एलिना भन्छिन्- साथीलाई विश्वास गरेर सुनाउँदा ब्रेकअपको न्यूज बाहिर आयो – Nepal Press

एलिना भन्छिन्- साथीलाई विश्वास गरेर सुनाउँदा ब्रेकअपको न्यूज बाहिर आयो

काठमाडौं । कहिल्यै चर्चा र गसिपबाट बाहिर नहुने गायिकाभन्दा पनि फरक पर्दैन एलिना चौहानलाई । कहिले प्रोफेसनल त कहिले निजी जीवनका विषयहरुले उनलाई निरन्तर गसिपमा तानिरहेका हुन्छन् ।

प्रेमी विष्णु सापकोटासँग बिहे गरेर अस्ट्रेलिया गएपछि केही समय उनको चर्चा अलिकति सेलाएको थियो । चर्चामात्र नभएर करिअर पनि सेलाउन थालेको टीकाटिप्पणी सुरु भयो, तर अहिले फेरि एलिना नेपाल फर्केकी छन् । विभिन्न मिडियाहरुमा उनको ताजा अन्तर्वार्ताहरु हेर्न पाइन्छ ।

पछिल्लो पटक एलिनाका चर्चा ओशो तपोवनमा ध्यान गर्न गएको विषयलाई लिएर भयो । उनले दीक्षा लिएकोदेखि तपोवनभित्र डान्स गरेका भिडिओहरु सामाजिक सञ्जालमा भाइरल भए । कतिले चाहिँ बिहे गरेको एक वर्ष नपुग्दै एलिना किन यसरी अध्यात्मतिर तानिइन् भनेर कौतुहल पनि राखे । एलिनाले भने आफू ‘खुशी’ को खोजीमा यो मार्गमा लागेको बयान दिएकी छन् ।

एलिना आफूमाथि उठेका कन्ट्रोभर्सीहरुबारे बोल्न हिच्किचाउँदिनन् । अहिले आएका विभिन्न अन्तर्वार्तामा उनले आफ्नो प्रेम र विवाहका विषयमा खुलेर बोलेकी छन् । विवाह हुनुभन्दा केही समय अगाडि आएको ‘ब्रेकअप न्यूज’ को विषयमा पनि उनको नयाँ प्रष्टीकरण आएको छ ।

पछिल्लो एक अन्तर्वार्तामा एलिनाले मिडियामा आएको ‘ब्रेकअप न्यूज’ सत्य रहेको स्वीकारोक्ति व्यक्त गरिन् । आफूले कुनै साथीलाई ट्रस्ट गरेर सुनाउँदा उसले मिडियामा ल्याइदिएको एलिनाको गुनासो छ ।

उनले भनिन्, ‘यस्तो न्यूजहरु कसरी आउँछ त ? साथीबाटै आएको हो, मलाई थाहा छ । किनभने मैले कसैलाई ट्रस्ट गरेर केही कुरा सेयर गरें, उसले बाहिर भन्दियो । म आफैंले मिडियालाई ल लेख्दिनुस् त भन्दिनँ होला, आफैं गाली खाने गरी । कसै न कसैले त दिएरै हो ।’

‘त्यहाँनेर के लेखेको थियो भने स्रोतका अनुसार… । त्यो स्रोत को हो त ? नखोजेको मैले । खोजेर के गर्ने ? थाहा भयो भने बेकारमा आफैंलाई तनाव हुन्छ । हत्तेरी भने जस्तो हुन्छ । लौ त गरिखाओस्, स्रोतको भलो होस् भनेर छाडिदिएको ।’

भनेपछि बीचमा ब्रेकअप चैं भएकै थियो भन्ने प्रश्नमा एलिनाले अलिकति घुमाउरो जवाफ दिइन् ।

‘भन्दैछु त । हाम्रो भइराख्थ्यो, भइराख्छ, बुझ्नुभएन ? त्यो नेचुरल कुरा हो । जसको पनि हुन्छ । हामी चैं अलि लामो समयसम्म नबोलिकन बसेका थियाैं । त्यही आवेशमा आएर मैले कसैलाई पीडा पोखें होला । हेर न यस्तो भो भनेर । उसले भन्द्यो । उसलाई स्योर भयो होला कि यिनीहरु अब मिल्नेवाला छैनन्, यिनीहरुको फाइनल ब्रेकअप हो भन्ने भयो होला । अनि भन्दिए ।’

एलिनाले आफ्नो गीत हिट गराउन ‘ब्रेकअप’ को फन्डा गरेको आरोप पनि कतिपयले लगाएका थिए । यो आरोपलाई उनले नकारिन् ।

‘यो बेकारको कुरा हो । ‘कट्टा हान्दिन्छु’ सँगै अरु १५ वटा गीत आएका थिए । सबै किन चलेनन् त ? गीतमा केही नयाँ युनिक चिज भए चल्ने हो । धोकेबाज भन्ने विष्णुलाई नभेटिकन गाएको हुँ । कसरी रिलेटेड भयो त ? कस्तो हास उठ्छ न्यूज देखेर । आफ्नै जीवनमा मेल खाने गीत गाइन् भनेर आइराथ्यो’, एलिनाले भनिन् ।

पैसाका लागि र अस्ट्रेलिया सेटल हुन विष्णुसँग बिहे गरेको भन्ने आरोपलाई पनि उनले खण्डन गरिन् ।

एलिनाले भनिन्, ‘पैसा म कमाउँदिनँ र ? अस्ट्रेलिया किन जानुपर्‍यो म ? यही रंगीचंगी छ । विष्णुलाई मैले निःस्वार्थ माया गरेको हो । मैले नै उसलाई फलो गरेको हो । म लक्की फिल गर्छु कि माया गरेको मान्छेलाई बिहे गर्न पाएँ । त्यो सबैको भाग्यमा हुँदैन । पैसा हेर्ने भए अरु पनि थिए होलान् । अरुलाई पनि हेर्न सकिन्थ्यो होला । ब्रेकअप भएको थियो नि त बीचमा । त्यसपछि अर्को पैसावाला हेर्थे होला । पैसासैसा म्याटर गर्दैन । मैले आफैंले कमाइसक्या छु । मैले जिन्दगीमा थाहा पाएको छु कि पैसाले खुशी किन्न सकिन्न । उसले कमाएको छ, त्यो राम्रो हो । हामी बराबर कमाउँछौं । म चाहें भने जुन देश पनि जानसक्छु । अमेरिका गएर उहीँ लुक्नसक्छु । केटा चाहिन्छ र ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर