गृहमन्त्री लेखकले भने- एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नु न्यायोचित हुँदैन – Nepal Press

गृहमन्त्री लेखकले भने- एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नु न्यायोचित हुँदैन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नु न्यायोचित नहुने बताएका छन् ।

मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकमा बाढी-पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको जानकारी गराउने क्रममा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

गृहमन्त्री लेखकले नख्खु खोलामा टिनको छाप्रोमा उद्धार गर्ने विषयमा सशस्त्र प्रहरी र नेपाल प्रहरी पठाइएको बताए ।

उनले भने, ‘सशस्त्र प्रहरीको बोट पल्टिँदा उद्धारमा समस्या भएको हो । त्यतिबेला नेपाली सेनाले हेलिकप्टर उडाउने भिजिबिलिटी नभएको मलाई बताउनुभएको थियो । एक जना स्थानीयले उद्धार गरेपछि नेपाल प्रहरीकै गाडीमा अस्पताल लगिएको थियो । प्रहरीले सहयोग नगरेको भन्ने होइन । ४ हजारभन्दा बढीको सरकारले उद्धार गरेको छ । एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नु न्यायोचित हुँदैन ।’

गृहमन्त्री लेखकले उद्धार, राहत र घाइतेको उपचारबारे जानकारी गराउँदै सरकारले ७०० भन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार गरेको बताए ।

उनले सरकारले तत्काल अस्थायी आवास निर्माण गर्ने र आगामी दिनमा स्थायी आवास बनाउने व्यवस्था मिलाइसकेको बताए । क्षतिग्रस्त संरचनाको मर्मत गरी सञ्चालन गर्न सरकारले काम अगाडि बढाएको गृहमन्त्री लेखकको भनाइ छ ।

गृहमन्त्री लेखकले गृह मन्त्रालयको सहसचिवको नेतृत्वमा सोमबार ८ वटा टोली बनाएर मंगलबार नै क्षतिग्रस्त ८ जिल्लामा पठाइसकिएको पनि जानकारी गराए ।

यातायात सञ्चालन गरी मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सचेत रहेको बताउँदै नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीले सडक सञ्चालन गर्न काम गरिरहेको उनको भनाइ थियो । सरकारले अहिले पनि राहत र उद्धारको काम गरिरहेको गृहमन्त्री लेखकले बैठकमा जानकारी गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर