प्रधानमन्त्री रोजगार कार्यक्रममा बिचौलियाको घुसपैठ, खाली चेकमा हस्ताक्षर गराएर श्रमिकको पैसा हिनामिना – Nepal Press

प्रधानमन्त्री रोजगार कार्यक्रममा बिचौलियाको घुसपैठ, खाली चेकमा हस्ताक्षर गराएर श्रमिकको पैसा हिनामिना

चितवन । भरतपुर महानगरपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गरेका श्रमिकको पैसा स्थानीय बिचौलियाले हिनामिना गरेको खुलेको छ ।

महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बजेटबाट महानगरका १२ वटा वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत दिनगन्ती ज्यालामा श्रमिकलाई काम लगाएको थियो । तीमध्ये भरतपुर- १ मा रहेको रामनगरका १० जना मजदुरको ५४ दिनको पारिश्रमिक स्थानीय बिचौलियाले खाइदिएका हुन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा दैनिक ६६८ रुपैयाँमा एक प्रतिशत कर कट्टी गरेर श्रमिकका खातामा पैसा जान्छ । रामनगरका नयाँ बस्तीका १० जना मजदुरले पनि फारम भरेर महानगरले दिएको अभिमुखीकरणमा भाग लिएर काम गरेका थिए ।

काम गर्नेमध्ये अधिकांश महिला थिए । भरतपुर महानगरका रोजगार संयोजक सन्देश वाग्लेका अनुसार उनीहरुको खातामा ५४ दिनको हिसाब गर्दा प्रतिव्यक्ति ३५ हजार ४२० रुपियाँ गएको छ । महानगरले रामनगरस्थित गरिमा विकास बैंक लिमिटेडको खातामा व्यक्तिको नाम र रकम उल्लेख गरी पठाएको थियो ।

आफ्नो खातामा कति रकम आयो भन्नेसमेत थाहा नपाउने भूमिहीन श्रमिकलाई काम लगाउन अनुगमनकर्ता बनेर स्थानीय लक्ष्मी मगर पुगिन् । उनी नेकपा माओवादीको भरतपुर महानगर कमिटी सदस्यसमेत हुन् । ऐलानी जग्गामा बसिरहेका ती मजदुरहरुले मगरको पसलबाट खाद्यान्न किनेर खाने गर्छन् ।

त्यही आधारमा उनले ५४ दिन काम गरेको वडाबाट प्रमाणित भएका मजदुरलाई खाली चेकमा हस्ताक्षर गर्न लगाई आफैंले रकम भरेर बैंकबाट पैसा निकालिन् । उनले ती श्रमिकहरुलाई आफ्नो खातामा कति रकम आएको छ भन्ने जानकारी दिइनन् ।

आफ्नै नाममा बैंक खाता खोलेर काममा गएकी देवकुमारी भट्टलाई उनकै खातामा आएको रकम हिसाब गरेर ३४ दिन काम गरेको भनी लक्ष्मी मगरले २२ हजार १०० रुपैयाँमात्रै दिइन् । अहिलेसम्म पनि भट्टलाई आफ्नो खातामा ३५ हजार ४२० रुपियाँ आएको थाहा छैन ।

उनी भन्छिन्, ‘उहाँले तपाईं ३४ दिन जानुभएको भन्नुभयो, मैले पनि साइन गरिदिएँ । खातामा कति आयो थाहा छैन ।’

देवकुमारी भट्ट जस्तै पम्फा भट्टलाई पनि लक्ष्मीले २६ हजार रुपैयाँमात्रै दिइन् । आफ्नो खातामा कति रकम आयो भन्ने पम्फालाई पनि थाहा छैन । जबकि महानगरले बैंकलाई पठाएको रकमको लिस्टमा उनको खातामा ३५ हजार ४२० रुपैयाँ ३० पैसा गएको छ ।

बैंकमा अरुको खातामा कति रकम आएको छ भन्ने असम्बन्धित व्यक्तिले जानकारीसमेत लिन पाउँदैनन्, तर लक्ष्मीले आफ्नो राजनीतिक शक्ति र मजदुरको अज्ञानताको फाइदा उठाइ मनोमानी गरेकी छन् ।

कति दिन काम गरें भन्ने समेत थाहा नभएकी बजै शर्माको छोराको नामबाट उनले काम गरेकी थिइन् । उनको छोरा प्रेमप्रसादको नाममा भएको बैंक खातामा ५४ दिन बराबरको रकम गएको थियो । लक्ष्मीले प्रेमलाई पनि खाली चेकमा हस्ताक्षर गराइन् । बजैले चानचुन २९ हजार रुपैयाँ पाएकी छन् । काम गरेका १० जनामध्ये सबैभन्दा बढी रकम पाउने उनी नै रहेको प्रधानमन्त्री रोजगार कार्यक्रममा माघ ५ देखि चैत ९ गतेसम्म काम गर्ने श्रमिकहरुले बताएका छन् ।

मान्छेअनुसार मनलाग्दी रकम दिएर उनीहरुको ज्याला हिनामिना गरेकी लक्ष्मी उल्टै आफूले स्वयंसेवा गरेको दाबी गर्छिन् । उनले खाजा खुवाएको रकम कटाएको बताइन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको सञ्चालन निर्देशिकाले काम गर्ने व्यक्तिबाटै एकजना नेतृत्व छानेर काम गराउने व्यवस्था गरेको छ । सोहीअनुसार महानगरले उनीहरुको १० जनाको समूहबाट रोशनी मल्लको अध्यक्षतामा रोजगार उपभोक्ता समितिसमेत गठन गरेको थियो ।

तर रोजगारमा संलग्न कुनै पनि कानूनबाट नसमेटिएकी स्थानीय माओवादी नेता लक्ष्मीले सुपरभाइजर जसरी खाजा दिएको दाबी गरिन् । कहिले पप चिया, कहिले मासू चिउरा खुवाएको उनको भनाइ छ ।

लक्ष्मीले नेपाल प्रेससँग कुरा गर्दै आफूले महानगरका रोजगार सेवा केन्द्रका कर्मचारीलाई जानकारी दिएर उक्त काम गरेको दाबीसमेत गरिन् ।

तर भरतपुर महानगरका रोजगार संयोजक वाग्ले त्यसरी कानूनविपरीत मजदुरको पैसा लिएकोबारे आफूलाई थाहा नभएको बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर