तत्काल राहत व्यवस्थापन एवम् समन्वय र सहजीकरण गर्न ८ कार्यदल गठन – Nepal Press

तत्काल राहत व्यवस्थापन एवम् समन्वय र सहजीकरण गर्न ८ कार्यदल गठन

काठमाडौं । गृह मन्त्रालयले असोज १० देखि १२ को अति भारी वर्षका कारण प्रभावित ८ जिल्लामा यथोचित राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न कार्यदल गठन गरेको छ । मन्त्रालयले ८ जना सहसचिवको संयोजकत्वमा बाढी–पहिरो प्रभावित काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ गरी ८ जिल्लाका लागि कार्यदल गठन गरेको हो ।

काठमाडौंमा गोविन्दप्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायणप्रसाद अर्याल, काभ्रेपलाञ्चोकमा बासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्यामकृष्ण थापा र धादिङमा रमेश ढकाललाई कार्यदलको संयोजक बनाइएको मन्त्रालयले जनाएको छ ।

कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, उर्जा, जलस्रोत तथा सिचाईँ मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि रहने छन् । कार्यदललाई आगामी पुस २० गतेसम्मको समयसीमा दिएर कार्यक्षेत्र तोकिएको छ ।

कार्यदलले अति भारी वर्षका कारण उत्पन्न बाढी–पहिरोबाट प्रभावितको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्ने, अति भारी वर्षका कारण आएको बाढी–पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गर्ने र क्षतिग्रस्त सडकहरुको शीघ्र मर्मत संम्भार गरी सञ्चालनमा ल्याउन सडक निमार्ण गर्ने सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने जिम्मेवारी तोकिएको छ ।

यस्तै विपद पीडित नागरिकको सुरक्षित बसोबास तथा राहत उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित स्थानीय तहसँग समन्य गर्ने, तथा कार्यदलले आगामी पुस २० गतेसम्म गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्ने समयसिमा तोकिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर