सेलाइसकेको ‘कन्ट्रोभर्सी’ खोतल्दै स्वस्तिमा: अनमोल र जसितालाई हेर्ने नजरिया बदलियो ! – Nepal Press

सेलाइसकेको ‘कन्ट्रोभर्सी’ खोतल्दै स्वस्तिमा: अनमोल र जसितालाई हेर्ने नजरिया बदलियो !

सामाजिक सञ्जालको आलोचनाले केही फरक नपर्ने जिकिर

काठमाडौं । दुई चर्चित नायिका जोडिएको एउटा कन्ट्रोभर्सीले केही महिना अगाडि निकै बजार तताएको थियो । कान्तिपुर टेलिभिजनको ‘इट्स माइ शो’ नामक कार्यक्रममा नायिकाद्वय स्वस्तिमा खड्का र साम्राज्ञी आरएल शाह एवं प्रस्तोता ओसिन सिटौलाले नायक अनमोल केसी र नायिका जसिता गुरुङको चरित्र हत्या हुनेगरी छिचरा प्रश्नोत्तर गरेका थिए ।

प्रेस काउन्सिलले बारम्बार चेतावनी दिएपछि अन्ततः कान्तिपुर टेलिभिजन उक्त कार्यक्रमका विवादित अंशहरुमा कैंची चलाउन बाध्य भयो । त्यसपछि सेलाएको यो प्रकरणलाई अहिले नायिका स्वस्तिमा खड्काले फेरि खोतल्दै हिँडेकी छन् । आफ्नो नयाँ चलचित्र रिलिजको संघारमा विभिन्न मिडियामा अन्तर्वार्ता दिने क्रममा उनले यो प्रकरणलाई उधिन्दै लगातार अभिव्यक्तिहरु दिएकी हुन् । स्वस्तिमाको अभिव्यक्ति सुन्दा उक्त कन्ट्रोभर्सीलाई लिएर कुनै पनि आत्मग्लानी पाइँदैन । बरु नायिका जसिता गुरुङ र अनमोल केसीप्रति उल्टै असन्तुष्टि व्यक्त गरेकी छन् ।

‘मलाई यस्तो कन्ट्रोभर्सी ह्यान्डल कसरी गर्ने भन्ने थाहा छ’, स्वस्तिमा भन्छिन्, ‘त्यतिबेला आएको कमेन्टहरुले मलाई केही पनि फरक परेन । म त सोसल मिडिया नै नचलाइकन ‘चील’मा थिएँ ।’

उनी थप्छिन्, ‘मेरो लाइफमा खासै अप एन्ड डाउन्ड केही छैन । मेरो कुनै इन्ट्रेस्टिङ स्टोरी नै छैन, तर अब यो स्टोरी सुनाउँदा त रमाइलो हुन्छ नि !’

कार्यक्रमपछि जसिताको म्यासेज आएको र आफूले ‘सरी’ भनेको स्वस्तिमाको दाबी छ, तर ‘सरी’ भनिसकेपछि पनि जसिता र अनमोलले सामाजिक सञ्जालमा लेखेको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन् । यो घटनापछि जसिता र अनमोललाई हेर्ने नजरिया नै बदलिएको टिप्पणीसमेत गरिन् ।

‘उनीहरुले केही दुःखेसो भए मसित आएर भनेको भए हुन्थ्यो । म त्यो पार्ट हटाउन लगाइदिन्थें, तर सोसल मिडियामा लेखेपछि मलाई पनि मतलब लाग्न छोड्यो । त्यसपछि जे-जस्तो कमेन्ट आए पनि वास्ता गरिनँ । मलाई केही पनि ब्याड फिल भएन ।’

उनको थप भनाइ

त्यो एपिसोडले ८० हजार भ्यूज हुँदासम्म सबैले प्रशंसा गरिरहेका थिए । एकदम ब्यूटिफुल कमेन्टहरु आइराख्या थिए । मलाई कस्तो राम्रो बोलेको भनेर म्यासेजहरु पनि आए ।

दुई दिनपछि जसिताले म्यासेज गरिन् । उनको म्यासेज देखेपछि मलाई ‘ओ सिट…मैले बोल्नु नहुने रहेछ’ भन्या जस्तो भयो । त्यसपछि फेरि अनमोलको म्यासेज आयो । फेरि ‘ओ सिट…’ भयो । मैले ओसिनलाई फोन गरेर त्यो पार्ट हटाउन सकिन्छ कि भनें । उनले भोलि अफिसमा कुरा गर्छु नि त भनिन् ।

तर भोलिपल्ट जसिताले फेसबुकमा नै स्टाटस हालिन् । म आफैं सर्ट आउट गर्थें होला, तर फेसबुकमा हालिसकेपछि भने म ‘बदर’ भइनँ । अब मैले यसलाई अर्कै तरिकाले लिएँ । मतलब नै लागेन । त्यो घटनापछि मेरो अनमोल र जसितालाई हेने नजरिया पनि बदलिएको छ । बीचमा भेटघाट पनि भएको छैन । अनमोलले जन्मदिनमा म्यासेज चैं पठाएको थियो ।

त्यो इन्टरभ्यूमा प्रदीप खड्का, आना शर्मा, धीरज मगर, आश्मा श्रेष्ठहरुको नाम पनि मैले लिएको थिएँ । उनीहरु पनि रिसाए कि भनेर डर लाग्यो, तर उनीहरुले केही गुनासो गरेनन् । प्रदीपलाई फोन गरें । ऊ पुरै चीलमा थियो । मलाई भन्यो– के भयो त ? डन्ट वरी ! तिमीहरुले रमाइलो गरेको त हो नि ! केही फरक पर्दैन, ‘लभ यू’ भन्यो । धीरजले ‘यो नर्मल हो, टेन्सन नलेउ’ भनेर म्यासेज पठायो । सो स्वीट । आनाले पनि इमोजी पठाइन् । त्यसपछि मन शान्त भयो । थ्याङ्क्स गड, दे आर कुल एबाउट इट भन्ने सोचें ।

अस्मीको नाम लिएकोमा चाहिँ मलाई अलिकति रिग्रेट भएको थियो । ऊ मेरो एकदम मिल्ने साथी पनि हो । उसले चाहिँ तिम्रो गल्ती होइन, होस्टको गल्ती हो भनेको छ ।

त्यो घटनाले सामाजिक सञ्जाल तताएपछि म फेसबुक, इन्स्टा सबै बन्द गरेर चीलमा बसें । मलाई केही मिल्ने मान्छेहरुले फोन गरेर सहानुभूति दिन खोजेका थिए, तर मलाई केही असर नै गरेको थिएन । म त चीलमा थिएँ ।

यस्तो खालको कन्ट्रोभर्सीमा म पहिले पनि आएको हो । त्यो बेला पनि ठूलै रुप लिएको थियो । त्यतिबेला मलाई मानसिक रुपमा ठूलो असर गरेको थियो । यस्तोमा कसरी ह्यान्डल गर्ने भनेर मैले आफूलाई ट्रेन्ड गरिसकेको थिएँ । त्यसैले अहिले चाहिँ मलाई केही पनि फरक परेन ।

म यस्तो फेस गर्न मानसिक रुपमा तयार नै छु । मलाई कुनै बज्रपात आइलागेको महसुस भएको थिएन । खाली आवद्ध भएका ब्रान्डहरुलाई केही असर पर्छ कि भनेर अलिकति टेन्सन भएकोमात्र थियो, तर ब्रान्डहरु पनि चीलमा थिए ।

मेरो कसैलाई हर्ट गर्ने इन्टेन्सन थिएन, तर बुली गरेको न्यारेटिभ बन्यो । तथापि मलाई ब्याड फिल भएन । इमानदारीपूर्वक भन्दैछु । म हर्ट हुनुपर्ने केही थिएन । मैले पर्सनल्ली माफी मागिसकेपछि पनि जे जे कुराहरु आए, त्यसका लागि आई एम नट सरी ।

मलाई एउटा प्वाइन्टमा पुगेपछि रमाइलो पनि लागिराख्या थियो । मलाई थाहा थियो कि हप्ता १० दिनमा मानिसहरुले बिर्सिन्छन् । अब दुई वर्षपछि यो कथा सुनाउँदा रमाइलो हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर