छोराछोरी विदेश पठाउने २१ प्रतिशत ज्येष्ठ नागरिक एक्लोपन: अध्ययन
काठमाडौं । विदेशमा छोराछोरी भएका ज्येष्ठ वयस्कहरुकाबीचमा काठमाडौँ महानगरपालिकाले गरेको सर्वेक्षणमा २१.७ प्रतिशत व्यक्तिमा गम्भीर र धेरै गम्भीर भावनात्मक एक्लोपना भएको पाइएको छ ।
६२.३ प्रतिशतमा मध्यम खालको एक्लोपना देखियो । १५ प्रतिशतमा कुनै पनि खालको भावनात्मक एक्लोपना देखिएन । यस्तै सामाजिक एक्लोपनाका कोणबाट ४८ प्रतिशत उच्च एक्लोपना, २८.३ प्रतिशतमा मध्यम र २३.७ प्रतिशत मा शून्य देखियो ।
हेरचाह, जीवन व्यवस्थापन, सुविधाको पहुँच, सामाजिकीकरण, शारीरिक गतिविधि, सही सूचनामा पहुँच जस्ता पक्षमा उनीहरुले हीनताबोध गरेका हुन् । यसैकारण उनीहरुमा एक्लोपना र निराशा देखिएको, अध्ययनले देखाएको छ ।
महानगर अनुसन्धान शोधवृत्ति (मेट्रोपोलिटन रिसर्च फेलोसिप (एमआरएफ) को तेस्रो संस्करणमा ‘ज्येष्ठ नागरिकहरुको मानसिक स्वास्थ्यका लागि महानगरपालिकाको जिम्मेवारी’ विषयमा प्रल्हाद अधिकारीले गरेको अध्ययनले यस्तो अवस्था देखाएको हो ।
छोराछोरी विदेशिएका ज्येष्ठ नागरिकको मानसिक स्वास्थ्य (एक्लोपना र डिप्रेसन) को स्तर थाहा पाउन र अवस्था सुधार गर्न महानगरपालिकालाई सुझाव दिन अध्ययन गरिएको थियो । सर्वेक्षणमा महानगरपालिकाभित्र बसोबास गर्ने ५८ वर्ष उमेर पूरा भएका, सवै वडा समेटिने गरी ५०९ जना ज्येष्ठ नागरिकलाई सहभागी गराइएको थियो ।
सहभागीमध्ये ६१ जनाले सोधिएका सबै प्रश्नहरुको जवाफ दिन चाहेनन् । यसकारण उनीहरुले दिएका जवाफहरुलाई तथ्याङ्क विश्लेषणमा राखिएन । उनीहरुमध्ये १३५ जनालाई उपनाम राखेर सहभागी गराइएको थियो । ५२ जनासँग कुराकानी गरिएको थियो ।
सहभागीको औसत उमेर ६९ वर्ष थियो । ३१९ जना विवाहित थिए । २ जना सम्बन्ध विच्छेद भएका र २ जना अविवाहित थिए । १२५ जना एकल ज्येष्ठ नागरिक थिए । उनीहरुमध्ये २३७ जना (५२.९५) ले आफू साक्षर भएको बताएका थिए ।
अध्ययनमा २०४ जना महिला र २४४ पुरुष गरी ४४८ जना ज्येष्ठ नागरिकको जवाफलाई तथ्याङ्क मानेर १८ जना विषयविज्ञबाट विश्लेषण भएको हो ।
आधा भन्दा बढी ५९.८५ ज्येष्ठ वयस्कहरूले पेन्सन वा ज्येष्ठ नागरिक भत्ता पाइरहेका छन् । ३५.७५ ले आफ्नो केही पनि आय नभएको बताए। ६१ सहभागी १३.६ प्रतिशतले आफूसँग पर्याप्त आम्दानी नभएको बताए । ७५ प्रतिशतले राम्रो आम्दानी र ११.४ प्रतिशत पर्याप्त आम्दानी भएको जवाफ दिए ।
उनीहरुमध्ये ४४.०९ प्रतिशतका एकजना बच्चा विदेश गएका थिए । ३५.३ प्रतिशतका २ जना, ९.६ जनाका ३ जना १.१प्रतिशतका ४ वा त्यसभन्दा धेरै छोराछोरी विदेश थिए । अधिकांशका छोराछोरी अमेरिका, अष्ट्रेलिया, क्यानडा, दुबई र जापान जस्ता विकसित देशहरूमा थिए ।
उनीहरुसँग ३४.६प्रतिशत का छोराछोरीले दैनिक कुराकानी गर्छन् । ३०.८प्रतिशत ले हप्तामा दुई वा तीन पटक, १९.६प्रतिशत ले हप्तामा एक पटक र ३.८प्रतिशत ले महिनामा एक पटक कुराकानी गर्ने गरेका छन् । १.६प्रतिशतले कुराकानी नै गर्दैनन् ।
आधा भन्दा बढी ५१.६प्रतिशत ले विदेशी राष्ट्रहरू भ्रमण गरेका छन । ५२.७ प्रतिशतले आफ्ना छोराछोरी फर्केर स्वदेश आउँछन् भन्ने कुरामा विश्वास गरेका छैनन् । ९४ प्रतिशतले आफूलाई सहयोग गर्ने सहयोगी राखेका छैनन् । ३९.३ प्रतिशतलाई छिमेकीहरुले साप्ताहिक रुपमा भेट्ने गरेका छन् ।
सर्वेक्षणमा सहभागीमध्ये २५.५प्रतिशत ले आफू बलियो भएको र ७.९प्रतिशत ले कमजोर रहेको जवाफ दिए । ६ प्रतिशतले आफ्नो नजिक शंकास्पद व्यक्ति रहको महसुस गरे । ६.५ प्रतिशतले आफूलाई अपरिचित र शंकास्पद व्यक्तिले निगरानी गरिरहेको महसुस भएको सुनाए । २०.५प्रतिशतले आफू विरामी भएकोले आफूलाई हेरचाह गर्न नजिकको मान्छे चाहिएको बताए ।
समाजमा रहेका ज्येष्ठ नागरिकमध्ये उनीहरु एउटा प्रकृतिको समस्यासँग सम्बन्धित छन् । समाजमा यस्ता धेरै प्रकृतिका समस्या छन् । ती हरेक प्रकृतिसँग जुध्ने ज्येष्ठ नागरिकका समस्या फरक खालका छन् ।
यस्तो अवस्थालाई विश्लेषण गर्दै अध्ययनले काठमाडौँ महानगरपालिकालाई ज्येष्ठ नागरिकको पुनः परिभाषा गरेर पहिचान प्रदान गर्न सुझाव दिएको छ । उनीहरुलाई अधिक प्राथमिकता दिएर, छुट र सुविधा प्रदान गरेर सम्मान प्रकट गर्न, यसका लागि कानुनमा प्रतिवद्धता गरिएका व्यवस्था कार्यान्वयन गर्न अध्ययनले सुझाएको छ ।
मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गरेर यस्ता स्थानमा ज्येष्ठ नागरिकहरुलाई घुम्ने, बस्ने वा सहभागी हुने व्यवस्था मिलाउन शिफारिस गरिएको छ ।
सहरको चौतर्फी विकास गर्ने, युवाहरुलाई रोजगारी प्रदान गरेर स्वदेशमा रहने वातावरण सिर्जना गर्ने, उनीहरुको हेरचाहको ख्याल गर्ने, मानसिक स्वास्थ्य विग्रिन नदिन ज्येष्ठ नागरिकमैत्री सामान खरिद गर्ने स्थान बनाउने सुझावका बुँदामा समेटिएको छ । घर र समुदायमा आधारित हेरचाह प्रणालीले ज्येष्ठ नागरिकको मानसिक अवस्थामा विग्रिन दिँदैन, एक्लोपना घटाउन मद्दत पुग्छ, अध्ययनले देखाएको छ ।