बीमाको उपचार सेवाको कारण ऋणमा राप्ती, बीमितको उपचार रोक्ने चेतावनी – Nepal Press

बीमाको उपचार सेवाको कारण ऋणमा राप्ती, बीमितको उपचार रोक्ने चेतावनी

रुपन्देही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले बीमा उपचार सेवाका कारण ऋणमा परेको भन्दै बीमा उपचार सेवा रोक्ने चेतावनी दिएको छ ।

स्थानीय राजनीतिक दलका प्रमुख, प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि, मानव अधिकारकर्मी, पत्रकार तथा नागरिक समाजसमक्ष प्रतिष्ठानले आफू ऋणमा परेको भन्दै बीमितको उपचार गर्न नसकिने अवस्था सिर्जना भएको जनायो ।

प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बीमा उपचार सेवा तथा डायलासिस र सिकलसेल उपचारबापत सरकारले प्रतिष्ठानलाई १२ करोड १५ लाख ८४ हजार ४६७ रुपैयाँ भुक्तानी नदिएको बताए ।

सरकारले भुक्तानी नदिँदा आफूहरूले औषधि सप्लायर्सहरुलाई पनि भुक्तानी दिन नसकेको र उपचार सामग्री नै नपाउने स्थितिले उपचार रोकिने अवस्था आएको प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले बताए ।

प्रतिष्ठानले औषधि सप्लायर्सलाई मात्रै १३ करोड ४२ लाख ५ हजार ५७८ रुपैयाँ तिर्न बाँकी रहेको जनाएको छ । प्रतिष्ठानले रसायन तथा सर्जिकल एसोसियसन दाङका अध्यक्ष बालकुमार घर्तीलाई मात्रै ६ करोड रकम भुक्तानी दिन बाँकी छ । घर्तीले प्रतिष्ठानले भुक्तानी नदिए सर्जिकल तथा रसायन अस्पताललाई दिन नसकिने बताए ।

बैंकले ऋण बोकेर उपचार सामग्री उपलब्ध गराएको तर प्रतिष्ठानले ६ करोड बक्यौता राख्दा अब औषधिजन्य वस्तु अस्पताललाई दिन नसक्ने उनले बताए ।

दाङका राजनीतिक दलहरूले भने आर्थिक समस्यालाई हल गर्न पहल गर्ने भन्दै प्रतिष्ठानलाई सेवा नरोक्न आग्रह गरेका छन् ।

जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, तुलसीपुरका मेयर टीकाराम खड्का, घोराहीका उपमेयर हुमा डीसी, दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, नेकपा एमालेका अध्यक्ष शिवकुमार आचार्य, नेपाली कांग्रेसका कोषाध्यक्ष प्रकाश सुवेदी, नेकपा माओवादी केन्द्रका सचिव विश्वराज आचार्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य, नेकपा विप्लवका जिल्ला इन्चार्ज सविन पोख्रेल, नेकपा बहुमतका अमर खड्का, मानव अधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्मालगायतले उपचार रोकिन नहुने भन्दै रकम भुक्तानीका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर