बाढी-पहिरोबाट २१ जिल्ला बढी प्रभावित, १७ अर्बभन्दा बढीको क्षति – Nepal Press

बाढी-पहिरोबाट २१ जिल्ला बढी प्रभावित, १७ अर्बभन्दा बढीको क्षति

खोज, उद्धारको कार्य दुईदिनभित्र टुंग्याउने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानका पीडितलाई राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको तथा खोज, उद्धारको कार्य दुईदिनभित्र गरिसकिने जनाएका छन्।

प्रधानमन्त्री ओलीले घाइतेहरुको निःशुल्क उपचार गरिने र विपद्पछि फैलनसक्ने सम्भावित रोगको रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको बताए।

क्षतिग्रस्त भएका खानेपानी, सडक, टेलिफोन, विद्युत आदि सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको पनि बताए।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीका तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले प्रस्तुत गरेको प्रेस विज्ञप्तिमा विपद्का कारण दुई सय २४ को मृत्यु, २४ बेपत्ता र १५८ घाइते तथा उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको उल्लेख छ।

यस्तै बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरेको  अर्यालले उल्लेख गरेका छन् ।

भौतिक क्षतितर्फ खानेपानी संरचनामा ३ अर्ब ५५ करोड, सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड, ऊर्जातर्फ ४ अर्ब, र सिँचाइतर्फ १ अर्बको क्षति भएको प्रारम्भिक अनुमान रहेको सरकारले जनाएको छ ।

बाढी पहिरोबाट ३७ वटा राजमार्ग अवरुद्ध भएकोमा ९ वटा सञ्चालन आइसकेको सरकारले जनाएको छ ।

त्यस्तै ३४ निर्माणाधीन जलविद्युत आयोजनामा क्षति पुगेको छ भने कृषितर्फ ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको सरकारले जनाएको छ ।

सरकारले विपद्पछि खोजीकार्यमा ३० हजार ७०० सुरक्षाकर्मीसहित हेलिकोप्टर समेत परिचालन भएको जनाएको छ ।

विपाद्को घटनाबाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर