चोरीको जाहेरी दिएकी महिलालाई झुक्याएर बलात्कार गर्न खोजेको आरोपमा सहायक हवल्दार पक्राउ – Nepal Press

चोरीको जाहेरी दिएकी महिलालाई झुक्याएर बलात्कार गर्न खोजेको आरोपमा सहायक हवल्दार पक्राउ

काठमाडौं । प्रहरी वृत्त लैनचोरमा कार्यरत प्रहरी सहायक हवल्दार अनिलकुमार दाहाल चोरी मुद्दामा जाहेरी दिन आएकी महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका छन् ।

दाहाललाई निलम्बन गरिएको छ । स्वयम्भूमा बस्दै आएकी जाहेरवालाले कोठामा चोरी भएको भन्दै भदौ २० गते प्रहरी वृत्त स्वयम्भूमा जाहेरी दिन गएकी थिइन् । स्थानीय प्रहरीले लैनचोर प्रहरी वृत्तमा पनि उजुरी दिनु भनेपछि सोही दिन उनी त्यहाँ पनि पुगेकी थिइन् ।

जाहेरवालाका अनुसार चोरीमा संलग्न व्यक्तिको तस्बिर र आफ्नो मोबाइल नम्बर छोडेर उनी कोठा फर्किइन् । केही दिनपछि बुझ्न जाँदा दाहालसँग कुराकानी भएको र चोर भेटिए आफूले खबर गरिदिने भन्दै नम्बर मागेको जाहेरीमा उल्लेख छ ।

जाहेरीअनुसार भदौ २९ गते राति ९ बजे दाहालले ‘चोर पक्राउ परेको छ तुरुन्त आउनु’ भन्दै ती महिलालाई फोन गरेका थिए । ‘आफ्नो ८ वर्षको बच्चा छ, भोलिपल्ट आउँछु’ भन्दा, नआए चोरलाई छाडिदिन्छु भन्दै तत्काल आउन बाध्य बनाएको उनको दाबी छ । पैसा छैन भन्दा दाहाल आफैँले पठाओ गरेर बोलाएको उनले प्रहरीलाई बताएकी छिन् ।

ठमेलमा आइसकेर चोर कहाँ छ ? भनेर सोध्दा दाहालले एकछिनमा ल्याउछौँ भन्दै होटलको कोठामा पुर्‍याइएको जाहेरवालाको दाबी छ । त्यसपछि अनिलले आफूलाई जबर्जस्ती गर्न खोजेपछि फुत्किएर भाग्न सफल भएको जाहेरीमा उल्लेख गरेकी छिन् ।

हवल्दारले भने आज जसरी पनि चोर समात्नुपर्छ भनेर साँझ फोन गरेका कारण आफूले पठाओ गरेर जाहेरवालालाई बोलाएको बयान दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर