सबै संयन्त्रलाई हाइअलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन – Nepal Press

सबै संयन्त्रलाई हाइअलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले त्यसै अनुसार हाइअलर्ट रहन सुरक्षा निकायका प्रमुख, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र, र स्थानीय तहलाई निर्देशन दिएका छन् ।

उनले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन आग्रह गर्दै यस्तो निर्देशन दिएका हुन् ।

उनले भने, ‘वर्षाको पूर्वानुमान गरिए अनुसार मैले कोशी र बागमती प्रदेशका प्रमुख जिल्ला अधिकारी, प्रदेश र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई अलर्ट रहन निर्देशन दिएको छु ।’

थप समन्वय र त्यस सम्बन्धी आवश्यक काम कारबाहीका लागि गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख र विपद् प्राधिकरण तयारी अवस्थामा रहन निर्देशन दिएको गृहमन्त्री लेखकले बताए ।

मन्त्री लेखकले यसअघिको बाढी र पहिरोले मुलुकका धेरै राजमार्ग अवरुद्ध रहनुका साथै पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन सबैमा आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर