पाँच प्रश्नोत्तरमा बुझ्नुहोस् इजरायलमाथि इरानी हमला – Nepal Press

पाँच प्रश्नोत्तरमा बुझ्नुहोस् इजरायलमाथि इरानी हमला

काठमाडौं । मङ्गलबार नेपाली समयअनुसार मध्यरात इरानले इजरायलमाथि हमला गरेको जानकारी सार्वजनिक भयो । इरानले इजरायलमा मिसाइल प्रहार गरेका कारण के के हुन्, इजरायल र इरानी दुस्मनीका जरा के के हुन् भन्नेबारे यस सामग्रीमा चर्चा गरिएको छ ।

१. इरानले मङ्गलबार किन हमला गर्‍यो ?

मङ्गलबार इजरायली भूमिमा इरानले हमला गर्ने मूलतः तीन कारण हुन् । एक- इरानी समर्थनका लडाकु समूहहरु हेजबुल्ला, हमास तथा हुथीहरुलाई इजरायलले हमला गर्‍यो ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरेबाट सुरु भएको लफडाले क्षेत्रीय रूप लिएको हो ।

इजरायलले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा पुग्ने गर बालबालिका, महिला, सर्वसाधारणहर हजारौँको ज्यान लिनेगरि इजरायलको दक्षिणमा रहेको हमास क्षेत्र गाजामा प्रत्याक्रमण गर्‍यो ।

त्यसलाई उत्तरी सीमा क्षेत्रको लेबनानी लडाकु समूह हेजबुल्ल्लाले आक्रमण गरिरह्यो । गत जुलाई ३१ मा इरानका नयाँ राष्ट्रपतिको कार्यभार ग्रहण समारोहमा कतारबाट इरान पुगेका हमासका राजनीतिक प्रमुख इस्काइल हानिएको इजरायलले हत्या गर्‍यो ।

उनी बसेको गेष्ट हाउस उडाएर हत्या गर्‍यो । त्यसपछि हेजबुल्लाका प्रमुख हसन नसरल्लालाई पनि इजरायलले सेप्टेम्बर २७ मा लेबनानी राजधानी बेरुतको बङ्करमाथि बम हमला गरेर हत्या गर्‍यो ।

इरानले हुर्काएका र साथ दिएका दुई लडाकु कमान्डरलाई दुई महिनाको अन्तरमा इजरायलले सफाया गरेपछि इरानलाई केही न केही गर्ने बाध्यता थियो ।

त्यसमाथि इजरायलले लेबनानमा स्थल हमला गरेका समाचारहरू पनि आए । इरानी सडकमा हमला गर्न जुलुस निस्किसकेका थिए । आन्तरिक दबाब, क्षेत्रीय गुड विल र आफ्नो फेससेभिङ गर्न इरानले इजरायली भूमिमा हमला गरेको बुझ्न सकिन्छ ।

२. इरानले मङ्गलबार गरेको हमला नै पहिलो हो ?

होइन यस वर्ष गत अप्रिल १३ मा पनि इरानले इजरायलमा हमला गरेको थियो । त्यो हमलाको तत्कालीन सिधा जरो सिरियामा जोडिएको थियो ।

अप्रिल १ मा सिरियाको दमास्कसमा रहेको इरानी कूटनीतिक नियोगको कन्सुलर भवन इजरायलले हवाई हमला गरेर उडायो । त्यहाँ मारिएका १६ जनामा दुई जना इस्लामिक रिभोलुसनरी गार्ड क्रप्सका उच्च ओहोदाका कमान्डर पनि थिए । त्यसकै प्रतिकारमा इरानले हमला गरेको थियो ।

हमाला अगाडि इरानले अमेरिका, बेलायतलगायतका विभिन्न देशहरूलाई पूर्वसूचना दिएको विभिन्न विश्व मिडियाहरूले लेखेका छन् । मङ्गलबारको हमलामा भने त्यो खालको पूर्वजानकारी नदिएर गुप्तचरी जानकारीबाट पत्ता लगाइएको थियो ।

३. मङ्गलबारको हमलामा इजरायली प्रतिक्रिया के छ ? इरानी दाबी के छ ?

मङ्गलबारको हमलामा इरानले इजरायलको गुप्तचर मोसदको मुख्यालय र इजरायली हवाई सेनाको अड्डामा हमला गरेको जानकारी दिएको छ । इजरायलले भने इरानी मिसाइलहरू धेरै बिचैमा खसालिएकोले धेरै क्षति नभएको बताएको छ ।

इजरायलले इरानलाई ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । इरानले पनि इजरायलले प्रतिकार गरे झन् ठूलो हमला गर्ने चेतावनी दिएको इरानी मिडिया तेहरानटाइम्स र कतारी च्यानल अलजजिराले उल्लेख गरेका छन् ।

अमेरिकाले इरानले हानेका २०० मिसाइलहरूमा धेरैजसो झारेको बताएको छ । इरानले आक्रमण गरेपछि इजरायलले लेबनानी राजधानी बेरुतमा हवाई हमला बढाएको समाचारहरू आएका छन् ।

४. विश्व नेताहरूले इरानी हमलाबारेमा के भने ?

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई पूर्ण साथ हुने बताएका छन् भने संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेसले मध्यपूर्वमा बढेको द्वन्द्वको वृद्धिलाई भर्त्सना गर्ने बताएका थिए । अरू विश्व नेताहरुमा पश्चिमा इजरायल समर्थक देशहरूले इरानले द्वन्द्व चर्काएको भन्दै आलोचना गरेका छन् भने अरू देशका मुखर नेताहरूले शान्ति कायम गर्न आग्रह गरेका छन् ।

५. इरान र इजरायलको शत्रुताको जग के हो ?

प्यालेस्टाइनीहरु बसेको भूभागलाई कब्जा गरेर बसाइएकाहरूबाट सन् १९४८ को मेमा इजरायल देश जन्मेको हो ।

इजरायलीहरूले यो हजारौं वर्ष पुरानो आफ्नो भूमि हो भन्दै कब्जा गरेर देश बनाएका हुन् । बसिरहेकाहरूलाई उठाएर, धपाएर र हिंसा गरेर बनाइएको देश भएकोले धेरै देशले इजरायललाई मान्यता अझै दिएका छैनन् । यस्तो नदिनेहरूमा मूलतः मुस्लिम देशहरू छन् । यो ऐतिहासिक कारण हो ।

जसका बाछिटाहरू अहिले घरी गाजा र घरी अरू प्योलेस्टाइनी क्षेत्रहरूमा देखिइरहेको छ ।

अर्को कारण भनेको भूराजनीति र शक्ति प्रदर्शन हो । इजरायल पश्चिम एसियाको शक्तिशाली देश हो । उसलाई क्षेत्रीय रूपमा चुनौती दिने इरानमात्रै हो । यी दुवै देशका सीमा जोडिएका छैनन्, तर उनीहरूका स्वार्थहरू जोडिएका छन् ।

प्रायः इरानले आफैंले हमला नगरेर आफ्ना सहयोगी दस्ताहरू हुथी, हमास र हेजबुल्लालाई प्रयोग गर्ने गरेको थियो, तर पछिल्ला महिनाहरूमा भने उनीहरूको सिधासिधी जस्तै युद्ध भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर