एसियाली खेलकुदमा रजत विजेता एरिकालाई धनगढीमा सम्मान, वनमन्त्रीलाई कराँतेको तेस्रो डान उपाधि – Nepal Press

एसियाली खेलकुदमा रजत विजेता एरिकालाई धनगढीमा सम्मान, वनमन्त्रीलाई कराँतेको तेस्रो डान उपाधि

कैलाली । कैलालीको धनगढीमा खेलकुद अवार्ड २०८१ तथा सुदूरपश्चिम प्रदेश कराँते रेफ्री सेमिनार गरिएको छ । कैलाली जिल्ला खेलकुद समिति र सुदूरपश्चिम प्रदेश कराँते महासंघले संयुक्त रुपमा मंगलबार धनगढीको कर्भडहलमा खेलाडी सम्मान कार्यक्रम गरेका हुन् ।

कार्यक्रममा भर्खरै चीनमा भएको एसियाली खेलकुदमा महिला कुमिते ६८ केजीभन्दा माथिको तौल समूहमा रजत जित्न सफल नेपाली कराँते खेलाडी एरिका गुरुङलगायतलाई सम्मान गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एरिकासहित नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई सम्मान गरेका थिए । हाल अमेरिका बस्ने धनगढीमा कराँते खेलेका खेलाडी जनकसिंह खड्काले दुई लाख रुपैयाँसहित एरिकालाई सम्मान गरेका थिए । खड्काले यसअघि नै एसियाली खेलकुदमा स्वर्ण जित्नेलाई तीन लाख, रजत जित्नेलाई दुई लाख र काँस्य जित्नेलाई १ लाख दिने घोषणा गरेका थिए ।

भुटानमा भएको आठौं दक्षिण एसियाली कराँते प्रतियोगितामा सुदूरपश्चिमबाट राष्ट्रिय टीममा पर्न सफल भएका ६ जना खेलाडीलाई १ लाख रुपैयाँसहित सम्मान गरिएको छ ।

कार्यक्रममा २० वर्ष सेवा अवधि पूरा गरेका राष्ट्रिय खेलकुद परिषद्अन्तर्गतका १६ जना स्थायी प्रशिक्षकलाई दीर्घ सेवा पदक वितरण गरिएको थियो ।

वनमन्त्रीलाई कराँतेको तेस्रो डान उपाधि

यसैबीच सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले तेस्रो डान उपाधि पाएका छन् । नेपाल कराँते महासङ्घका संस्थापक अध्यक्ष तथा नेपाल सितोरियो सङ्घका अध्यक्ष दावा गुरुङले मन्त्री चौधरीलाई तेस्रो डान उपाधि प्रदान गरेका हुन् ।

मंगलबार प्रमाणपत्र, कराँते पोशाक र ब्ल्याक बेल्ट तेस्रो डानको उपाधिसहित उनलाई सम्मान गरिएको थियो । चौधरी कराँतेको पूर्वखेलाडी हुन् ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र उनले एउटै डोजोमा लामो समय कराँते प्रशिक्षण गरेका थिए । विद्यार्थी कालदेखि नै खेलकुदमा सक्रिय उनी सितोरियो कराँतेका पहिलो डान हुन् ।

एथलेटिक्समा पनि राष्ट्रियस्तरसम्म पुगेका उनी अन्य खेलकुदमा पनि त्यतिकै सक्रिय र सफल थिए । थारु भाषाको चलचित्रमा नायकको भूमिकामा देखिएका चौधरी अहिले प्रदेश मन्त्री छन् ।

२०६५ सालदेखि मिर्गौलामा समस्या आएपछि उनी सक्रिय खेलकुद र चलचित्रमा देखिन छोडेका थिए । त्यसपछि सामाजिक र राजनैतिक ढंगले उनी अगाडि बढे ।

उनले खेलकुद र खेलाडीलाई राष्ट्रको गहनाका रुपमा मात्रै भन्नुभन्दा पनि राज्यले आफ्नो अङ्गको रुपमा अगाडि बढाउनु पर्ने बताएका थिए । सरकारले खेलाडीहरूको बीमा गरिदिनु पर्नेमा उनले जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर