बढ्दैछ स्वदेशी स्याउको उत्पादन र निर्यात – Nepal Press

बढ्दैछ स्वदेशी स्याउको उत्पादन र निर्यात

बुटवल । चौतर्फी निराशा र अलमलका बीचमा पनि केही विषयमा भने सुखद सन्देश जानेगरी प्रगति भइरहेको छ । अहिले स्याउको सिजन चलिरहेको छ । यतिबेला केही वर्ष अघिसम्म अर्बौं मूल्यका विदेशी स्याउको आयात हुन्थ्यो । बजारभरि विदेशी स्याउको किनमेल चल्थ्यो, तर अहिले स्वदेशी उत्पादनको बिक्री वितरणमात्रै भइरहेको छैन, यही सिजनमा झण्डै दुई अर्ब मूल्य बराबरको नेपाली स्याउ विदेश निर्यात भएको सुखद अवस्था छ ।

जुम्ला, मुस्ताङसहित हिमाली भेगका केही जिल्लामा स्याउको व्यवसायिक उत्पादन भइरहेको छ । त्यही किसान र बाहिरबाट गएका व्यवसायिक किसान र व्यापारीहरुले ठूलो परिणाममा स्याउको उत्पादन सुरु गरेका छन् । यही रफ्तारमा खेती हुँदै जाने हो र ढुवानी पनि सहज हुने हो भने अबको केही वर्षमै मुलुकले विदेशी स्याउको ठूलो हिस्सालाई प्रतिस्थापन गर्नेछ ।

अझ मन लगाएर राज्यले नै ध्यान दिने हो भने कोल्डस्टोर, बिजुली र सडकको प्रबन्ध गरी किसानमा प्रोत्साहन जगाउने हो भने केही दशकमै स्याउमा पूर्णतया आत्मनिर्भर हुनसक्ने सम्भावना पनि उत्तिकै छ ।

जुम्ला र मुस्ताङबाट मात्रै यो एक महिनामा बुटवल र आसपासका बजारमा करोडौं मूल्यको स्याउको कारोबार भएको छ । यी जिल्लासहित स्याउ फल्ने सबै हिमाली जिल्लाबाट ग्रेडिङ गरिएका स्याउमात्रै करिब दुई अर्बभन्दा धेरैको त निर्यात नै भइसकेको तथ्यांक छ । यसअघि नेपालले एक वर्षमा ८-१० अर्ब रुपैयाँ बराबरको स्याउ आयात गर्ने गरेको अवस्था थियो ।

गत आवमा मात्रै ९ अर्बको स्याउ नेपालमा आयात भएको थियो । अहिलेको यो सिजनमै यत्तिको परिणाममा स्वदेशी बजारमा उपलव्ध हुनु र ग्रेडिङ गरेर विदेशसमेत निर्यात गर्नुले सुखद सन्देश दिएको छ । यसलाई अझ विस्तार गर्नेतर्फ राज्यको ध्यान जान जरुरी छ ।

हिमाली भेगका रैथाने किसानले परम्परागत रुपमै स्याउको खेती गरिरहेका छन् । उनीहरुलाइ हाइब्रिडिङ गरेर उत्पादन बढाउनेतर्फ त्यति चासो छैन । पुस्तादेखि एकाध ठाउँमा केही बोट रोपेर त्यसै छाडिएका छन् र तिनले जे जति उत्पादन दिन्छन्, त्यही स्याउलाई न्यून मूल्यमा बिक्री वितरण गर्दै आएका छन् ।

ती क्षेत्रमा पछिल्ला केही वर्षयता बाहिरका ठूला व्यापारीको आँखा पुगेको छ र तिनीहरुले सयौं रोपनी जग्गा किनेर स्याउको व्यवसायिक उत्पादन सुरु गरेका छन् । ग्रेडिङ मेसिन समेत राखेर ठूलो परिणाममा स्याउको उत्पादन सुरु भएको छ । यसमा राज्यको प्रत्यक्ष निगरानी सहित सहकार्यको पनि उत्तिकै खाँचो देखिन्छ ।

विस्थापित हुँदै विदेशी स्याउ

यही भदौ दोस्रो सातादेखि जुम्ला र मुस्ताङको स्याउ बुटवलका प्रत्येक पसलहरुमा पुग्नेगरी आएको छ र यहाँबाट अन्यत्रका बजारसम्म थोकमा बिक्री वितरण भइरहेको छ । असोजको यो दोस्रो सातासम्मको एक महिनाको अवधिमा मात्रै यहाँबाट १६ करोड रुपैयाँभन्दा धेरैको स्वदेशी स्याउको कारोबार भइसकेको छ ।

‘अब दसैंतिहार जस्ता पर्व नजिकिएकाले अबको एक महिना यसको कारोबार झण्डै दोब्बर हुने अनुमान व्यापारीहरुको छ । त्यसपछि भने स्वदेशी उत्पादनले नै थेग्दैन र विदेशी आयात गर्नैपर्ने हुन्छ’, थोक विक्रेता पन्थी भन्छन्, ‘यो स्वदेशी स्याउ कात्तिक मसान्तसम्म यहाँदेखि पश्चिम भेगलाई लगभग पुग्छ र त्यसपछि त बोटमै निथ्रिन्छ ।’

पन्थी यस क्षेत्रका ठूला विक्रेता मानिन्छन् । उनका अनुसार यस सिजनमा नेपालका स्याउ फल्ने जिल्लाहरुबाट ग्रेडिङ गरिएका करिब दुई अर्ब मूल्य बराबरको स्याउ विदेश निर्यात भएको छ ।

केही महिनालाई भए पनि भारतीय स्याउ विस्थापित हुनेगरी अहिले स्वदेशी स्याउले बजार भरिएको छ । बुटवल र यहाँदेखि पश्चिमको भेगमा आउँदो कात्तिकसम्म स्वदेशी स्याउको मात्रै कारोबार हुनसक्ने यहाँका थोक विक्रेता कलाधर पन्थीको भनाइ छ । पन्थीका अनुसार भदौ दोस्रो साताबाट सुरु भएको स्वदेशी उत्पादन बढीमा कात्तिक मसान्तसम्म रहनेछ । पन्थीले मात्रै यो एक महिनाको सिजनमा झण्डै ५५ लाख रुपैयाँ बराबरको स्वदेशी स्याउको कारोबार गरेका छन् ।

अरु वर्षमा यही अनुपातमा विदेशी स्याउको कारोबार हुने गर्थ्यो । अहिले भने स्वदेशी स्याउले बजार भरिभराउ भएको बुटवलका थोक फलफूल विक्रेता कृष्णप्रसाद पोखरेलको भनाइ छ । पोखरेलले मात्रै अहिले यो एक महिनाको अवधिमा करिब ४० लाख रुपैयाँ बराबरको जुम्लाको स्याउ बिक्री गरिसकेका छन् । केही दिन अघिदेखि उनको पसलमा मुस्ताङको पनि स्याउ आइसकेको छ ।

बुटवल र आसपासमा पन्थी र पोखरेल जस्ता करिब ४० जना ठूला थोक व्यापारी छन् । उनीहरुले स्याउ फल्ने जिल्लामै पुगेर त्यहाँका अगुवा किसान र अरु डिलरसँग कैयाैं पटक भेटघाट गरेर सहज ढुवानीका बारेमा पालिकाहरुसँग पनि छलफल गरेका छन् ।

ती ठूला अर्थात् थोक विक्रेताहरु सबैले यही अनुपातमा र केहीले अझ योभन्दा दोब्बर परिणाममा स्वदेशी स्याउको कारोबार गरेका छन् । थोक विक्रेता पन्थीले मात्रै यो सिजनमा ५५ लाख बराबरको स्वदेशी स्याउ बिक्री गरेका छन् ।

प्रतिकिलो थोकमा १०० देखि १८० रुपैयाँ सम्ममा स्वदेशी स्याउको बिक्री हुँदै आएको छ । विदेशी स्याउ भने यसको दोब्बर महँगोमा बिक्री वितरण हुँदै आएको थियो । नेपाली स्याउ भारत र चीनबाट आयात भएका स्याउको तुलनामा गुणस्तरीय भए पनि कम मूल्यमा बिक्री भइरहेको छ ।

अब हरेक वर्ष उत्पादन बढाउने लक्ष्य

सरकारले उच्च हिमाली ८ जिल्लालाई स्याउको पकेट जिल्ला घोषणा गरेको थियो । कर्णालीका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोटसहित रुकुम, मनाङ र मुस्ताङमा स्याउखेती विस्तारका लागि विशेष कार्यक्रम शुरू गरिएको छ । यो कार्यक्रमले त्यहाँका केही भेगमा भने स्याउको उत्पादन बढाएको छ ।

अहिले बुटवल क्षेत्रमा आएका अधिकांश स्याउ जुम्लाको हो । मुस्ताङको भने भर्खरमात्रै सुरु भएको छ । जुम्लाका हरेकजसो किसानले स्याउका विरुवा रोपेका छन् र सबै भेगमा स्याउ फल्छ । केही वर्षअघिदेखि यहाँ व्यवसायिक रुपमा स्याउको उत्पादन हुने गरेको छ । एउटा बोटमा एक सिजनमा २५ देखि ३० किलोसम्म स्याउ फल्ने र बोटले थेग्ने गरी उत्पादन बढाउन सकिने अवस्था छ ।

जुम्लाको गुठीचौर गाउँपालिका- ५ गुठीचौरमा ५०० रोपनी जग्गामा ४० हजार बोटबाट स्याउ खेती सुरु गरेका अगुवा किसान तथा थोक विक्रेता विष्णुकुमार श्रेष्ठले अहिले बल्ल स्याउको सिजन सुरु भएको बताए । अब हरेक वर्ष उत्पादन बढ्दै जाने र केही वर्षमा उत्पादन कैयौं गुणा बढ्दै जाने उल्लेख गर्दै अगुवा किसान श्रेष्ठले सरकारले सहज ढुवानी र किसान लक्षित राहतका केही योजना ल्याउने हो भने स्वदेशी उत्पादनले आत्मनिर्भर हुने बताए ।

उनले ढुवानीका लागि सहज सडक र जुम्लामा विद्युतको उपलब्धता पर्याप्त भएमा उत्पादनलाई लक्ष्यभन्दा पनि धेरै बनाउन सकिने दाबी गरे ।

जुम्लाबाट विभिन्न माध्यमबाट स्याउलाई सुर्खेतमा झार्ने त्यहाँबाट विभिन्न ठाउँमा वितरण हुँदै आएको छ । गुठीचौरका जनप्रतिनिधि इन्द्रबहादुर बुढाका अनुसार अहिले स्थानीय किसानका अतिरिक्त नयाँ फारम नै खोलेर उत्पादन गर्नेगरी नयाँ नयाँ व्यापारीहरु आएर जग्गा किनेका छन् । यसले अबका दिनमा उत्पादन झन् बढ्ने उनको दाबी छ ।

बर्सेनि अर्बौंको आयात

भन्सार विभागको तथ्यांकअनुसार नेपालमा वार्षिक करिब सात अर्बको स्याउ आयात भएको देखिन्छ । गत आव २०८०/८१ मा मात्रै करिब ९ अर्ब रुपैयाँ बराबरको विदेशी स्याउ आयात भएको देखिन्छ । भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठका अनुसार नेपालमा भारत र चीन, इन्डोनेशिया, टुर्किए, अमेरिकाबाट ठूलो मात्रामा स्याउको आयात हुँदै आएको छ । यीमध्ये सबैभन्दा बढी भारतबाट स्याउ आयात हुन्छ ।

भारतले आफ्नै उत्पादनलाई स्टोर गरेर १२ महिना बिक्री वितरण गर्नेगरी प्रबन्ध मिलाएको छ । यसकारण नेपालमा भारतीय र चाइनिज स्याउ जुनसुकै सिजनमा पनि पर्याप्त मात्रामा पाइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *