जलन उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको प्रस्तावलाई अर्थले दियो स्वीकृति – Nepal Press

जलन उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको प्रस्तावलाई अर्थले दियो स्वीकृति

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलन उपचार निःशुल्क बनाउने तयारी गरेको छ । मन्त्री नियुक्त भएलगत्तै सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनसम्बन्धी उपचार निःशुल्क र सहज बनाउने प्रतिबद्धता जनाएका थिए ।

मन्त्री पौडेलको प्राथमिकताअनुसार मन्त्रालयले जलन उपचार निःशुल्क बनाउन प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले यससम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा लगेकामा अर्थले हालै स्वीकृति दिएको छ ।

मन्त्रालयले आफ्नै विद्यमान स्रोतबाटै व्यवस्थापन गर्ने गरी जलनको उपचार निःशुल्क बनाउनुका साथै सातै प्रदेशबाट उपचार थाल्ने गरी गृहकार्य गरेको छ ।

हाल कीर्तिपुर अस्पतालबाट उपचार भैरहेकामा गत भदौमा वीर अस्पतालमा जलन वार्ड स्थापना गरिएको थियो ।

मन्त्रालयले सातै प्रदेशमा यस्तो उपचार थाल्न लागेको हो । जसअनुसार कोशी प्रदेशमा बीपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र मधेशमा वीरगञ्जस्थित नारायणी अस्पतालमा जलनको उपचार थालिनेछ ।

गण्डकीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीको नेपालगञ्जस्थित भेरी अस्पतालमा जलनको निःशुल्क उपचार गर्ने गरी तयारी गरिएको छ । कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा जलनको निःशुल्क उपचार गर्ने गरी प्रक्रिया अघि बढाएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।

उनले भने, ‘सबैतिर उपचारको व्यवस्था नहुँदा धेरैले भोग्नुपरेको पीडा कसरी कम गर्न सकिन्छ भनेर मन्त्रीज्यूको निर्देशनअनुसार मन्त्रालयले तयारी थालेको छ । मन्त्रालयको आफ्नै स्रोतबाटै सात प्रदेशमा निःशुल्क उपचार सुविधा दिने गरी तयारी अघि बढिरहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *