मनसुनको कहर- ६ वर्षयताकै बढी मानवीय क्षति, कहिले कति ? – Nepal Press

मनसुनको कहर- ६ वर्षयताकै बढी मानवीय क्षति, कहिले कति ?

काठमाडौं । यस वर्षको मनसुनमा ६ वर्षयताकै सबैभन्दा बढी मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार यो पटक मनसुन सुरू भएदेखि अहिलेसम्म बाढी, पहिरो तथा डुबानले ४४५ जनाको ज्यान गइसकको छ । ५५ जना बेपत्ता छन् । यसै अवधिमा ४४० जना घाइते भएको प्राधिकरणका सहसचिव वसन्त अधिकारीले नेपाल प्रेसलाई बताए ।

प्राधिकरणले विगत ३/४ वर्षदेखि मात्र विवरण राख्न थालेकाले यहाँ ७६ सालपछिको मात्र क्षति समेटिएको छ ।

उनका अनुसार यस वर्ष जेठ २८ देखि भदौ २२ गतेसम्म मनसुनको ९० दिनको अवधिमा मनसुनजन्य घटनामा २२५ जनाको मृत्यु भएको छ भने ४९ जना बेपत्ता तथा २८४ जना घाइते भएका छन् । यहीबीच मनसुनजन्य विपद्‍बाट ४ हजार ६१५ परिवार प्रभावित भएका छन् ।

मनसुन सकिनै लाग्दा असोज १० गतेदेखिको लगातार झरीका कारण देशभर बाढी, पहिरो तथा डुवानका घटनामा परेर २२० जनाको मृत्यु भइसकेको छ भने २७ जना बेपत्ता भएका छन् । १५६ जना घाइते भएका छन् ।

यो वर्ष सबैभन्दा बढी क्षति काभ्रेपलाञ्चोक र दोस्रोमा काठमाडौं उपत्यकामा भयो । काभ्रेमा ६५ जनाले ज्यान गुमाए । मनसुन पहिलो चरणको ९० दिनको अवधिलाई हिसाब नगर्दा पछिल्लो ३ दिनमा उपत्यकामा ६२ जनाको मृत्यु भएको छ । त्यसमध्ये सबैभन्दा बढी ललितपुरमा ४० जना, काठमाडौंमा १७ जना र भक्तपुरमा ५ जना छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आागामी भोलि (अक्टोबर २) बाट नेपालबाट मनसुन बाहिरिने अनुमान थियो । यद्यपि अहिलको अवस्था हेर्दा यस वर्ष अक्टोबरको दोस्रो सातासम्म मनसुन सक्रिय हुने प्रक्षेपण गरिएको छ ।

कुन प्रदेशमा कति क्षति ?

प्रदेशगत रूपमा सबैभन्दा बढी बागमतीले मानवीय क्षति व्यहोरेको छ । देशभरमा मृत्यु भएकाको जम्मा संख्या ६० प्रतिशत मानवीय क्षति बागमतीमा भएको हो । यहाँ १३२ जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन् । ८ जना बेपत्ता छन् ।

काभ्रेपलाञ्चोकमा ६५, धादिङमा ३९, सिन्धुपाल्चोकमा १०, मकवानपुर र दोलखामा ७-७ जना, सिन्धुलीमा ३ जना र रामेछापमा एकजनाको मृत्यु भएको छ । ललितपुरमा ४० जना, काठमाडौंमा १७ जना र भक्तपुरमा ५ जनाको मृत्यु भयो ।

कोशी प्रदेशमा १८ जनाको मृत्यु हुदाँ १४ जना घाइते भएका छन् भने ५ जना बेपत्ता रहेका छन् । कोशी प्रदेशमा सबैभन्दा बढी पाँचथरमा ६ जनाको मृत्यु तथा ६ जना नै घाइते र ४ जना बेपत्ता, सोलुखुम्बुमा ५ जनाको मृत्यु, १ जना घाइते, धनकुटा र झापामा दुई–दुई जनाको मृत्यु, उदयपुर, ईलामा र ओखलढुंगामा एक-एक जनाको मृत्यु भएको छ । कोशी प्रदेशमा २९० जनाको उद्धार भएको छ ।

मधेश प्रदेशमा ५ जनाको मृत्यु हुदाँ ८ जना घाइते भएका छन् भने २ जना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा महोत्तरी र रौतहटमा २–२ जना र सप्तरीमा एक जनाको मृत्यु भएको हो । ३५ जनाको मधेश प्रदेशको रौतहट र महोत्तरीबाट उद्दार भएको छ ।

लुम्बिनी प्रदेशमा रुपन्देहीमा २ जनाको मृत्यु भयो । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश भने जोगिएको छ ।

यसअघि कहिले कति क्षति ?

२०७६ मा १६१ जनाको मृत्यु हुदाँ ३८ जना बेपत्ता भएका थिए भने १२१ जना घाइते भएका थिए । २०७७ सालमा मनसुन अवधिमा बाढी/पहिरोबाट ३४८ जनाको मृत्यु भएको थियो भने १०१ जना बेपत्ता तथा २८९ जना घाइते भएका थिए ।

२०७८ सालमा १४२ जनाको मृत्यु, ४२ जना बेपत्ता र १५३ जना घाइते भएका थिए । २०७९ मा ११९ जनाको मृत्यु हुदाँ ३२ जना बेपत्ता भएका थिए भने ११५ जना घाइते भएका थिए । गत वर्ष ६३ जनाको मृत्यु, ३० जना बेपत्ता र ६९ जना घाइते भएका थिए ।

२०७८ सालमा सिन्धुपाल्चोकको मेलम्चीमा सबैभन्दा बढी क्षति भयो । बेमौसमी वर्षाका कारण आएको बाढीले ४०४ घरपरिवार प्रभावित भए । त्यहाँ १२० जनाले ज्यान गुमाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर