लले ३०, कुशल भुर्तलले २०, गुल्सन झाले ४० र दीपेन्द्रसिंह ऐरीले १८ रन जोडेपछि नेपालले एक सय ७७ रनको लक्ष्य दिएको थियो । देव खनाल र रोहित पौडेल भने २/२ रन जोडेर आउट भएका थिए ।

९७ रनमा ५ विकेट गुमाएको अवस्थामा कुशल भुर्तेलले गुल्सनसँग ४.३ ओभरमा ६१ रनको साझेदारी गरे । आक्रामक ब्याट्सम्यानको छवि बनाएका कुशल संयमित भएर खेले । उनले विस्फोटक ब्याटिङ गरिरहेका गुल्सनलाई स्ट्राइक दिएर खेलेका थिए ।

कुशलले १७ बलमा एक छक्का र एक चौका प्रहार गरे। १७ बल खेलेका गुल्सनले ३ छक्का र तीन चौका प्रहार गरेका थिए । दीपेन्द्रले ५ बलमा २ छक्का र एक चौका हिर्काए । नेपालले यो खेलमा ११ छक्का र ११ चौका प्रहार गरेको थियो ।

यो भ्रमणमा नेपाली ब्याट्सम्यानहरुले यसअघि यसरी खुलेर खेल्न सकेका थिएनन् । अनिल शाहले २१ बलमा एक छक्का र ३ चौका प्रहार गरे। अनिल र कुशलको ब्याटिङक्रम परिवर्तन टिममा नयाँ प्रयोगका रुपमा हेरिएको छ ।

कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सतक र ८ अर्धशतकसहित एक हजार २ सय २० तथा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सतक र ८ अर्धसतकसहित एक हजार एक सय ३२ रन जोडेका छन् । टी–२० मा उनको स्ट्राइक रेट १२७.०४ को छ । यस्तै एकदिवसीय अन्तर्राष्ट्रियम ८२.७६ को स्ट्राइक रेट छ ।

अनिलले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सतक र २ अर्धसतकसहित २ सय ७० र टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ९२ रन जोडेका छन् । उनको एकदिवसीय अन्तर्राष्ट्रियमा र टि-२० अन्तर्राष्ट्रियमा स्ट्राइक रेट क्रमश ११९.७५ र एक सय रहेको छ ।

नेपालका अर्का ओपनर आसिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रियमा एक सतक र १२ अर्धसतकसहित ७५.८७ स्ट्राइक रेटमा एक हजार ४ सय ३४ रन जोडेका छन् । टी-२० अन्तर्राष्ट्रियमा उनले ५ अर्धशतक तथा ११६.२८ स्ट्राइक रेटसहित एक हजार एक सय २१ रन बनाएका छन् ।

जारी शृंखलामा नेपालले अब लिग चरणमा क्यानडा र ओमानसँग एक एक खेल खेल्ने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *