विजय चालिसेको वैदिक उपन्यास ‘युगसन्धि’ लोकार्पण – Nepal Press

विजय चालिसेको वैदिक उपन्यास ‘युगसन्धि’ लोकार्पण

काठमाडौं । ऋषि वशिष्ठ र विश्वमित्रबीचको वैदिक कालको वैचारिक द्वन्द्वमा आधारित उपन्यास युगसन्धिको आज लोकार्पण गरिएको छ । काठमाडौं को येलो प्यागोडा होटलमा आयोजित एक औपचारिक कार्यक्रमबाट पुस्तक लोकार्पण भएको हो ।

चालिसेको उपन्यासमा आर्य र अनार्य जाती तथा संस्कृति,महिला तथा पुरुष एवम् रक्त शुद्धता र रक्त सम्मिलन पक्षधरहरूबीचको द्वन्द्व र यी प्रसङ्गहरूमा विश्वमित्र ऋषि र बशिष्ठ ऋषिबीचको द्वन्द्वमा कथा अगाडि बढेको बताइएको छ ।

उपन्यासमा ब्रम्ह शक्ति र राज शक्तिको समन्वय, महिला र पुरुषबीच समानता साथै आर्य र अनार्यबीचको समन्वयबाट मात्रै हिमाली क्षेत्रमा शान्ति कायम हुनसक्छ भनी वैदिक कालदेखि विमर्श हुँदै आएको तर्क अघि सारिएको प्रकाशक तथा व्यक्ताहरुले बताए ।

वक्ता डा ज्ञानु पाण्डेले युगसन्धि उपन्यास यसले उठान गरेको विषयवस्तु भन्दा पनि पर पुगेर पाठकका मनमा अनेकौँ गम्भिर प्रश्न र कल्पना जगाउन सक्ने सशक्त कृति भएको दाबी गरिन् ।

पुस्तक लोकार्पण समारेहमा बोल्दै समिक्षक गोपी मैनालीले युगसन्धिले पौराणिक आख्यान लेखनको शाष्त्रिय विधान तोडेको उल्लेख गर्दै यो उपन्यास विजयको मात्र नभइ पराजयको पनि कथा भएको बताए । उनले युगसन्धिले प्राचिन समयको जातिय र वर्गीय विभेदलाई देखाएको टिप्पणी गरे ।

वेदमाथि नेपालबाट पहिलो विद्यावारिधि गरेका डा ऋषिराम पोखरेलले वैदिक विषयवस्तुमाथि साह्रै कम पुस्तक लेखिएको समयमा विजय चालिसेले युगसन्धि लेखेर नेपाली साहित्यलाई गुन लगाएको बताए । लेखक चालिसेले वैदिक कालका द्वन्द्वहरुलाई अध्ययन गरेर निकालेको निश्कर्षका आधारमा उपन्यास तयार पारेको सुनाए ।

लोकार्पण समारोहमा समिक्षक युवराज मैनाली र गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल लगायतले लेखकलाई शुभकामना दिएका थिए ।

परिचय पब्लिकेसनद्वारा प्रकाशित पुस्तकको मूल्य रु ५५० रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर