अवहेलनाको सम्भावित मुद्दाअघि घिमिरेले भने- गैरसंवैधानिक काम गर्ने न्यायपरिषद्, मुद्दा खेप्ने हामीले ? – Nepal Press

अवहेलनाको सम्भावित मुद्दाअघि घिमिरेले भने- गैरसंवैधानिक काम गर्ने न्यायपरिषद्, मुद्दा खेप्ने हामीले ?

काठमाडौं । नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफ्नो असंवैधानिक कामलाई ढाकछोप गर्न न्यायपरिषद्ले आफूविरुद्ध मुद्दा चलाउने तयारी गरिरहेको बताएका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा घिमिरेले भने, ‘असंवैधानिक काम गर्ने न्यायपरिषद् अनि मुद्दा खेप्नुपर्ने हामीले ? हामी तयार छौं ।’

बार अध्यक्ष घिमिरेको अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतले उनीविरुद्ध अवहेलनाको मुद्दा चलाउने तयारी गरेको छ ।

उनले ६ जना दरबन्दी खाली हुन लाग्दा न्यायपरिषद्ले २ जनामात्र न्यायाधीश सिफारिस गरेको बताए । हरिकृष्ण कार्कीको प्रतिवेदनले नै न्यायालयमा भ्रष्टाचार भएको देखाएको उल्लेख गर्दै अध्यक्ष घिमिरेले भने, ‘यो त पटकपटक पुष्टि भएको कुरा हो । उहाँहरु स्वंयले पुष्टि गर्नुभयो ।’

उनले आफूले दिएको अभिव्यक्तिलाई लिएर आउने जुनसुकै मुद्दा खेप्न पनि तयार रहेको बताए ।

आफूले प्रधानन्यायाधीशलाई संविधानअनुसार गर्न पटकपटक भन्दै उनले आएको र यो नेपाल बारकै विषय पनि भएको उल्लेख गरे ।

उनले भने, ‘न्यायपरिषद् जवाफदेही हुनुपर्छ कि पर्दैन ? न्यायपरिषद्का कामहरु अपारदर्शी छन् । हामीले कुनै व्यक्तिका विषयमा बोलेका हैनौं ।’

अध्यक्ष घिमिरेले न्यायपरिषद्विरुद्ध बोल्न कानूनले नरोकेको बताए ।

न्यायपरिषद्का अध्यक्ष प्रधानन्यायाधीश हुन्छन् । ‘संवैधानिक परिषद्विरुद्ध बोल्न मिल्छ । न्यायपरिषद्विरुद्ध बोल्न मिल्दैन ?’, उनले प्रश्न गरे ।

न्यायपरिषद्ले नेपाल बारलाई तर्साउन खोजे पनि आफूहरु नतर्सिने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर