चार युवा इन्जिनियरसहित ५० जनाले सञ्चालन गरेको टुना टेक्नोलोजीले स्वदेशसँगै विदेश पठाउँदै उत्पादन – Nepal Press

चार युवा इन्जिनियरसहित ५० जनाले सञ्चालन गरेको टुना टेक्नोलोजीले स्वदेशसँगै विदेश पठाउँदै उत्पादन

रुपन्देही । चार जना युवा इन्जिनियरसहित ५० जना प्रविधिसँग सरोकार राखेर मोफसलमा सबैभन्दा ठूलो आईटी कम्पनीको रूपमा शुरु गरिएको रुपन्देहीको टुना टेक्नोलोजीले एसिया प्यासिफिक आइसीटी अलायन्स अवार्डमा सहभागिताको तयारी गरेको छ ।

मोफसलमा रहेर आइटी क्षेत्रमा बलियो पकड जमाउँदै गरेको टुनाले यस क्षेत्रमा मात्रै नभएर राजधानीसहित विदेशमा पनि आफ्नो सेवा बिस्तार गरिसकेको छ ।

२०७८ सालमा राजधानी बाहिर सबैभन्दा ठूलो प्रविधि कम्पनीका रूपमा स्थापना भएको टुनाले आगामी डिसेम्बरमा ब्रुनाईमा हुने उक्त प्रतिस्पर्धामा नेपालबाट सहभागिता जनाउन पाउने भएको हो ।

अवार्ड सहभागिताका लागि गरिएका तयारी तथा मोफसलमा रहेर कम्पनीले हालसम्म गरेका काम जानकारी दिँदै अध्यक्ष गणेशचन्द्र पोखरेलले विदेशमा रहेका नेपालीहरूलाई समेत रोजगारमा जोड्ने गरी काम गरिरहेको जानकारी दिए ।

यसै वर्ष सम्पन्न नास आइटी अवार्ड २०२४ समेत जित्न सफल टुनाले आइटी क्षेत्रमा लागेका युवाहरूलाई रोजगारसँग जोड्दै विश्व बजारमा समेत उत्पादन विक्री गर्ने योजना बनाएर अघि बढेको अध्यक्ष पोखरेलले बताए ।

डिसेम्बरमा हुने एसिया प्यासिफिक आइसीटी अलायन्स अवार्डमा विभिन्न ३२ राष्ट्रबीच प्रतिस्पर्धा हुँदा नेपालको प्रतिनिधित्व गरेर जान पाउँदा आफूहरू उत्साहित भएको उनले बताए ।

कम्पनीमा अन्तर्राष्ट्रिय अनुभव प्राप्त सिटीओ लगायतको टेक्निकल टीमले उत्पादन क्षेत्रलाई लक्षित गरेर कमप्लिट इआरपी, होटल म्यानेजमेन्ट सोलुसन, रेष्टुरेन्ट म्यानेजमेन्ट, कृषि एपलगायतका उत्पादन तथा प्रविधि सोलुसनको क्षेत्रमा काम गर्दै आएको छ ।

कम्पनीले गत वर्ष मात्र नेपालकै प्रतिष्ठित र प्रविधि तर्फको ठूलो तथा महत्त्वपूर्ण आइसिटी अवार्ड स्टार्टअप प्रोभिन्स अवार्ड २०२३ समेत प्राप्त गर्न सफल भएको थियो ।

हाल ४० जनाभन्दा बढीलाई रोजगार सिर्जना गरिरहेको यो कम्पनीले रुपन्देहीका विभिन्न शैक्षिक संस्थाहरूमा अध्ययनरत विद्यार्थीलाई समेत इन्टनसिप उपलब्ध गराउँदै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजीव गौतमले बताए ।

आईटी क्षेत्रमा नेपाली कम्पनीहरू पनि सक्षम छन् भन्ने उदाहरण आफूहरूले प्रस्तुत गर्न चाहेकोले सरकारबाट नीतिगत सहयोगको अपेक्षा गरेको उनले बताए ।

विभिन्न बहुराष्ट्रिय कम्पनीहरूको उत्पादन प्रयोग गर्दै आएको नेपाल सरकारले आफ्ना कार्यालयहरूमा नेपाली उत्पादनलाई नै प्रयोग गरेर प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ । टुना टेक्नोलोजी २०७८ सालमा बुटवलमा यहाँका युवा व्यवसायी तथा इन्जिनियरहरू मिलेर खोलेको व्यवस्थित आइटी कम्पनी हो ।

दुई वर्ष यसले आफ्नो उत्पादन तयारीमा लागेको र गत वर्षदेखि मात्रै बजार बिस्तारमा पुगेको गौतमले जनाएका छन् । यस क्षेत्रका ५० जना व्यवसायी तथा प्रविधि क्षेत्रमा लागेकाहरूले यसमा लगानी गरेका छन् ।

काठमाण्डौसँगै यस कम्पनीले अस्ट्रेलियाबाट पनि आफ्नो सेवा प्रदान गर्दै आएको सञ्चालक माधव अर्याल बताउँछन् ।

यो क्षेत्रमा रहेका विभिन्न कलेजमा आइटी अध्यापन गर्दै आएका उनले नयाँ पिँढीलाई केही प्रतिशत भए पनि नेपालमा रोक्नका लागि आफूले यसमा लगानी गरेको बताउँछन् ।

‘अहिले बाहिर गएको जनशक्ति यहाँ भविष्य नदेखेर र भएकोमा पनि विश्वास दिन नसकेर हो, यसले यहाँ नै आवश्यक भएको जनशक्ति बाहिरबाट ल्याउनुपर्ने ठुलो जोखिम सृजना भएको छ, अबको केही वर्षमा यहाँका अधिकांश प्राविधिक शिक्षालयमा विद्यार्थीको खडेरी पर्नेछ’ उनले भने –‘हामीले यहाँ जनशक्ति नपाएर बाहिरबाट ल्याउनुपरेको छ, हाम्रा छोराछोरी यहाँ केही पाइएन भनेर बाहिर त्यही काम खोज्दै भौँतारिएका छन्, यसको नीतिगत योजना त सरकारले ल्याउनुपर्छ तर व्यवहारिक पक्षबाट कमी ल्याउन सबैले समन्वय गर्न जरुरी छ ।’

उनले रुपन्देहीमा आफूले पढाउने २ स्नातक तहका प्राविधिक कलेजमा विद्यार्थीको संख्या अत्यन्तै कमी भएको र आएकाहरू पनि विदेशकै तयारी गरिरहेको भेटेकाले यसको गम्भीर समस्या समयमै बुझ्न आग्रह गरे । बाहिर गएको दक्ष जनशक्ति ल्याउन नसकिने बताउँदै उनले प्राविधिक जनशक्ति रोक्न पहल गर्नुपर्ने जनाए ।

४० जनालाई रोजगारी दिएको कम्पनीले सुरुवातमै ग्लोबल भ्याकेन्सी आव्हान गरेर प्रमुख प्रशिक्षकका रूपमा दक्षिण भारतबाट प्रदीप कुमार शर्मा र पछि सर्वजित शर्मालाई राखेर निरन्तर काम गरिरहेको छ ।

तीनै तहका सरकारलाई प्रविधिमैत्री बनाउन र सबै प्रकारका उद्यमी तथा व्यवसायीलाई पनि प्रविधिमा जोडेर जानसके सुशासन र समृद्धिमा सहज हुने सञ्चालक ध्रुव न्यौपानेले बताए ।

उनले मोफसलमा प्राविधिक शिक्षा पढेर विकल्प नपाएर निराश भएकालाई उत्साह दिनेगरी लगानी गरिएको बताउँदै अब नेपालबाट मान्छे पठाउने होइन उत्पादन पठाउने र दक्ष व्यक्ति मात्रै पठाउने गरी कम्पनीलाई अगाडि बढाइएको जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर