अग्रिम टिकट बुकिङ रोक्ने व्यवसायीको तयारीबारे सरकार बेखबर, विभाग भन्छ- त्यस्तो केही छैन – Nepal Press

अग्रिम टिकट बुकिङ रोक्ने व्यवसायीको तयारीबारे सरकार बेखबर, विभाग भन्छ- त्यस्तो केही छैन

काठमाडौं । दशैँको अग्रिम टिकट बन्द गर्ने व्यवसायीको तयारीबारे यातायात व्यवस्था विभाग बेखबर देखिएको छ । विभागका अधिकारी बुकिङ रोक्ने तयारी नरहेको बताउँछन् । बाढीको कारण देशभरको सडक बन्द भएको कारण अग्रिम टिकट बुकिङ बन्द गर्ने व्यवसायीहरु बताइरहेका छन् ।

व्यवसायीले भने बाढीपहिरोका कारण राजमार्गको क्षतिले सवारी आवागमनको समय तालिका बदलिएकोले अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको बताएका छन् ।

आवश्यक निर्णय लिन आज ३ बजे यातायात व्यवसायी र विभागको संयुक्त बैठक बोलाइएको छ । यसअघि विभाग र व्यवसायीबीच छलफल भएर असोज १२ गतेबाट अग्रिम बस टिकट बुकिङ खुलाइएको थियो ।

यो पनि पढ्नुहोस्- दशैँको अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी

विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले अग्रिम टिकट बन्द गर्ने विषयमा विभागमा कुनै छलफल नभएको बताए ।

उनले भने, ‘हिजो मन्त्री, महानिर्देशक र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ पदाधिकारी एउटै कार्यक्रममा हुनुहुँदो रहेछ । व्यवसायीहरूले नै बाटोको विषयमा केही छलफल गरौं भनेर समय मागेकाले आज ३ बजे भट्न आउने कुरा भएको हो । टिकट बन्द गर्ने कुनै तयारी छैन । हामीले बाटो खुल्ला भएका ठाउँमा गाडीले यात्रु लिएर हिँड्दा ट्राफिकले दु:ख दिए भन्ने गुनासो आएपछि रुटपरमीट खुल्ला गरिसकेका छौं ।’

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले सबैतिर बाटो बन्द भएका कारणले अग्रिम बस टिकट बन्द गर्नुपर्ने अवस्था आएको बताए ।

उनले भने, ‘सबैतिर बाटो बन्द छ । हिजो काठमाडौंबाट विभिन्न जिल्लाका लागि छुटेका बसहरू काठमाडौंमा नै छन् । दशैँअघि सबै तिरको बाटो खुल्न पनि गाह्रो छ । त्यसैले टिकट बन्द गर्ने तयारी भएको हो । भने, बस जाने बाटो नै भएन भने काटिसकेको टिकटको पैसा हामी फिर्ता दिन्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर